पासाङले चौँरीगोठमै भेटे विदेशभन्दा राम्रो अवसर « Khabarhub

पासाङले चौँरीगोठमै भेटे विदेशभन्दा राम्रो अवसर


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रसुवा- रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालन गरेर रमाइरहेका छन्। आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन्, गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पा।

तीन वर्ष मलेसियामा बिताएका पासाङले विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेपछि जन्मभूमि फर्केर पुख्र्यौली पेसालाई व्यावसायिक बनाउने निर्णय गरे। हजुरबुबा र बुबाको पालादेखि हुँदै आएको चौँरीपालनलाई निरन्तरता दिने सोचसहित उनले परिवारको भागमा परेका १० वटा चौँरीबाट व्यवसाय सुरु गरे।

विदेशबाट फर्किने उनको निर्णय सही साबित हुन धेरै समय लागेन। विगत ११ वर्षदेखि निरन्तर चौँरीपालनमा लागेका पासाङसँग अहिले करिब ४५ लाख रुपैयाँ बराबरका ६० वटा चौँरी छन्। उनले उत्पादन गरेको दूध तथा दुग्धजन्य पदार्थ काठमाडौंस्थित दुग्ध विकास संस्थान (डिडिसी) मा बिक्री हुँदै आएको छ।

पासाङका अनुसार चौँरीले वर्षमा छ महिना मात्र दूध दिन्छन्। दूध दिने अवधिमा करिब ११ लाख रुपैयाँ बराबरको कारोबार हुन्छ। अन्य छ महिना चौँरी चरन क्षेत्रमा घाँस खाएर बस्छन्। वार्षिक खर्च कटाएर करिब पाँच लाख रुपैयाँ खुद आम्दानी हुने गरेको उनले बताए।

गोसाइँकुण्ड गाउँपालिकाबाट तीन वर्षअघि प्राप्त सात लाख रुपैयाँ अनुदानले व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्न सहयोग पुगेको पासाङको भनाइ छ। आफ्नै मेहनतले चौँरी फार्मलाई ४५ लाख रुपैयाँ बराबरको सम्पत्तिमा रूपान्तरण गर्न सफल उनी पुख्र्यौली पेसालाई नयाँ पुस्तासम्म पुर्‍याउन चाहन्छन्।

‘अरूको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा दुःख गरेअनुसारको प्रतिफल पाइन्छ,’ पासाङ भन्छन्, ‘हाम्रा पुर्खाहरू दुःखमा परेका कारण हामीले धेरै पढ्न पाएनौँ, तर आज अनुभवकै बलमा यहाँसम्म आइपुगेका छौँ।’

हजुरबुबाको पालादेखि चल्दै आएको चौँरीपालनलाई उनी नयाँ पुस्ताका लागि पनि प्रेरणाको स्रोत मान्छन्। त्यसैले व्यवसायलाई थप व्यवस्थित बनाउन नागुङमा १३ रोपनी जग्गामा चौँरीका लागि गोठ निर्माण गरेका छन्। विदेश जान युवाको लर्को लागिरहेका बेला पासाङले गाउँमै गरेको मेहनतले स्थानीयस्तरमा रोजगारी र आम्दानीको सम्भावना देखाएको छ। परम्परागत पेसालाई व्यावसायिक रूप दिन सके गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उनको सफलताले पुष्टि गरेको छ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ पासाङको मेहनत र लगनशीलताको प्रशंसा गर्छन्। उनका अनुसार पासाङ गाउँपालिकाकै उदाहरणीय र नमूना किसान हुन्।

त्यस्तै, वडा नं. ६ का वडाध्यक्ष कर्मा दावा सिदार वाइबा पनि पासाङको व्यावसायिक सफलताले गाउँका अन्य युवालाई आफ्नै ठाउँमा उद्यम गर्न प्रेरित गरेको बताउँछन्।

‘विदेशी भूमिमा पसिना बगाउनुभन्दा स्वदेशमै यस्ता व्यवसाय गर्न सके गाउँघर खाली हुने अवस्था आउने थिएन,’ उनी भन्छन्।

परिवारको पुख्र्यौली पेसालाई व्यावसायिक रूप दिँदै पासाङले देखाएको सफलताले गाउँमै सम्भावना खोज्ने हो भने विदेशिनु नै एकमात्र विकल्प होइन भन्ने सन्देश दिएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ८ : ५९ बजे

अछाममा भीरबाट लडेर एक जनाको मृत्यु, एक घाइते

अछाम- अछामको ढकारी गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ भने

चीन भ्रमण फलदायी बनाउन रवि लामिछानेको निर्देशन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चीन भ्रमणमा

यु–१९ महिला क्रिकेट : नेपाललाई भारतको २०६ रनको लक्ष्य

काठमाडौँ- यु–१९ महिला क्रिकेटमा भारतले नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत गरेको

छठका लागि केराको किनमेल बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – छठ पर्व नजिकिएसँगै काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारमा केराको

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ