भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै « Khabarhub

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

राँझा– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् । बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछि उनीहरू अन्योल र पीडामा छन् ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएर बेपत्ता पारेका आफन्तको अवस्था अझै अज्ञात रहेको नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बताए । उनका दाजु, भाउजु र छोरा बाढीमा बेपत्ता भएका थिए ।

‘७० दिनभन्दा बढी भयो, बेपत्ता भएका हाम्रा मान्छेको न त सास भेटिएको छ, न त लास नै । अब सास र लास भेटिने आशा मर्दै गएको छ’, उनले भने, ‘डिएनए परीक्षणको रिपोर्ट पनि आएको छैन । सरकारले मृत्यु घोषणा गरिदिए मृत्यु संस्कार गर्ने सोच बनाएका छौँ ।’

आफन्तको मृत्यु संस्कारसमेत गर्न नपाउँदा पीडामाथि पीडा थपिएको उनले बताए । बेपत्ताको कुनै खबर नआउँदा यस वर्षको दसैँ र तिहार उनका लागि झन् पीडादायी बने । चाडपर्वका बेला बेपत्ता दाजु, भाउजु र छोराको सम्झनाले सताउने गरेको उनले सुनाए । 

रसुवा भन्सार कार्यालयको टिमुरे क्षेत्रमा काम गर्दै आएका ५३ वर्षीय दाजु शेरसिंह रोकाय, ५६ वर्षीया भाउजु विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीमा परी बेपत्ता भएका थिए ।

बुढेसकालको सहारा एक्लो छोरा र जीवनको आधार बनेका दाजु–भाउजु एकैपटक बेपत्ता भएपछि अनलाल र उनकी श्रीमती कर्णसरी रोकाय शोकमा छन् । लामो समयसम्म पनि आफन्तको अवस्था पत्ता नलाग्दा परिवारमा निराशा बढ्दै गएको छ ।

‘हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा अब मर्दै गएको छ । न सास पाइयो, न लास नै । दोधारमै समय बितिरहेको छ’, अनलालले भने, ‘दसैँ र तिहारमा मनभित्रको असह्य पीडा झन् बल्झिएर आउने गरेको छ ।’

शव पहिचानका लागि डिएनए परीक्षणको नमुना दिएपछि आफन्तको अवस्था थाहा हुने आशा जागेको भए पनि अहिलेसम्म रिपोर्ट नआएको उनले बताए । उनले नेपालगञ्जस्थित भेरी अस्पतालमा डिएनए परीक्षणका लागि नमुना दिएका थिए ।

डिएनए परीक्षणको नतिजा र बेपत्ता व्यक्तिको अवस्थाबारे सरकारले आधिकारिक जानकारी नदिँदा परिवारले सामाजिक तथा धार्मिक संस्कार गर्न नसकेको उनको भनाइ छ । सरकारले मृत्यु भएको वा खोजी गर्दा पनि फेला पार्न नसकिएकोबारे आधिकारिक घोषणा गरेमा संस्कार गर्न सहज हुने उनले बताए ।

‘सास वा लास केहीको अत्तोपत्तो छैन । के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छौँ’, उनले भने, ‘हामी डिएनए रिपोर्टको प्रतीक्षामा छौँ । सरकारले आधिकारिक रूपमा मृत वा फेला पार्न नसकिएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएका छौँ ।’

सोही बाढीमा परी थपुवाका आराम दमाईं र उजना दमाईं पनि बेपत्ता भएका थिए । रोजीरोटीका लागि रसुवा पुगेका उनीहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमाबुवा फर्किने आशामा दिन बिताइरहेका छन् ।

थपुवाका दुवै परिवारमा चाडपर्वसमेत शोकमा बितेका छन् । बेपत्ता परिवारको सामाजिक तथा धार्मिक संस्कार गर्न र उनीहरूमा रहेको अन्योल अन्त्य गर्न डिएनए परीक्षणको नतिजा शीघ्र सार्वजनिक गर्नुका साथै सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बताए ।

भोटेकोशी बाढीमा परी बाँकेका २३ जना अझै बेपत्ता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए । उनका अनुसार हालसम्म तीन जनाको शव पहिचान भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ११ : २० बजे

अमेरिकी मध्यावधि निर्वाचन : चीनसँगको सम्बन्धमा नयाँ अवसर र चुनौती

एजेन्सी– अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलताले चीनसँगको सम्बन्धमा नयाँ

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा

जनकपुरधाम– मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४

चुनावी हारपछि पनि इरानविरुद्धको अभियानबाट पछि नहट्ने ट्रम्पको अडान

एजेन्सी– अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

एनपीएल : जनकपुरले टस जित्यो

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले