एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व्यापार नीतिका कारण अर्थतन्त्र प्रभावित भएपछि क्यानाडाले अमेरिकामाथिको निर्भरता घटाउने र व्यापारिक सम्बन्ध विविधीकरण गर्ने लक्ष्यसहित नयाँ बजेट सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री मार्क कार्नी नेतृत्वको सरकारले बिहीबार संसद्मा प्रस्तुत गरेको बजेटलाई ‘आफ्नो भविष्यको निर्णय आफैँ गर्ने’ योजनाका रूपमा अघि सारेको छ ।
प्रधानमन्त्री कार्नीले क्यानाडा र अमेरिकाबीचको सम्बन्ध स्थायी रूपमा परिवर्तन भइसकेको भन्दै ट्रम्प प्रशासनअघिको शुल्कमुक्त व्यापारिक अवस्था पुनःस्थापित हुने सम्भावना नरहेको बताएका छन् ।
अर्थमन्त्री फ्राँस्वा–फिलिप शाम्पेनका अनुसार बजेटको मुख्य उद्देश्य घरेलु व्यापार प्रवर्द्धन गर्नु र अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्नु हो । बजेटमा ऊर्जा उत्पादन, महत्त्वपूर्ण खनिज उत्खनन तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।
त्यस्तै, अमेरिकी भन्सार शुल्कबाट प्रभावित अटोमोबाइल र स्टिल उद्योगका श्रमिकलाई सहयोग गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ । सरकारले घरेलु उत्पादन र उद्योगको क्षमता विस्तार गर्दै अमेरिकी बजारमाथिको निर्भरता कम गर्ने रणनीति अघि सारेको हो ।
यसैबीच, अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय भोगेपछि क्यानाडामाथि लगाइएका भन्सार शुल्कको भविष्य थप अनिश्चित बनेको छ । डेमोक्रेटिक पार्टीका सांसद जेमी रास्किनले आफ्नो पार्टीले शुल्क हटाउने र क्यानाडासँगको सम्बन्ध सुधार गर्ने बताएका छन् ।
तर, क्यानाडाका व्यापारमन्त्री डोमिनिक लेब्लाङ्कले भन्सार शुल्कसम्बन्धी वार्ता अमेरिकी कङ्ग्रेससँग नभई ह्वाइट हाउससँग हुने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री कार्नी र राष्ट्रपति ट्रम्प दुवैले व्यापार सम्झौताको सम्भावनाप्रति आशा व्यक्त गरे पनि यसअघि भएका वार्ता निष्कर्षमा पुग्न सकेका थिएनन् ।
सरकारले नयाँ बजेटमा बजेट घाटा गत वर्ष अनुमान गरिएको ७८.३ अर्ब क्यानाडाली डलरभन्दा कम रहने अपेक्षा गरेको छ । यसअघि बजेट पारित गर्न विपक्षी दलको सहयोग आवश्यक परेको प्रधानमन्त्री कार्नी नेतृत्वको लिबरल पार्टीले अहिले संसद्मा बहुमत प्राप्त गरेको छ ।
यसले सरकारलाई आफ्नो आर्थिक तथा व्यापारिक नीति कार्यान्वयन गर्न सहज हुने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया