विवादले रोकिएन ‘पाँच पाण्डव’, प्रदर्शनको अन्योल हट्यो, कात्तिक २० मै हलमा आउने « Khabarhub

विवादले रोकिएन ‘पाँच पाण्डव’, प्रदर्शनको अन्योल हट्यो, कात्तिक २० मै हलमा आउने


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धार्मिक विवाद र प्रदर्शन रोक्ने चर्चाबीच चर्चामा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’ले अन्ततः प्रदर्शनको बाटो पाएको छ ।

फिल्म रोक्नुपर्ने वा नपर्ने भन्ने अन्योलबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छलफलले निर्धारित मितिमै प्रदर्शन गर्ने निष्कर्ष निकालेको हो। अब फिल्म आगामी कात्तिक २० गतेदेखि देशभरका सिनेमा हलमा लाग्नेछ ।

बिहीबार बिहान सञ्चार मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री विक्रम तिमल्सिना, फिल्म निर्माण टोली र केन्द्रीय चलचित्र जाँच समितिका पदाधिकारी सहभागी थिए ।

छलफलमा मन्त्री तिमल्सिनाले चलचित्र रोक्ने कुनै नियत नरहेको र प्रदर्शन रोक्न नहुने धारणा राखेको चलचित्र जाँच समितिका सदस्य मनोज पण्डितले जानकारी दिएका छन् ।

यसअघि फिल्मको प्रदर्शन रोक्न गृह मन्त्रालयले निर्देशन दिएको चर्चा चलेपछि निर्माण पक्ष अन्योलमा परेको थियो । तर, छलफलपछि निर्माण टोलीले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित मितिमै फिल्म प्रदर्शन हुने स्पष्ट पारेको छ । निर्माण पक्षले सबै धर्म र धार्मिक आस्थाप्रति आफ्नो उच्च सम्मान रहेको जनाउँदै कुनै पनि धर्म, धार्मिक स्थल वा आस्थामा चोट पुर्‍याउने उद्देश्य फिल्मको नरहेको बताएको छ ।

एउटा गीतले जन्माएको विवाद

‘पाँच पाण्डव’ विवादमा तानिनुको मुख्य कारण फिल्मको ‘राजा चाहिया छ’ बोलको आइटम गीत हो । गीत सार्वजनिक हुनुअघि निर्माण पक्षले चर्चित टिकटकर इभा गिरीलाई महाभारतकी द्रौपदीका रूपमा चिनाएको थियो ।

तर, गीतमा इभालाई आइटम डान्स गर्दै गरेको देखिएपछि धार्मिक ग्रन्थको पात्रलाई ग्ल्यामरस रूपमा प्रस्तुत गरिएको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भयो। कतिपयले त फिल्म बहिष्कार गर्ने अभियानसमेत चलाए ।

विवाद बढेपछि निर्देशक वसन्त निरौलाले गीतमा देखाइएको पात्र महाभारतकी द्रौपदी नभएको स्पष्ट पारेका थिए। उनले गीत र ट्रेलरकै आधारमा फिल्मको विरोध गर्नु उचित नभएको धारणा राखेका थिए ।

यता, नेपालगन्जमा केही व्यक्तिले फिल्म प्रदर्शन भए हलमा तोडफोड गर्ने धम्की दिएको विषय पनि निर्माण पक्षले गृह मन्त्रालयसम्म पुर्‍याएको थियो। यही घटनाक्रमपछि फिल्मबारे सरकारी तहमा छलफल भएको हो ।

यसअघि नै केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरिसकेको फिल्मको प्रदर्शन अब निश्चित भएको छ । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको अभिनय छ ।

सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको ‘पाँच पाण्डव’लाई सामाजिक नाटकका रूपमा प्रस्तुत गरिएको छ । महाभारतका पाँच पाण्डवको चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा भन्ने निर्माण पक्षको दाबी छ । अब विवाद र बहिष्कारको चर्चाबीच फिल्मले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ५ : १२ बजे

पूर्वाधार सम्मेलनअघि नीतिगत र कानुनी सुधार गर्दै सरकार : मन्त्री लम्सा

काठमाडौँ– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा पूर्वाधार

नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विशिष्ट राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता, प्राकृतिक

रुस–युक्रेन युद्धविरामका लागि आफ्नो पहल सार्वजनिक गर्दै मेलानिया ट्रम्प

काठमाडौँ– अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम

भरतपुरमा ट्राफिकलाइट प्रयोगबारे सचेतना कार्यक्रम 

चितवन– भरतपुर महानगरपालिकामा जडान गरिएका ट्राफिकलाइट सञ्चालनको तयारीसँगै यात्रु तथा

विवादले रोकिएन ‘पाँच पाण्डव’, प्रदर्शनको अन्योल हट्यो, कात्तिक २० मै हलमा आउने

काठमाडौं– धार्मिक विवाद र प्रदर्शन रोक्ने चर्चाबीच चर्चामा रहेको नेपाली