काठमाडौं– धार्मिक विवाद र प्रदर्शन रोक्ने चर्चाबीच चर्चामा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’ले अन्ततः प्रदर्शनको बाटो पाएको छ ।
फिल्म रोक्नुपर्ने वा नपर्ने भन्ने अन्योलबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छलफलले निर्धारित मितिमै प्रदर्शन गर्ने निष्कर्ष निकालेको हो। अब फिल्म आगामी कात्तिक २० गतेदेखि देशभरका सिनेमा हलमा लाग्नेछ ।
बिहीबार बिहान सञ्चार मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री विक्रम तिमल्सिना, फिल्म निर्माण टोली र केन्द्रीय चलचित्र जाँच समितिका पदाधिकारी सहभागी थिए ।
छलफलमा मन्त्री तिमल्सिनाले चलचित्र रोक्ने कुनै नियत नरहेको र प्रदर्शन रोक्न नहुने धारणा राखेको चलचित्र जाँच समितिका सदस्य मनोज पण्डितले जानकारी दिएका छन् ।
यसअघि फिल्मको प्रदर्शन रोक्न गृह मन्त्रालयले निर्देशन दिएको चर्चा चलेपछि निर्माण पक्ष अन्योलमा परेको थियो । तर, छलफलपछि निर्माण टोलीले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित मितिमै फिल्म प्रदर्शन हुने स्पष्ट पारेको छ । निर्माण पक्षले सबै धर्म र धार्मिक आस्थाप्रति आफ्नो उच्च सम्मान रहेको जनाउँदै कुनै पनि धर्म, धार्मिक स्थल वा आस्थामा चोट पुर्याउने उद्देश्य फिल्मको नरहेको बताएको छ ।
एउटा गीतले जन्माएको विवाद
‘पाँच पाण्डव’ विवादमा तानिनुको मुख्य कारण फिल्मको ‘राजा चाहिया छ’ बोलको आइटम गीत हो । गीत सार्वजनिक हुनुअघि निर्माण पक्षले चर्चित टिकटकर इभा गिरीलाई महाभारतकी द्रौपदीका रूपमा चिनाएको थियो ।
तर, गीतमा इभालाई आइटम डान्स गर्दै गरेको देखिएपछि धार्मिक ग्रन्थको पात्रलाई ग्ल्यामरस रूपमा प्रस्तुत गरिएको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भयो। कतिपयले त फिल्म बहिष्कार गर्ने अभियानसमेत चलाए ।
विवाद बढेपछि निर्देशक वसन्त निरौलाले गीतमा देखाइएको पात्र महाभारतकी द्रौपदी नभएको स्पष्ट पारेका थिए। उनले गीत र ट्रेलरकै आधारमा फिल्मको विरोध गर्नु उचित नभएको धारणा राखेका थिए ।
यता, नेपालगन्जमा केही व्यक्तिले फिल्म प्रदर्शन भए हलमा तोडफोड गर्ने धम्की दिएको विषय पनि निर्माण पक्षले गृह मन्त्रालयसम्म पुर्याएको थियो। यही घटनाक्रमपछि फिल्मबारे सरकारी तहमा छलफल भएको हो ।
यसअघि नै केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरिसकेको फिल्मको प्रदर्शन अब निश्चित भएको छ । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको अभिनय छ ।
सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको ‘पाँच पाण्डव’लाई सामाजिक नाटकका रूपमा प्रस्तुत गरिएको छ । महाभारतका पाँच पाण्डवको चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा भन्ने निर्माण पक्षको दाबी छ । अब विवाद र बहिष्कारको चर्चाबीच फिल्मले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ ।














प्रतिक्रिया