म्याग्दीको रघुगङ्गामा व्यवस्थित पदमार्ग निर्माण सुरु « Khabarhub

म्याग्दीको रघुगङ्गामा व्यवस्थित पदमार्ग निर्माण सुरु


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिँड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ । 

रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने गोरेटोबाटो जंगलभित्र भिरालो र साँघुरो डोरोमा झाडीलाई पन्छाएर हिँड्नुपर्ने भएपछि ढलान गरी सिँढीसहितको पदमार्ग निर्माण सुरु गरिएको हो ।

चालु आर्थिक वर्ष २०८२-८३ मा रघुगङ्गा गाउँपालिकाबाट विनियोजन भएको रु तीन लाख ५० हजार बजेटमा श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गर्न लागिएको रानीपौवा घोरेढुङ्गा चमेरे आर्यघाट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष तोरणबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार गाउँपालिकाका प्राविधिकद्वारा लागत अनुमान तयार गरी विनियोजन भएको बजेटबाट १३२ मिटर पदमार्ग निर्माण गरिएको छ । 

चमेरेदेखि नै जङ्गलको झाडी फँडानी गरेर सोलिङ्गसहित ढलान गरी साढे एक मिटर फराकिलो पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माणमा स्थानीयवासीले श्रमदानसमेत गरेका छन् ।

मुख्यगरी गाउँमा दिवङ्गत भएकाहरूको अन्तिम संस्कारका लागि चमेरेस्थित कालीगण्डकी नदी किनारको आर्यघाटमा लैजानका लागि प्रयोग हुने यस गोरेटो बाटो पुनर्निर्माणका लागि देश तथा विदेशमा रहेका स्थानीयवासीले स्वेच्छिक रूपमा सहयोगसमेत जुटाउन थालेका छन् । 

रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आउने र चमेरदेखि कालीगण्डकी नदी किनार जाने बाटोसमेत जोखिमपूर्ण रहेको र गाउँपालिकाबाट विनियोजन भएको बजेट अपुग हुने भएपछि देश तथा विदेशमा रहेका स्थानीयवासीबाट सहयोग जुटाएर थप पदमार्ग निर्माण गर्ने तयारीमा जुटेको उपभोक्ता समितिका अध्यक्ष कार्कीले जानकारी दिए । 

दुई सातादेखि दैनिक १२ देखि १५ जना पदमार्ग निर्माणमा खटिएका छन् । रानीपौवादेखि चमेरे हुँदै आर्यघाटसम्मको गोरेटोबाटोमध्ये करिब एक किलोमिटर बाटो भिरालो र साँघुरो भएकाले त्यसलाई स्तरोन्नतिसहित पक्की पदमार्ग बनाएर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छ । 

रघुगङ्गाको वडा नम्बर ३ रानीपौवाका साथै वडा नम्बर २ तल्लाघर र कोलमुनि बस्तीका स्थानीयले समेत दिवङ्गत भएकाहरूलाई यसै बाटो भएर आर्यघाटमा अन्तिम संस्कारका लागि लैजाने गर्छन् । 

यो पदमार्ग निर्माणले पूर्णता पाएमा गाउँमा दिवङ्गत भएकाहरूलाई अन्तिम संस्कारका लागि कालीगण्डकीस्थित आर्यघाट पुर्‍याउन सहज हुनेछभने गाउँमा उत्पादन भएको केरा, सुन्तलालगायतका कृषिजन्य उत्पादनलाई बिक्री–वितरण गर्नसमेत सहज हुने उपभोक्ता समितिका सचिव रामबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, जंगलबाट घाँस दाउरा घरमा ल्याउन र बेनी–जोमसोम सडक खण्डको चमेरेदेखि छोटो दूरीमा रानीपौवागाउँ उक्लिन यो पदमार्ग उपयोगी हुनेछ । 

‘अहिले गाउँमा दिवङ्गत भएकाहरूलाई घाटमा ल्याउन निकै कठिन छ,  भिरालो र साँघुरो डोरोमा जोखिमपूर्ण तवरले हिँड्नुपर्छ, झाडीले बाटो ढाकिने भएकाले नियमितजसो झाडी फाँड्नुपर्ने बाध्यता छ,’ उपभोक्ता समितिका सचिव कार्कीले भने। 

यो पदमार्ग पुनर्निर्माण सम्पन्न भएमा चमेरेदेखि रानीपौवा, तल्लाघर हुँदै ऐतिहासिक भगवती कोत मन्दिर भएर पर्यटकीयस्थल रुइसे क्षेत्रसम्मको पदयात्रा गर्नका लागिसमेत प्रयोगमा आउनेछ। 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १ : ३४ बजे

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गर्दै विभिन्न

नदी किनारमा रहेका सुकुमबासी बस्ती (तस्बिरहरू) 

काठमाडौं – काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट– दिगो पर्यटन प्रवर्द्धन परियोजनाले  निसीखोला र ढोरपाटनमा १८ घरबास

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले देशका विभिन्न