काठमाडौं- नेपाली कांग्रेसले आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि ८ सिटमा दाबी गरेको छ।
उक्त निर्वाचनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी दुवैसँग समानान्तर संवाद रहेको कांग्रेसले तालमेल गर्दा १८ मध्ये ८ सिट दाबी गरेको हो ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनको सम्भावित तालमेलबारे ब्रिफिङ गरेका हुन् ।
कार्यवाहक सभापति खड्काले राष्ट्रिय सभा निर्वाचनको तयारीबारे जानकारी गराउँदै सबै दलसँग तालमेलबारे कुरा भइरहेको खुलाएका हुन् ।
एकजना कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले सानेपामा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै अन्य दलसँग तालमेलका लागि कांग्रेसलाई ८ सिट चाहिने कुरा कार्यवाहक सभापति खड्काले राखेको बताइन् ।
तत्कालीन अवस्थामा महासमिति सदस्यहरूले अबका कुनै पनि चुनावमा गठबन्धन नगर्ने भने पनि राष्ट्रियसभाका हकमा त्यो लागु नहुने कुरा खड्काले बैठकमा बताएका थिए ।
अहिले राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले एमाले र नेकपा र जनता समाजवादी पार्टीसँग संवाद गरिरहेको छ। अहिले कांग्रेसकोतर्फबाट कार्यवाहक सभापति खड्का र नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक वार्तामा छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि राष्ट्रिय सभाका लागि महासमिति बैठकले गठबन्धन नगर्ने नभनेको उल्लेख गरे । ‘राष्ट्रियसभामा तालमेल नगरी परिणाम आउँदैन। हाम्रो बलियो पकड भएकाले सम्भावना पनि धेरै छ । तालमेल नगरेको अवस्थामा अप्ठ्यारो हुन्छ’, उनले भने, ‘अन्य दलसँगको सहकार्यबारे नेतृत्व तहमा कुरा भइरहेको छ। भोलिसम्म निष्कर्ष आउन सक्छ ।’













प्रतिक्रिया