काठमाडौं- मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगले सोमबार (पुस २१) मा एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।
‘नेपाली समाज सदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र एक अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म एवं सम्प्रदाय एक आपसमा मिलेर बसेको समाज हो,” तीन आयोगका पदाधिकारीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
तर, केही समयदेखि तराई मधेसका केही स्थानमा धार्मिक सहिष्णुता खलल पार्ने क्रियाकलाप देखिएको भन्दै उनीहरूले सद्भाव कायम राख्न अपिल गरेका छन् ।
‘तर, केही समययता तराई मधेसका केही स्थानहरूमा धार्मिक सहिष्णुतामा खलल पार्ने क्रियाकलाप देखिएकोले सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न सम्बद्ध सबैमा संयुक्त रूपमा हार्दिक अपील गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि गृह मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै सामाजिक र धार्मिक सद्भाव कायम गर्न आग्रह गरेको थियो । समाजिक र धार्मिक सद्भाव विथोलिने कार्य गरे कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी मन्त्रालयले दिएको थियो ।













प्रतिक्रिया