चुनाव नआउँदै लथालिङ्ग प्रलोपा, एमालेको बलमा जित्नुपर्ने जनार्दनलाई दबाब « Khabarhub

चुनाव नआउँदै लथालिङ्ग प्रलोपा, एमालेको बलमा जित्नुपर्ने जनार्दनलाई दबाब

नीति र सिद्धान्तबिनाको समर्थनबारे अनेक प्रश्न



काठमाडौं– तत्कालीन नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र नेपाल समाजवादी पार्टीका केही नेतृत्वहरू मिलेर निर्माण गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) चुनाव नआउँदै लथालिङ्ग देखिएको छ ।

प्रलोपा निर्माणका क्रममा जुटेका नेताहरूको उम्मेदवारी फिर्ता, तालमेल, सहकार्य र समर्थनमा समान दृष्टिकोण देखिएको छैन । यसका साथै, यो नयाँ पार्टीका केही नेताहरूले व्यक्तिगत लाभ, हानी हेरेर चुनावी गतिविधि बढाइरहेका छन् ।

बाबुराम अवसरको खोजीमा, जनार्दन एमाले र सुदन हर्कतिर

प्रलोपा एउटै राजनीतिक दलबाट विभाजन भएर वा नितान्त नयाँ मान्छेहरूमार्फत् नर्माण भएको पार्टी होइन । यस पार्टीको निर्माण प्रक्रियामा विशेषगरी औपचारिक नेतृत्वमा नरहेका डा. बाबुराम भट्टराई र जनार्दन शर्माले पहल गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पनि निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको देखिन्थ्यो ।

तर, पार्टी निर्माणलगत्तै सुरू भएको चुनावी अभियानमा भने प्रलोपाको राजनीतिक विचार अचम्मको देखिएको छ । सुरूमा आगामी निर्वाचनमा उम्मेदवार नै नहुने भनेका डा. भट्टराईले गोरखा २ मा उठ्ने निर्णय गरे ।

तर उनी आफैँ फेरि पछि हटे । तर, उम्मेदवारी फिर्तासँगै उनले कसैलाई समर्थन भने गरेका छैनन् । यद्यपि, उनले रास्वपासँग लेनदेन गरेको आशंकालाई बल दिने गरी विज्ञप्ति र भनाइहरू त्यही बेला सार्वजनिक भएका थिए ।

विभिन्न स्रोतहरूले डा भट्टराईले उम्मेदवारी फिर्ताको क्रममा नेपाली कम्युनिस्ट पार्टी र रास्वपा दुवैसँग कुराकानी गरेका थिए । रास्वपाले उनलाई भविष्यमा राज्यको कुनै उच्च स्थानमा भूमिका दिने उधारो आश्वासन दिएको छ । त्यही आश्वासनको लोभमा बाबुराम परेको भनेर धेरैले अनौपचारिक टिप्पणी गरेका छन् ।

उता गोरखा १ मा पनि प्रलोपाको तर्फबाट उम्मेदवारी दिएका गोपालबाबु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएर क्षेत्र नै खाली बनाएका छन् ।

प्रलोपा निर्माण प्रक्रियाका अर्का मुख्य नेता जनार्दन शर्माले उम्मेदवारी दर्ता गरिसकेपछि नेकपा एमालेसँग सहकार्यको छलफल अघि बढाए । अध्यक्ष केपी शर्मा ओलीले सूर्य चुनाव चिह्न नै लिन शर्मालाई आग्रह गरेको कुरा पनि बाहिरिएको थियो ।

तर, पछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उठेको रुकुमपूर्व र जनार्दन उठेको रुकुम पश्चिममा एमालेले प्रलोपालाई समर्थन गर्ने सहमति भयो । उता हुम्ला र जुम्लाबाहेक कर्णाली प्रदेशका सबै जिल्लामा एमालेलाई प्रलोपाले समर्थन गर्ने सहमति माघ ११ गते बाहिरियो ।

देशव्यापी रास्वपाको लहर चलेको जस्तो देखिएको र नेकपाविरुद्ध मोर्चा एमालेले जनार्दनसँग मोर्चा गर्दा आफैँविरुद्ध प्रहार हुने देखेपछि एमाले सहमतिबाट पछाडि हट्यो । बुधबार फेरि दुई पार्टीबीच नयाँ ३ बुँदे सहमति भएको छ ।

जुन सहमतिमा रुकुम पश्चिममा एमालेले जनार्दनलाई समर्थन गर्ने तथा जुम्ला, हुम्ला र मुगुबाहेक कर्णालीका सबै जिल्लामा प्रलोपाले एमालेलाई समर्थन गर्ने कुरा उल्लेख छ । यससँगै जनार्दन आफू सुरक्षित हुन एमालेसँग सहमति गरेको टिप्पणी भइरहेको छ ।

पार्टीको अध्यक्ष परिषद् रहेका सुदन किरातीले  आगामी चुनावका लागि हर्क साम्पाङलाई समर्थन गरिसकेका छन् । सुनसरी १ र भोजपुरमा उनले हर्कको श्रम संस्कृति पार्टीलाई समर्थन गरिसकेका छन् ।

त्यस्तै, केही जिल्लाबाट उम्मेदवारी फिर्ता गर्दै त्यहाँका रास्वपा उम्मेदवारलाई समर्थन गरिएको छ । केही नेताहरूले पनि आफ्नै ढंगले अर्को पार्टीका उम्मेदवारलाई समर्थन गरेका छन् ।

सार्वजनिक सूचनाअनुसार डा. भट्टराई निकट रहेका प्रलोपाको तर्फबाट स्याङ्जा २ का उम्मेदवार टीकाराम रेग्मीले रास्वपाका उम्मेदवारलाई समर्थन गर्दै चुनावी मैदानबाट पछि हटेका छन् ।

प्रलोपा सिराहाका जिल्ला इन्चार्ज अरविन्द कुमार यादवले सिरहा २ का रास्वपा उम्मेदवारलाई मतदान गर्ने सम्झौता गरेका छन् । कालिकोटमा प्रलोपाका उम्मेदवार धर्मराज न्यौपानेले नेकपा (माओवादी)का उम्मेदवार खड्कबहादुर विश्वकर्मालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरे ।

गोलमाटोल दृष्टिकोणमा प्रलोपा

प्रलोपाको चुनावी तालमेल र सहकार्य हेर्दा कुनै स्पष्ट दृष्टिकोण नअपनाई गरिएको जस्तो देखिन्छ । कर्णालीकै केही जिल्लामा प्रलोपाले एमालेसँग सहकार्य गरेको छ, उता कालिकोटमा माओवादीसँग ।

त्यस्तै, स्याङ्जा, सिरहा लगायतमा प्रलोपाले विनासर्त रास्वपालाई पनि समर्थन गरेको छ । भोजपुर र सुनसरी १ मा श्रमसंस्कृतिका ध्रुव राई र हर्क साम्पाङलाई सघाएको छ ।

पछिल्लो नेपाली राजनीतिमा एमाले र रास्वपाबीच बढी आरोप प्रत्यारोप चलेको देखिन्छ । सामान्यतः ती दुई पार्टीहरू तत्काल कुनै तहको सहकार्यमा जान सक्ने देखिँदैन । तर, त्यही अवस्थामा प्रलोपाले ती दुवै पार्टीसँग सहकार्यको नीति लिएको छ । साथै, यही व्यवस्थालाई हुबहु अस्वीकार गर्ने माओवादीका उम्मेदवारलाई पनि प्रलोपाले निशर्तः समर्थन गरेको छ ।

प्रलोपाले किन बेलगाम सहकार्य गर्‍यो ? चुनावी सहकार्यमा विचार जोडिँदैन भन्ने सन्दर्भमा भने प्रलोपा परिषद् अध्यक्ष सन्तोष परियारले स्थानीय स्तरको सन्तुलनका हेरेर अघि बढ्न सक्नेगरी केन्द्रीय परिषद् बैठकबाट निर्णय भएको बताए । यसका साथै, लोकतान्त्रिक र प्रगतिशील शक्तिसँग सहकार्य गर्ने नीति पार्टीको रहेको उनले बताए ।

जनार्दनलाई केन्द्रमा राखेर पूरै कर्णालीमा एमालेलाई सघाउने गरी भएको सहमति पनि स्थानीय शक्ति सन्तुलनका आधारमा भएको उनले बताए ।

‘यो व्यवस्थामा एक्लैले गर्ने भन्ने हुँदैन, सबै मिलेरै गर्ने हो, हामीले केन्द्रीय परिषद्को बैठकबाटै स्थानीय शक्ति सन्तुलनका आधारमा सहकार्य गर्नसक्ने निर्णय लिएका छौं’, उनले भने, ‘लोकतान्त्रिक र प्रगतिशील शक्तिसँग सहकार्य गर्ने हाम्रो नीतिअनुसार नै भएको छ ।’

तर, परियारकै दृष्टिकोणमा प्रलोपा एक छ भन्ने देखिँदैन । किनकी डा. भट्टराई लगायतले उम्मेदवारी फिर्ता लिँदै गर्दा जनार्दनका भाइ अनिलले फेसबुकमा लेख्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

‘आफू जित्न कोसिस गर्नु त राम्रो कुरा हो तर प्रतिस्पर्धामा उत्रिएर हार देखि भाग्नु एक रति पनि लोकतान्त्रिक कदम मान्न सकिँदैन, बहाना जेसुकै बनाय पनि, हामी आफ्नो भरमा उभिन्छौँ, जे सक्छौँ यहिँ गर्छौँ’, शर्माले लेखेका थिए ।

एमालेको बलमा जित्लान् जनार्दनले ?

सुदन किरातीले कोशीमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्दै आफू चुनावमा नउठ्ने निर्णय गरे । उता डा. भट्टराईले उम्मेदवारी फिर्ता लिँदा राम कार्की र सन्तोष परियार पनि मैदानमा छैनन् । यतिबेला देशैभर प्रलोपाले उठाएकामध्ये प्रतिस्पर्धामा बलिया उम्मेदवार रुकुम पश्चिमका जनार्दन शर्मा मात्रै हुन् ।

प्रलोपाको पक्षमा आजका दिनसम्म ह्वीम आएको देखिँदैन । ०६४ देखि रुकुम पश्चिममा निरन्तर जित्दै आएका प्रलोपा नेता शर्मा यसपटक एमालेसँग मिल्न बाध्य भए । उनको यो सहकार्य पार्टीका लागि भन्दा आफूलाई अघि बढाउन गरेको देखिन्छ । उनले समग्र कर्णालीको भोट एमालेलाई हाल्ने निर्णय पनि आफू सुरक्षित हुन गरेको देखिएको छ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा एमालेकाबाट नन्दराम देवकोटा, कांग्रेसबाट राजु केसी, नेकपाबाट गोपाल शर्मा र रास्वपाबाट मानबहादुर शाही उम्मेदवार छन् ।

०७९ मा तत्कालीन माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका शर्मा ३९ हजार ५४९ मत ल्याएर बिजयी भएका थिए । त्यहाँ प्रतिस्पर्धी एमालेका नन्दराम सापकोटले १२ हजार ९६१ मत ल्याएका थिए । जुन निर्वाचनमा शर्मालाई नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को पनि समर्थन थियो ।

त्यस निर्वाचनमा कांग्रेसले रुकुम पश्चिमबाट ८ हजार ७६६ र एकीकृत समाजवादीले १ हजार ५१० मत ल्याए । एमालेले समानुपातिकतर्फ ८ हजार ६९ मत ल्याएको थियो ।

तर अहिले रुकुम पश्चिममा तत्कालीन माओवादी केन्द्रको संगठनात्मक विभाजनमा जिल्ला कमिटिका अधिकांश नेता शर्माको पक्षमा लागेनन् । शर्मा माओवादी सशस्त्र युद्धदेखि अहिलेसम्म त्यहाँका प्रभावशाली नेता हुन् । व्यक्तिगत रूपमै त्यहाँ उनको बलियो प्रभाव छ ।

तर, शर्माले प्रचण्डको साथ छाडेर नयाँ पार्टी बनाएपछि कति मतदाता लैजान सके भन्ने कुरा महत्वपूर्ण छ । उनले माओवादीबाट लगेका मतदाता नै त्यहाँ निर्णायक हुन्छन् । एमालेले शर्मालाई मतदान गर्ने भने पनि पछिल्लो पुस्ताले त्यो ह्वीप स्वीकार गर्ने अनुमान गर्न सकिँदैन ।

यसका साथै, देशैभर प्रलोपाका अन्य उम्मेदवारले जित्ने सम्भावना छैन । तर रुकुम पश्चिममा मतदाताले भविष्यको सम्भावनालाई अनुमान गरेर जनार्दनलाई मत दिन सक्छन् । तर एमालेको भरमा मात्रै शर्माले नेकपालाई हराएर जित्न सजिलो भने छैन ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ७ : १२ बजे

विश्वकप प्रतियोगिता मात्रै होइन, एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि हो : रोहित पौडेल

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप केवल

ध्वंसमा नभई शान्तिबाट मात्रै देशको विकास हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि

विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका

आजका समाचार : निर्वाचन एकै चरणमा, कांग्रेसले चुनावअगाडि कसैसँग तालमेल नगर्ने, इरान-अमेरिका वार्ता भोलि र अभ्यास खेलमा नेपाल विजयी

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ताप्रधानमन्त्री सुशीला कार्की

अमेरिकासँग वार्तामा सहभागी हुन इरानलाई आग्रह

दोहा– जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई अमेरिकासँग हुने योजनाबद्ध वार्तामा