काठमाडौं- मत भनेको विवेक हो । मतमार्फत मतदाताले आफ्नो वारेस चुन्नु नै चुनावको मर्म हो । जनतालाई आफ्नो वारेसको परख गर्ने सर्वाधिकार हुन्छ । उम्मेदवारको व्यक्तित्व, प्रतिनिधित्व गर्ने पार्टीको विश्वसनीयता, लिएका संकल्प पूरा गर्ने क्षमताको परीक्षण मतदाताले सुक्ष्म रुपमा गरेका हुन्छन् ।
तर प्रमुख दलहरुले भावी प्रधानमन्त्री नै घोषणा गरेपछि सामाजिक सञ्जालमा मतदातालाई नै घेराबन्दी गर्ने, धम्क्याउने अनेकानेक शैली देखिने गरेका छन् । उम्मेदवारलाई भाइरल बनाउन अन्धभक्तहरुले सामाजिक सञ्जालमा रचेको अनेकानेक तिकड्मले मतदाता मानसिक दबाबमा पर्ने जोखिम उत्तिक्कै छ ।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह इटहरी पुगेका थिए । उनी पुग्दा समर्थकहरुले नारा लगाए– ‘चुपचाप : घण्टीमा छाप’ । रास्वपाले प्रचारप्रसार सामाग्री ब्यानर, पर्चा लगायत सबैतिर यो नारा उल्लेख गरेको छ ।
त्यसैगरी रास्वपाकै नक्कल गर्दै कांग्रेसले ‘चुपचाप रुखमा छाप’ को नारा लगाइरहेको छ । एमालेले पनि ‘चुपचाप सूर्यमा छाप’ नारा लगाइरहेको छ । अन्य दलहरुले पनि मतदातालाई चुपचाप मतदान गर्न अपिल गरिरहेका छन् । के यी नारा सही छन् ? नाराले मतदातालाई केही नसोच्न र प्रश्न नगर्न आह्वान गरेको त छैन ? लोकतान्त्रिक व्यवस्थामा मतदातालाई चुपचाप भोट हाल्नु भन्नु जायज हो ?
पत्रकार रविन्द्र सुवेदीले सामाजिक सञ्जालमा एक भिडियोमार्फत लोकतन्त्रमा चुपचाप भोट हाल्न अपिल गर्नु गलत भएको बताएका छन् । सोच्दै नसोची, बोल्दै नबोली वा प्रश्नै नगरी हालेको मतले नतिजा पनि खराब दिने उनको तर्क छ । उनले भनेका छन्, ‘अहिले सामाजिक सञ्जालमा एउटा नारा गुञ्जिरहेको छ – चुपचाप : घण्टीमा छाप । चुपचाप : रुखमा छाप । त्यस्तै चुपचाप : अन्य कुनै दलमा छाप । तर यसले के संकेत गर्छ । लोकतान्त्रिक विधि अनुसार निर्वाचन हुँदैछ । तर उम्मेदवार वा दलहरुले बाध्यकारी मतदानको आह्वान गर्दैछन् ।
लोकतन्त्र भनेको केवल भोट हाल्ने प्रक्रिया मात्रै होइन । बुझने, बहस गर्ने र प्रश्न गर्ने संस्कार पनि हो । यसलाई डेलिभरेटिव डेमोक्रेसी भनिन्छ । अर्थात् विचारशील लोकतन्त्र । विचार राख्न पाइन्छ । प्रश्न सोध्न पाइन्छ । तर मतदातालाई भनिन्छ, चुपचाप बस नसोच । केवल हामीले जे भनिरहेका छौ, त्यसमै छाप लगाउ । त्यो लो इन्फरमेसन भोटिङ अर्थात् जानकारी विनाको मतदान हो । यसले मान्छे नीति र नेतृत्व भन्दा पनि हामी कसको पछि कुदिरहेका छौं ? भन्ने प्रश्न उठ्छ ।
त्यसलाई मात्रै भोट हाल भनेर उत्प्रेरित गर्छ । र त्यस्तै खालको नतिजा निकाल्छ । यसलाई व्याण्डवागन इफेक्ट पनि भनिन्छ । तर चुपचाप भोट हाल भन्नुको अर्थ तिमीहरु सोच्दै नसोच, बोल्दै नबोल । हामीले जे भन्छौं, त्यो नै अन्तिम सत्य हो भन्न खोज्नु गलत हो । हामी विवेकहीन मतदाता होइनौं । हामी सचेत नागरिक हौ । भोट हाल्नु अघि बोलौ, सोधौं र बहस गरांै । किनकी सोचेर हालिएको भोट मात्रै लोकतन्त्र बलियो बनाउन सक्षम छ ।
त्यसैगरी अहिले हरेक दलहरुले नेता घोषणा गरेर मत मागिरहेका छन् । रास्वपाले बालेनलाई प्रधानमन्त्री घोषणा गरेको छ । कांग्रेसले गगन थापालाई घोषणा गरेको छ । एमालेले सदाबहार नेता केपी ओलीलाई घोषणा गरेको छ । उज्यालो नेपालले कुलमान घिसिङलाई उन्नायक बनाएको छ ।
अग्रज पत्रकार पुरुषोत्तम दाहालले व्यक्ति पुज्ने हो भने देशमा श्री ५ को सरकार नै थियो भनेर व्यङ्ग्य गरेका छन् । सार्वभौसत्ता एक व्यक्तिमा निहित रहँदाको निरंकुशता विरुद्ध आएको गणतन्त्रमासमेत एक व्यक्ति सर्वेसर्वा हुनु र पूजिनु मानिसलाई देवता बनाउने दास मानसिकताको वीजारोपण भएको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमा बुँदागत रुपमा लेखेका छन् ।
अवकाे सरकार कसकाे ?
शहर गाउँ नारा छ :
(१)अवकाे वार : ओली सरकार (अर्थात् नेकपा एमालेको होइन ओलीको निजी औषधालय हो)
(२) अवकेा वार : गगन सरकार (अर्थात् नेपाली काङ्ग्रेसको होइन गगनको निजी व्यायाम शाला हो )
(३) अवकाे वार : वालेन सरकार (अर्थात् रास्वपाकाे होइन वालेनकाे मण्डली मार्ने निजी शाला हो)
(४) अवकाे वार : प्रचण्ड सरकार (अर्थात् नेपाली कम्युनिस्ट पार्टीको होइन प्रचण्डको निजी कम्पनी हो)
(५) अवकाे वार : लिङ्देन, घिसिङ , यादव, साम्पाङ्, धमला सरकार ।(अर्थात् कुनै पार्टी होइन उनीहरुको प्रेक्षालय हो ।)
ती सरकार नेपालीका, नेपालका ,अनि दलका होइनन् र व्यक्तिका हुन् भने श्री५ को सरकार नै थियो पहिले ।
मानिसलाई देवता बनाउने र भत्काउनेहरुको यस्तो नारा सुन्दा हामी अझै स्वतन्त्र नागरिक नभएर दास र लासहरुको झुन्ड नै रहेको स्पष्ट हुन्छ । आफूलाई स्वयंभू मालिक ठान्ने अहङ्कारी पिण्डहरु त यस्तो पूजा, आरती ,अर्चना सुन्दा फुलेल न हुने कुरै भयेन ।
जय होस् मालिकहरुको र दासहरुको ।
दाहालकै भनाइलाई समर्थन गर्दै पत्रकार खिला कार्कीले परिवर्तन गर्ने दलले चरित्र गुमाइसकेको आरोप लगाएका छन् । उनी लेख्छन्, ‘अब यस्तै यस्तै सरकार र लोकतन्त्र चल्ने मौसम सुरू भएको हो । कहाँ लोकतन्त्र र राजनीति दलहरूको असली चरित्र कायम छ । चल्न नसक्ने भनेर परिवर्तन गर्ने दलले नि चरित्र गुमाइसकेको त प्रचार सामाग्री हेर्दा नै थाहा हुन्छ नि ।’
तर पत्रकार दाहालको भनाइप्रति असहमत जनाउदै जीआर दाहालले सुयोग्य व्यक्ति अगाडी सारेर मत माग्ने विश्वव्यापी अभ्यास भएको बताएका छन् । त्यसैगरी, उनले पार्टीको कुरा गरेर भोट माग्ने अभ्यास पुरानो भएको बताए । उनले लेखेका छन्, ‘नेपालमा पार्टीको मात्र कुरा गरेर भोट माग्ने अभ्यास बदल्न ढिला भएको हो । सिद्धान्तले मात्र चिउरा नभिज्ने रहेछ भन्ने अब त स्पष्ट भइसक्यो ।
तसर्थ अब सुयोग्य पात्र प्रस्तुत हुनुपर्छ । अमेरिका र भारतमा पनि पार्टी छन् तर सुयोग्य पात्रलाई अघि सारेपछि जनताले भविष्यको नेता को हुन्छ ?भनी प्रक्षेपण गरी आफ्नो मतदान गर्ने विश्वव्यापी अभ्यास हुँदै आइरहेको छ । अब हाम्रो भविष्यको नेता यो हो भनेर अगाडी नसार्नेलाई जनताले भोट दिँदैनन् र दिनु हुँदैन ।’
लोकतान्त्रिक व्यवस्थाचुनाव जित्ने मात्रै होइन, जनताको विश्वास जित्ने प्रक्रिया हो । त्यसैले मतदातालाई चुपचाप हुन होइन प्रश्न गर्न प्रेरित गर्नुपर्छ । विवेक पुर्याएर मत हाल्नको लागि जागरुक गर्नुपर्छ । जब प्रचारप्रसार इमान्दार हुन्छ र मतदाता सचेत हुन्छन् । तबमात्र लोकतन्त्र बलियो, विश्वासिलो र जनमुखी बन्छ ।













प्रतिक्रिया