दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण « Khabarhub

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेल बजारको भानुचोकमा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको काम सम्पन्न गरिएको हो ।

भानुभक्तको सालिकसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम गरिएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए ।

‘दिक्तेल बजारको सौन्दर्यकरण कार्यक्रमअन्तर्गत आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमा पहिलेकै स्थानमा राखिएको छ । त्यहाँ आचार्यको ठूलो आकारको मूर्ति सरोकारवालाले नै खरिद गरेर राख्ने सहमति भएको छ’, उनले भने, ‘भानुभक्तको सालिक पुनर्निर्माण सकिएसँगै सालिक वरपरका खाली ठाउँमा टाइल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण, चोकको साङ्केतिक चिह्न राख्ने तथा आदिकवि भानुभक्तका कविताका केही हरफ समावेश गरेर सौन्दर्यकरण गरिएको छ । यसले दिक्तेल बजारको सौन्दर्यकरणमा थप टेवा पुगेको छ ।’

आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण अन्तर्गतकै योजनाबाट जिल्ला प्रहरी कार्यालयको प्रवेशद्धार अगाडिदेखि भानुचोक हुँदै लोकसेवा आयोगको कार्यालय तथा लोकसेवा आयोगको कार्यालयदेखि नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म सडक सुधार तथा निर्माणको काम गरिएको छ । यसका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ भित्रका केही सडक निर्माणका कामसमेत सम्पन्न भएको कार्यालयले जनाएको छ ।

भानुचोकमा भानुभक्तको सालिक पुनर्निर्माणका लागि कार्यालयले गत कात्तिक २ गते बोलपत्र आह्वान गरेको थियो । लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको भानुभक्तको सालिकलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित पुनर्निर्माणको प्रक्रिया अघि बढाइएको थियो ।

सौन्दर्यकरणको काम सम्पन्न भएपछि दिक्तेल बजारको संरचनागत व्यवस्थापन तथा ऐतिहासिक, साहित्यिक र पर्यटकीय महत्व थप उजागर भएको छ । पुरानो संरचनाका घरहरू रहेको दिक्तेल बजारको मुहार कोशी प्रदेश सरकारको लगानीमा विस्तारै फेरिँदै गएको महसुस गरिएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको कामसमेत सम्पन्न भएको छ । २०७६ सालमा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याको अन्त्य भएको छ । कुनै समय धुलो र हिलोका कारण हिँड्नसमेत नसकिने अवस्थामा रहेको दिक्तेल बजारको कच्ची सडकले सबैलाई सास्ती दिएको थियो ।

लामो समयको प्रतीक्षापश्चात पूरै सडक ढलान भएपछि दिक्तेल बजारको मुहार नै फेरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले बताए । साँघुरो, हिलाम्मे र धुलाम्मे अवस्थाको दिक्तेल बजारको सडक सङ्घ र प्रदेश सरकारले उपलब्ध गराएको बजेटले पूरै ढलान भएको हो ।

दिक्तेलस्थित शङ्धर साख्वाः चोकदेखि भानुचोकसम्मको सडक ढलान यही पुस २७ गते (आइतबार) सम्पन्न भएसँगै पूर्णता पाएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत भौतिक पूर्वाधार कार्यालयको मूल्य अभिवृद्धि कर तथा पिएससहित ९५ लाख ८५ हजार ७८ लागतमा निर्माण कम्पनीले सडक ढलानको काम गरेको हो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ८ : ५३ बजे

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

वासिङ्टन डीसी- अत्याधुनिक प्रविधिको युगमा समेत चन्द्रमाको अध्ययनका लागि नासाले

उपसभामुखमा नेकपाको पनि दाबी

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रतिनिधिसभाको उपसभामुखमा आफ्नो

बलात्कार आरोपपछि पक्राउ बलेलाई लगियो अदालत (तस्बिरहरू)

काठमाडौं- जबर्जस्ती करणी गरेको आरोपपछि पक्राउ परेका कलाकार सागर लम्साल

माल्दिभ्सका मतदाताद्वारा एकैपटक चुनाव गर्ने प्रस्ताव खारेज

माले- खर्च कटौतीको उद्देश्यले राष्ट्रपति र संसदीय चुनाव एकै दिन