रक्षा र गृह आफैँले राखेका बालेनले सुधनबारे किन बनाएनन् छानबिन समिति ? « Khabarhub

रक्षा र गृह आफैँले राखेका बालेनले सुधनबारे किन बनाएनन् छानबिन समिति ?

क्लिन चिट कुर्दै बसेका सुधन के गर्दैछन् ?



काठमाडौं- गत चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहसँगै गृहमन्त्रीको शपथ खाएका सुधन गुरुङ यतिबेला फुर्सदिला छन् । एकपछि अर्को विवादमा मुछिएपछि गत वैशाख ९ गते राजीनामा दिएका उनी यतिबेला सार्वजनिक रुपमा देखिएका पनि छैनन् ।

विवादास्पद व्यवसायी दीपक भट्टसँग आर्थिक साझेदारी र साँठगाँठ रहेको खुलेपछि गृहमन्त्री गुरुङलाई १२ दिनअघि मन्त्री पदबाट राजीनामा गर्न लगाइएको थियो।

चौतर्फी राजीनामाको दबाब आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका भापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई पद छाड्न लगाए । गुरूङले राजीनामा बुझाएको १२ दिन बितिसक्दा पनि नयाँ गृहमन्त्री आएका छैनन् । बरू सुधनले राजीनामा दिएलगत्तै आफैंले उक्त जिम्मेवारी लिएर प्रधानमन्त्री शाहले देशभरबाट सुकुम्वासी लखेट्ने अभियान चलाए ।

गृह मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालेर प्रधानमन्त्री शाहले रक्षासँगै दोहोरो जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

बरु सुधन गृहमन्त्री भएका बेला उनको सचिवालयमा काम गरेका जेम्स कार्कीलाई भने प्रधानमन्त्री शाहले स्वयंसेवकका रूपमा खटाइरहेका छन् ।

सुधनले राजीनामा दिएपछि पनि कार्की गृह मन्त्रालयअन्तर्गतको सचिवालयमा बसेर काम गरिरहेका छन् । उनले अहिले पनि सरकारी कार्ड नै भिरेर प्रहरीसँग कुदिरहेका देखिन्छन् ।

मनोहरा र थापाथलीसहितका सुकुम्बासी बस्ती हटाउँदा कार्की त्यहाँ तैनाथ प्रहरीलाई निर्देशन दिइरहेका भेटिन्थे ।

सुकुम्वासी बस्ती खाली गराउने अभियान चलाएका वालेन्द्रले अहिलेसम्म न गृहमन्त्री नियुक्त गर्न सकेका छन् न सुधनमाथि नै छानबिन अघि बढेको छ। देशको आन्तरिक सुरक्षा जस्तो संवेदनशील विषयमा विभागीय मन्त्री नियुक्त नगरेपछि वालेन्द्रमाथि अहिले अनेक प्रश्न उठिरहेका छन् ।

बनेन छानबिन समिति

सुधनका विवादबारे छानबिन गर्न अहिलेसम्म औपचारिक समिति बनेको छैन। रास्वपा सभापति लामिछानेले एक–दुई दिनभित्रै गृहमन्त्रीबारे अनुसन्धान गर्न समिति बन्ने आश्वासन दिएका थिए। तर १२ दिन बितिसक्दा पनि समिति नबन्नुले अनेक आशंका उब्जिएको छ। सरकारले पनि सुकुम्वासी बस्ती हटाउन थालेपछि त्यसको आलोचनामा प्रतिपक्षसहित सर्वसाधारणसमेत उत्रिँदा सुधन ओझेलमा परेका छन् ।

समिति नबने पनि अनौपचारिक रूपमा बालेनले छानबिन गरिरहेको रास्वपा नेताहरूको दाबी छ। ‘पार्टीले अनौपचारिक रूपमा पूर्वगृहमन्त्रीबारे छानबिन गरिरहेको छ। सरकारी समिति बन्ने विषयमा हामीलाई जानकारी भएन,’ पार्टी कोषाध्यक्ष लिमा अधिकारीले भनिन्, ‘उहाँबारे पार्टी र पार्टीको अनुशासन आयोगले आवश्यक अनुसन्धान गर्नु स्वाभाविक नै हो। अध्ययन भइरहेको छ। केही समयमै पार्टीले निचोड निकाल्छ। सरकारले पनि आफ्नो काम गर्छ, गर्नुपर्छ जस्तो लाग्छ । सुधनले पनि निष्पक्ष छानबिन होस् भन्नुभएको छ।’

गृहमन्त्रीबारे अहिले पार्टी फोरममा समेत सभापति लामिछाने मौन छन् । उता मन्त्रिपरिषद् बैठकमा पनि प्रधानमन्त्री बालेनले कुनै नयाँ प्रस्ताव अघि बढाएका छैनन् ।

यसबारे प्रश्न गर्दा प्रधानमन्त्रीका सचिवालय सदस्यले भने, ‘औपचारिक रूपमा छानबिन समिति बनाउने तयारी भइरहेको छ। केही दिनभित्रै उहाँबारे छानबिन समिति बन्छ। तयारी भइरहेको छ।’

राजीनामा दिए पनि अनौपचारिक रुपमा सुधनले नै गृह मन्त्रालय चलाइरहेको टिप्पणी पनि गरेका छन्। तर यो टिप्पणी निराधार भएको महामन्त्री भूपदेव शाह बताउँछन्। उनले केही समयअघि खबरहबलाई भनेका थिए, ‘पार्टीले उहाँबारे अनुसन्धान गरिरहेको छ। अहिले प्रधानमन्त्री आफैलेँ गृह मन्त्रालय सम्हालिरहनुभएको छ। उहाँ आफैँले काम गरिरहनुभएको छ। बाहिर आएका हल्ला निराधार हुन्।’

के सुधन नै दोहोरिने हुन् ?

प्रधानमन्त्रीको संकेतबारे उनका सहयोगीले बताएअनुसार छानबिन समितिबाट क्लिन चिट पाए सुधन गृहमन्त्रीमा दोहोरिन सक्ने छन्। उनको विषयमा छानबिन गर्न केही दिनमै समिति बनाउने तयारी छ । यदि निर्दोष साबित भए उनैलाई गृहमन्त्रीमा ल्याउने तयारीमा बालेन्द्र रहेको स्रोतको दाबी छ।

‘पहिला उहाँको विवादबारे छानबिन समिति गठन हुनुपर्‍यो। समितिले निर्दोष ठानेमा पुनः गृहमन्त्रीमा फर्किने सम्भावना प्रबल छ,’ प्रधानमन्त्रीका ती सहयोगीले भने, ‘विवादबारे छानबिन नभई भन्न सकिने अवस्था रहेन। तत्काल गृहमन्त्री नियुक्ति नगरिनुको मोटामोटी संकेत पनि त्यही हो।’

सुधनको फर्किने योजना

सुधनले सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्रलाई विवादमा क्लिन चिट पाएमा गृहमन्त्रीमा फर्किने बाचा गरेका थिए। सभापति र प्रधानमन्त्रीले पनि छानबिन समितिबाटै निर्दोष साबित भए सुधनलाई नै गृहमन्त्री बनाउने ‘ग्रीन सिग्नल’ दिएको पार्टी स्रोतको दाबी छ।

‘लामिछाने, शाह र सुधनबीच लामो कुराकानी हुँदा उहाँ निर्दोष साबित भएमा गृहमन्त्रीमा दोहोरिने कुरा भएको साँचो हो। अन्याय के भएको छ भने छानबिन समिति बनेको छैन। यथाशीघ्र समिति बनोस् भन्ने हाम्रो चाहना छ,’ सुधनका एक सहयोगीले भने, ‘उहाँको विवादबारे निष्पक्ष छानबिन हुनुपर्छ। उहाँ निर्दोष हुनुहुन्छ भने मन्त्रालयमा फर्किन पाउनुपर्‍यो। निर्दोष भए काम गर्न पाउने र दोषी भए कारबाही हुने शर्तमै उहाँले राजीनामा दिनुभएको थियो।’

गृहमन्त्रीबाट राजीनामा दिएपछि सार्वजनिक कार्यक्रममा नदेखिएका उनी कहाँ छन् ? के गर्दैछन् भन्ने धेरैलाई चासो छ। यसबारे सोध्दा उनको सचिवालयले भन्यो, ‘काठमाडौंमै नियमित काम गरिरहनुभएको छ। उहाँको सबैभन्दा ठूलो माग आफ्नोबारे छानबिन समिति बनोस् भन्ने हो। विवादित भएर उहाँलाई बस्न मन छैन।’

रवि विकल्पतिर, बालेन पर्खिँदै

गृहमन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र र सभापति रविबीच लामो संवाद भएको थियो। संवादमा दुवैले आफू विवादबाट क्लिन चिट भए पुनः गृहमन्त्रीमा दोहोरिने र त्यसमा अरूलाई नियुक्त नगर्न दिएको सहमति स्मरण गरेका थिए।

सुधन बालेन्द्र र रवि मिलाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति भएकाले उनको विवादबारे छानबिन गर्न समिति बनाउने र त्यस अवधिमा अरू कुनै गृहमन्त्री नबनाउने सहमति भएको स्रोतको दाबी छ।

हाल गृह मन्त्रालयमा धेरै काम पर्ने भएकाले रविले नयाँ गृहमन्त्री अघि सार्ने संकेत प्रधानमन्त्रीलाई दिएका छन्। तर प्रधानमन्त्रीले भने आफूले नै जिम्मेवारी सम्हाल्दै छानबिन समिति बनाउनेतर्फ अघि बढेको बताइन्छ।

सुधन फर्किने सम्भावना कति ?

विवादास्पद व्यवसायी दीपक भट्टसँग सेयर कारोबारमा लगानी देखिएपछि सुधन थप विवादमा मुछिए । त्यसअघि पनि अन्य मन्त्रालयको क्षेत्राधिकार मिचेको, स्टन्ट गरेको, जथाभावी निर्देशन दिँदै हिँडेको लगायत प्रश्न उठ्ने गरेका थिए।

पछिल्लो समयमा अस्वाभाविक सम्पत्ति विवरण र सम्पत्ति शुद्धीकरणसँग जोडिएको विषय बाहिरिएपछि उनको आलोचना भएको थियो। त्यसपछि उनले अन्ततः राजीनामा दिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्ट समूहसँग सम्बन्धित लघु बीमा कम्पनीहरूमा संस्थापक सेयर लगानी गरेको प्रमाण सार्वजनिक भइसकेका छन्। यद्यपि गुरुङले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्।

प्रधानमन्त्री बालेनले अहिलेसम्म छानबिन समिति बनाएका छैनन् । अनुसन्धानका लागि समय लाग्ने भएकाले उनी फेरि तत्कालै गृहमन्त्रालयमा फर्किने सम्भावना न्यून रहेको स्रोत बताउँछ।

गृहमन्त्रीनिकटहरू पनि उनले विषयमा क्लिन चिट पाउने सम्भावना कम रहेको बताउँछन्। तर उनको सचिवालयले भने चाँडोभन्दा चाँडो निष्पक्ष छानबिन हुनुपर्ने माग बढाउँदै लगिरहेको छ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ६ : ४६ बजे

चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक पुगे मुस्ताङ

मुस्ताङ– सन् २०२६ को सुरुवाती चार महिनामा ८३ हजार १४९

स्वास्थ्य मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत एक सय ९३ पदाधिकारी पदमुक्त

इरानले विश्वकप खेल्छ : फिफा अध्यक्ष इन्फान्टिनो

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई

‘कांग्रेस नेताले लालपुर्जा दिन्छौँ भने, सरकारले डोजर चलायो’

काठमाडौं- ५१ वर्षीय आइतबहादुर तामाङ काठमाडौंको शंखमूलमा रहेको सुकुम्वासी बस्तीमा

अर्थसंक्षेप : नेता छान्दै निजी क्षेत्र, समस्याग्रस्त सहकारीको बचत जेठदेखि फिर्ता गरिने र नेप्सेमा सामान्य अङ्कको सुधार

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने सरकारले