राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै « Khabarhub

राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्ने भएका छन् । सन् २०१९ यता पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले प्योङयाङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ ।

चीन र उत्तर कोरियाले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार सीले सोमबारदेखि मंंगलबारसम्म उत्तर कोरियाको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। उनको पछिल्लो भ्रमण जुन २०१९ मा भएको थियो ।

यो भ्रमण उत्तर कोरियाली नेता किम जोङ उनले पछिल्ला वर्षहरूमा रुससँग निकटता बढाइरहेका बेला हुन लागेको हो । विशेषगरी युक्रेन युद्धमा समर्थनस्वरूप उत्तर कोरियामाथि रुसलाई सैनिक र परम्परागत हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ । यद्यपि चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख सहायता प्रदायक बनेको छ ।

अन्तर्राष्ट्रिय संकट समूहका विश्लेषक विलियम याङका अनुसार रुससँग उत्तर कोरियाको सम्बन्ध विस्तार भइरहेका बेला चीनले सीको भ्रमणमार्फत प्योङयाङमा आफ्नो प्रभाव पुनः स्थापित गर्न र उत्तरपूर्वी एसियामा आफ्ना रणनीतिक हित सुरक्षित गर्न खोजिरहेको छ ।

सीको भ्रमण बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएका उच्चस्तरीय भेटघाटपछि हुन लागेको हो । यसलाई चीनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आफ्नो भूमिका बलियो बनाउने प्रयासका रूपमा पनि हेरिएको छ ।

भ्रमणको घोषणा उत्तर कोरियाले आणविक बम निर्माणका लागि आवश्यक सामग्री उत्पादन गर्न सक्ने नयाँ सुविधा सार्वजनिक गरेको भोलिपल्ट गरिएको हो । दक्षिण कोरियाली सेनाले उक्त संरचनालाई युरेनियम संवर्धन केन्द्रका रूपमा मूल्यांकन गरेको छ ।

उक्त केन्द्रको निरीक्षणका क्रममा किमले देशको आणविक शक्तिलाई द्रुत रूपमा बढाउने योजना सार्वजनिक गरेका थिए । विज्ञहरूका अनुसार यसले सीको भ्रमणअघि उत्तर कोरियाले आफूलाई आणविक शक्ति राष्ट्रका रूपमा अझ बलियो रूपमा प्रस्तुत गर्न खोजेको संकेत दिएको छ ।

विश्लेषकहरूका अनुसार किम उत्तर कोरियालाई अन्तर्राष्ट्रिय रूपमा आणविक राष्ट्रका रूपमा स्वीकार गराउँदै प्रतिबन्ध हटाउन वा खुकुलो बनाउन चाहन्छन्। साथै भविष्यमा अमेरिकासँग हुने सम्भावित वार्तामा आणविक कार्यक्रमको आंशिक कटौतीको बदलामा राजनीतिक तथा आर्थिक रियायत प्राप्त गर्ने रणनीति पनि उनको हुन सक्ने आकलन गरिएको छ ।

सन् २०१९ मा ट्रम्पसँगको कूटनीतिक प्रयास असफल भएपछि किमले आणविक कार्यक्रम विस्तारलाई प्राथमिकता दिँदै आएका छन् । ट्रम्पले भने पुनः वार्ताको इच्छा व्यक्त गरिरहेका छन् । तर उत्तर कोरियाले अमेरिकाले आणविक निःशस्त्रीकरणलाई पूर्वसर्त बनाउन छाडेपछि मात्र सार्थक संवाद सम्भव हुने अडान राखेको छ ।

गत सेप्टेम्बरमा बेइजिङमा भेटवार्ता गर्दा सी र किमले आपसी सहयोग तथा समर्थन बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यतिबेला किम चिनियाँ सैन्य परेडमा सहभागी हुन बेइजिङ पुगेका थिए ।

रुस र चीनले विगतमा उत्तर कोरियामाथि थप कडा अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने अमेरिकी प्रयासहरूको विरोध गर्दै आएका छन् । गत महिना बेइजिङमा भएको भेटमा पुटिन र सीले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध, राजनीतिक अलगाव र सैन्य दबाब बढाउने गतिविधिको विरोधसमेत गरेका थिए।

पछिल्ला वर्षहरूमा किमले बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा उभिँदै अमेरिका र उसका साझेदार राष्ट्रहरूसँग तनावमा रहेका देशहरूसँग सम्बन्ध विस्तार गर्ने नीति अघि बढाएका छन् ।

कोभिड–१९ महामारीपछि विदेश भ्रमण घटाएका सीका लागि पनि यो भ्रमण महत्त्वपूर्ण मानिएको छ । विश्लेषकहरूका अनुसार उत्तर कोरियाको यो भ्रमणले चीन–उत्तर कोरिया सम्बन्ध मात्र नभई उत्तरपूर्वी एसियाको सुरक्षा र शक्ति समीकरणमा पनि नयाँ सन्देश दिनेछ ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ११ : ०७ बजे

गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो

जानकी– अत्यधिक गर्मी र बढ्दो तापक्रमले बाँकेमा आर्थिक तथा स्वास्थ्य

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

काठमाडौं– भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न क्षेत्रमा  भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

खिलराज रेग्मीको सुझाव : निरङ्कुशतातिर जान नदिन संविधानको मूल मर्मलाई तलमाथि नगरौँ

काठमाडौं- पूर्वप्रधानन्यायाधीश तथा पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन