काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले पनि भारतको भूभाग मिचेको अभिव्यक्ति दिएपछि श्रम संस्कृति पार्टीले निरन्तर सदन अवरोध गर्दै आइरहेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङ, महासचिव आरेन राई लगायतका नेताहरू सरकार लोकप्रियतावादमा फसेको र उम्लिएर अगाडि बढेको बताउँदै आएका छन् ।
सरकारले गरीखाने वर्गलाई उठिबास लगाएको र किसान मजदुरको पक्षमा कुनै पनि काम नगरेको श्रम संस्कृतिको विश्लेषण छ । सांसद एवम श्रम संस्कृति पार्टीका महासचिव आरेन राईसँग सरकारको १०० दिनको कामबारे खबरहबले गरेको छोटो संवाद-
सरकारको १०० दिनको काम कस्तो लाग्यो ?
ठीक र बेठीकको निष्कर्ष भन्दापनि सरकारले कस्तो कार्यशैली अपनाएर काम गर्यो भन्ने हो । सरकारले आशालाग्दो नयाँ काम केही गरेको देखिँदैन । सरकारले विशेषतः तल्लो तहको वर्गमाथि सरकारले निरन्तर खेदो खनिरहेको छ ।
त्यसो भए सरकारको काममा आशावादी हुनुहुन्न ?
आशावादी हुने केही कामै गरेको छैन । माथिल्लो वर्गलाई उकास्ने काम भयो, गरिखाने वर्गको उठिबास भयो । विद्यार्थी, युवा र किसान लक्षित कुनै पनि कार्यक्रम आएन ।
सरकारले के गर्नुपर्थ्यो ?
सरकारले सबैसँग मिलेर नउम्ली, नहौसी इमानदारीपूर्वक काम गर्नुपर्थ्यो । लोकप्रियता र तमासा छोडेर साँच्चिकै देश बनाउने काममा लाग्नुपर्छ। संयमित भएर दूरदर्शी ढङ्गले काम गर्नुपर्छ ।
यहाँहरू सरकारमा भएको भए १०० दिनमा के गर्नुहुन्थ्यो ?
हामी सरकारमा भएको भए पहिलो नम्बरमा सुकुम्वासीमाथि आक्रमण गर्दैनथ्यौँ । सीमा सम्बन्धी अपरिपक्व भावना व्यक्त गर्दैनथ्यौँ । सदनप्रति उत्तरदायी हुन्थ्यौँ र जनताको जनजीविकाका कुरा सम्बोधन गर्थ्यौँ ।
तल्लो तहका नागरिकसम्म जोडिएर उहाँहरूका समस्या पहिला समाधान गर्थ्यौँ । जेन-जी को भावनाअनुसार काम गर्थ्यौँ । युवालाई साँच्चिकै रोजगार स्थापना गर्न गाउँमा बाझिएका जमिनहरूको विषयमा कसरी युवालाई जोड्ने भन्ने विषयमा काम गर्थ्यौँ । किसानलाई बालीनालीको समस्यामा जङ्गली जनावरको आतंकले भोग्नुपरेको समस्या समाधान गर्नका लागि त्यही अनुसारको धपाउने उपकरणहरूको व्यवस्था गर्थ्यौँ ।
तर सरकारले त बिचौलिया हटाउने काम गरेको, जनमुखी काम गरिरहेका छौँ, विद्यार्थीहरूको नतिजा चाँडै निकाल्यौँ, १०० दिनमा जे काम गर्नुपर्ने थियो त्यो सबै वाचा अनुसार गरिराखेको दाबी गर्छ । यो त जनताकै हितमा भएन र ?
खोई हामीले यस बारेमा पनि राम्रो गरेको देखेनौँ । सञ्चारकर्मीहरूले राम्रो देख्नुभयो भने यहाँहरूको कुरा हो । रिजल्टमा पनि त समस्या भयो भनेर आन्दोलन भइरहेको छ ।
बिचौलियाहरु हटाएको विषयमा केही हदसम्म होला । नियुक्तिहरू हटायौँ भन्नुभयो तर धेरै ठाउँमा आफ्नै मान्छे नियुक्तिहरू गर्नुभयो भन्ने आयो । सरकार मैले अघि नै भने लोकप्रियतातर्फ बढी लागेर मेजर कामहरूमा चुकेको छ ।
अहिले बालीनाली लगाउने सिजन हो । किसानका के के समस्या छन् ? कस्ता कस्ता किसिमका कामहरू गर्दा कृषि बालीलाई प्रोत्साहन गर्न सकिन्छ । त्यसबारे न चिन्तन छ, न एक्सन नै ।
सरकारले यो यो काम गरिदिएको भए हुन्थ्यो भन्ने के छ ?
मुख्य कुरा सरकारले संयन्त्र अपनाउनु पर्यो धेरै उम्लिनु भएन । काम गर्नुअगाडि अध्ययन अनुसन्धान गर्नुपर्यो । जिस्ट कुरा पत्ता लगाएर मात्रै सरकार अगाडि बढ्नुपर्छ । सुकुम्वासीको विषय प्रवासमा, श्रमजीवी युवा वर्ग जाने सवाल, किसान मजदुरको सवालमा, बजेट बढाउने कुरामा सबैसँग समन्वय हुनुपर्यो ।
उहाँहरूले आफूलाई नयाँ हो भन्नुभयो । पुरानाकै ढर्रामा हिँड्नुभयो । खोइ त बजेट बनाउने विषयमा सल्लाह गर्नुभयो ? सल्लाह मात्रै गरिदिएको भए पनि त नयाँ हो भन्ने आभाष हुन्थ्यो । प्रधानमन्त्री र सरकार सदनप्रति खै त उत्तरदायी भएको ? जे कुरा पनि मैले मात्रै राम्रो गरेँ, मैले मात्रै नेपाली जनतालाई हित हुने काम गरेँ भन्न पाइन्छ ?
देशको विषयमा गम्भीर विवादमा प्रधानमन्त्री रहँदा खै त सदनमा आएर जवाफ दिएको ? प्रधानमन्त्री मात्रै होइन प्रधानमन्त्री सहित अरु सांसदहरूले पनि उहाँहरूलाई उत्तरदायी बनाउनु पर्दैन ? मन्त्रीहरूले उत्तरदायी बनाउनु पर्दैन ? राष्ट्रिय पार्टीले उत्तरदायी बनाउनु पर्दैन ?
उसो भए सरकारले पाँच वर्षमा जनताको जीवनस्तर उकास्न गरेको प्रतिबद्धता पूरा गर्छ जस्तो लाग्दैन ?
वाचापत्र अनुसार काम गरिसक्ने छाँटकाँट देखिएन । सरकारले मैमत्ता प्रवृत्ति बढी ल्यायो। सच्चिनुपर्छ। हौसिनुभएन । इमानदारितापूर्वक लाग्नुपर्यो । जनताका चाहना र भावनाअनुसार काम गर्नुपर्यो। युवालाई रोजगारी स्थापना गर्नुपर्यो । जनताका कुरा धेरैभन्दा धेरै सुन्नुपर्यो । सदनलाई सुन्नुपर्यो ।
कुनै पनि कुरालाई सरकारले ‘अन्डरमाइन्ड’ र ‘नर्मलाइजेसन’ गर्नुभएन । मैले अघि पनि भने १०० दिनमै सरकार उम्लिएको छ। पाँच वर्षमा पोखिने स्थिति छ। नेपाली जनता धेरै सहन सक्ने अवस्थामा छैनन् ।
हामीले सोचेका थियौँ- नयाँ दल आयो अब पाँच वर्ष उहाँले राम्रोसँग चलाउनुहोस् तर जनता र देशपट्टि पटक्कै उत्तरदायी भएन । मै मात्रै जान्ने मैले मात्रै गरेको राम्रो मैले मात्रै बोलेको राम्रो भन्ने तर्फ सरकार लाग्यो ।
सरकारको १०० दिनको काममाथि मात्र प्रश्न उठेको छैन ,आज राष्ट्रिय स्वतन्त्र पार्टी प्रति पनि प्रश्न उठेको छ । यही कार्यशैली अपनाउने हो भने जनता पाँच वर्षसम्म सहन सक्दैनन् पोखिन्छन् । त्यसकारण सरकारले कार्यशैली सुधारोस् ।












प्रतिक्रिया