अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित « Khabarhub

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको ज्वालामुखीय खरानीका कारण जकार्तास्थित सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलका उडानहरू अस्थायी रूपमा रद्द गरिएका छन् ।

इन्डोनेसियाको भू–गर्भ तथा ज्वालामुखीसम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धिमा रहेको अनाक क्राकाताउमा बिहान ३ः५३ बजे करिब ३० सेकेन्डसम्म विस्फोट भएको थियो । ज्वालामुखीको निगरानी क्यामेरामा विस्फोटसँगै लाभाको ज्वाला निस्किएको देखिएको थियो ।

विस्फोटबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने आदेश पनि दिएका छैनन् । तर, स्थानीय बासिन्दा तथा पर्यटकलाई ज्वालामुखीको सक्रिय क्रेटरबाट कम्तीमा तीन किलोमिटर टाढा रहन चेतावनी दिइएको छ ।

ज्वालामुखीको खरानी जकार्ता, बान्टेन, पश्चिम जाभा तथा सुमात्राको लाम्पुङलगायत क्षेत्रमा फैलिएको छ । सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलले आइतबार बिहान ५ः३० देखि ९ः३० बजेसम्म उडान सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ । त्यस क्रममा उडान रद्द तथा ढिलाइ हुँदा विमानस्थलमा यात्रुको चाप बढेको थियो ।

अधिकारीका अनुसार विमानस्थल बन्द हुँदा करिब २०९ उडान र २२ हजार ८०० यात्रु प्रभावित भएका छन् । प्रभावित उडानमा दक्षिण सुलावेसीको मकासार जाने व्यस्त आन्तरिक मार्ग तथा सिङ्गापुर जाने अन्तरराष्ट्रिय उडान प्रमुख छन् ।

हङकङ, सिड्नी, एम्स्टर्डम, सोल, दोहा र क्वालालम्पुर जाने उडानहरूमा पनि रद्द, ढिलाइ तथा समय परिवर्तन भएको छ । लाम्पुङ, बाली र सुराबायाका लागि निर्धारित केही आन्तरिक उडान रद्द वा अन्य विमानस्थलतर्फ मोडिएका छन् ।

इन्डोनेसियाको नागरिक उड्डयन महानिर्देशनालयले विमानस्थल, एयरलाइन्स, हवाई नेभिगेसन सेवा तथा मौसम विज्ञान निकायसँग समन्वय गर्दै अवस्थाको निगरानी गरिरहेको जनाएको छ ।

विमानस्थलमा रातभर पार्क गरिएका करिब १७० विमान पनि एप्रोनमै रोकिएका थिए । नागरिक उड्डयन विभागका महानिर्देशक लुकमान एफ लाइसाले उडान सञ्चालनसम्बन्धी हरेक निर्णयमा यात्रुको सुरक्षा प्राथमिकतामा रहेको बताएका छन् । 

एयरलाइन्सहरूले सेवा पुनः सञ्चालन गर्ने प्रयास गरिरहेकाले उडान तालिकामा थप ढिलाइ वा परिवर्तन हुन सक्ने उनले चेतावनी दिएका छन् ।

अधिकारीहरूले यात्रुलाई विमानस्थल जानुअघि सम्बन्धित एयरलाइन्ससँग उडानको पछिल्लो अवस्था बुझ्न र अत्यावश्यक नभए केही समय विमानस्थल नजान आग्रह गरेका छन् ।

इन्डोनेसियाको ज्वालामुखी एजेन्सी तथा अष्ट्रेलियाको डार्विन ज्वालामुखी खरानी सल्लाहकार केन्द्रले उपग्रहबाट प्राप्त तस्बिरका आधारमा दुईवटा खरानीका बादल पहिचान गरेका छन् ।

एउटा खरानीको बादल उत्तरपूर्वतर्फ सर्दै करिब २० हजार फिट (६,१०० मिटर) उचाइसम्म पुगेको थियो । यसले जकार्ता, बान्टेन र पश्चिम जाभाका केही क्षेत्रमा प्रभाव पारेको थियो ।

अर्को खरानीको बादल करिब ५० हजार फिट (१५,२०० मिटर) उचाइसम्म पुगेको र पश्चिम तथा उत्तरपश्चिमतर्फ फैलिएको थियो । यसले बान्टेन, लाम्पुङ र बेङ्कुलु प्रान्तसहित दक्षिणी सुन्डा जलसन्धि तथा सुमात्राको पश्चिमतर्फको हिन्द महासागर क्षेत्रलाई समेत प्रभावित गरेको जनाइएको छ ।

अनाक क्राकाताउको अर्थ ‘क्राकाताउको सन्तान’ हो । यो सन् १८८३ मा भएको विनाशकारी क्राकाताउ विस्फोटपछि बनेको ज्वालामुखी टापु हो ।

सन् २०१८ मा अनाक क्राकाताउको विस्फोटबाट आएको पानीमुनिको पहिरोले सुनामी निम्त्याउँदा जाभा र सुमात्रामा कम्तीमा ४३० जनाको मृत्यु भएको थियो ।

वैज्ञानिकहरूका अनुसार उक्त घटनामा ज्वालामुखीको दक्षिणपश्चिमी ढलानको ठूलो हिस्सा समुद्रमा खस्दा ठूलो मात्रामा पानी विस्थापित भएको थियो ।

अनाक क्राकाताउ हाल चार तहको चेतावनी प्रणालीमध्ये दोस्रो उच्च सतर्कता तहमा रहेको छ । वैज्ञानिकहरूका अनुसार विस्फोट र त्यसपछिका गतिविधिका कारण ज्वालामुखी टापु अहिले आफ्नो पुरानो आकारको करिब एक चौथाइमा सीमित भएको छ । रासस

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  १ : १४ बजे

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)