काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत महिला महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन् । मंगलबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालय पुगेर उनले मनोनयन पत्र दर्ता गराएकी हुन् ।
महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र दर्ता प्रक्रिया अघि बढाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिए । निर्वाचन समितिले मनोनयनका लागि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ ।
यस पटक कांग्रेसले आफ्नो सांगठनिक ढाँचा र पदाधिकारी संख्यामा व्यापक हेरफेर गरेको छ । नयाँ व्यवस्थाअनुसार पदाधिकारी संख्या १४ बाट बढाएर २५ पुर्याइएको छ भने केन्द्रीय कार्यसमिति १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ ।
विधानको परिमार्जित व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपेर उपसभापतिको संख्या चार पुर्याइएको छ । त्यसैगरी महामन्त्री संख्या तीन बनाउँदै एक महिला महामन्त्री अनिवार्य गरिएको छ । सोही प्रावधानअनुसार नेतृ संग्रौलाले महिला महामन्त्रीमा उम्मेदवारी दिएकी हुन् ।
त्यस्तै, सहमहामन्त्रीको संख्या १५ पुर्याइएको छ । जसमा दुई खुला, विभिन्न क्लस्टरबाट ९ र एक महिलासहित ४ जना मनोनयन हुने व्यवस्था छ । पार्टीमा प्रवक्ता पद थपिनुका साथै आवश्यकताअनुसार सहप्रवक्तासमेत मनोनयन गरिने जनाइएको छ ।
नयाँ नेतृत्व चयनका लागि कुल ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । उम्मेदवारी दर्ताका लागि सभागृह परिसरमै प्रभु बैंकको काउन्टरमार्फत तोकिएको शुल्क बुझाएर रसिद लिने व्यवस्था मिलाइएको छ । प्रतिनिधि र समावेशी सहभागिता बढेकाले केन्द्रीय समिति तथा पदाधिकारीको आकार बढाइएको कांग्रेसले जनाएको छ ।














प्रतिक्रिया