‘महामन्त्रीमा मेरो जित निश्चित छ’ « Khabarhub

‘महामन्त्रीमा मेरो जित निश्चित छ’


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सोमबारदेखि बन्दसत्र चलिरहेको छ । यतिबेला पार्टीमा विभिन्न पदका आकांक्षीले आफ्नो उम्मेदावरी दर्ता गरिरहेका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका सभापति जिम्मेवारी सम्हालिसकेका अमरसिंह लामाले पनि पार्टीको महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी दिएका छन् । पार्टीको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्म विशेष भूमिका निर्वाह गरेका पुनसँग समसामयिक सन्दर्भमा रहेर खबरहबका लागि नारायण अर्यालले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश-

बन्दसत्रमा सभापतिले आफ्नो राजनीतिक प्रतिवेदन हिजो नै प्रस्तुत गर्नुभएको छ । कांग्रेसको तेस्रो पुस्ता नेतृत्वमा आएको छ । सभापतिको राजनीतिक प्रतिवेदन कस्तो छ ?

विशेष गरी बदलिँदो परिस्थितिमा हाम्रो महाधिवेशन भइरहेको छ । सभापतिले इतिहासलाई व्यवस्थापन गर्दै पार्टीलाई समयसापेक्ष बनाउन राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । र, त्यो अब साथीहरुबीचमा छलफल भई निष्कर्ष निकालेर केही परिमार्जन गरी पास होला ।

अहिलेको राजनीतिक परिस्थिति हेर्ने हो भने राणा शासन होस्, चाहे पञ्चायत होस्, विभिन्न राजनीतिक घटनाक्रम, द्वन्द्व अथवा संविधानसभाबाट संविधान जस्ता परिवर्तनको नेतृत्व कांग्रेसले गर्‍यो, अहिले समय परिस्थितिका कारण कांग्रेसको साइज अलि सानो भएको छ ।

तर, सभापतिले कांग्रेसको मुद्दा, एजेन्डा, दस्तावेज अनुसार पार्टीको विचार अनुसार देशको शासन सत्ता, संसदीय व्यवस्थादेखि हरेक कुरा समय सापेक्ष हुनुपर्छ भन्ने किसिमको राजनीतिक प्रस्ताव पेस गर्नुभएको छ । हाम्रो आर्थिक नीति समय सापेक्ष हुनुपर्छ, नागरिकका हक अधिकारहरू सुनिश्चित गर्नुपर्छ, सेवा दिने क्रममा पनि सरकार र नागरिकबीचको सम्बन्ध सुमधुर हुनुपर्छ, अरू दलहरूसँगको सम्बन्धलाई पनि फरक ढंगले समय सापेक्ष बनाउनुपर्छ भन्ने किसिमको प्रतिवेदन छ ।

त्यो राजनीतिक प्रतिवेदनबारे साथीहरूबीच छलफल चलिरहेको छ । त्यसलाई थोरै परिमार्जन गरी पास गर्ने कुरा छ । र, विशेष गरी अब कांग्रेसले फरक ढंगले पछिल्लो दिनमा समावेशी सिद्धान्त जुन आएको छ, समावेशी भौगोलिक प्रतिनिधित्व, जातीय प्रतिनिधित्व, धार्मिक प्रतिनिधित्व गराउने संविधान अनुसारको विषय पार्टीभित्र छ । महामानव बीपी कोइरालाले परिकल्पना गरेको बेलामा समावेशी सिद्धान्त थिएन । तर, पनि उहाँले जनजाति, दलितदेखि सबैलाई मिलाएर कांग्रेस पार्टीमा मूलधारको नेतृत्वमा ल्याउनुभएको थियो । त्यही रूपमा अहिले हामीले पनि अभ्यास गरेका छौँ ।

हामीले धेरै पद पनि सिर्जना गरेका छौँ । समावेशीबाट पनि उपसभापति बन्ने, महिला उपसभापति बन्ने, महिला महामन्त्री बन्ने, महिला सहमहामन्त्री बन्ने, समावेशी सिद्धान्त अथवा पछाडि परेको वर्ग, अपाङ्ग, युवा, सबै पेशाकर्मीहरूदेखि बौद्धिक सर्कललाई पनि पार्टीभित्र काम गर्ने किसिमले हामीले विधान बनाएका छौँ ।

यतिबेला पार्टीको एउटा हिस्सा, पार्टीमा योगदान पुर्‍याएका थुप्रै नेताहरू महाधिवेशन प्रक्रियाबाहिर हुनुहुन्छ, यो विषयलाई लिएर कस्तो अनुभव भइराखेको छ ? अरु सहभागीको प्रतिक्रिया कस्तो छ ?

केही संख्या होला, केही संख्या बाहिर रहँदा सबैलाई राम्रो त लाग्या छैन । मलाई मात्र होइन कि सबै साथीहरूलाई पनि त्यो राम्रो लाग्ने कुरा भएन । लामो समय पार्टीमा संघर्ष गर्नुभएका, योगदान दिनुभएका हाम्रा आदरणीय अभिभावक नेताहरू बाहिर बस्नु हुँदैनथ्यो, आउनुपर्थ्यो र हाम्रो अभिभावकत्व लिइदिनुपर्थ्यो । सभापतिलगायत सबैले अनुरोध गर्नुभयो, हामीले पनि आ–आफ्नो ठाउँबाट कुरा गर्‍यौँ । तर आउनुभएन ।

उहाँहरूले यो परिस्थितिलाई ख्याल गरेर पार्टीमा लामो समय योगदान पनि दिनुभयो । त्यही अनुसार उहाँहरूले पार्टीकै कारण विभिन्न पदीय दायित्वमा पनि बस्नुभयो, सामाजिक रूपमा चिनिनुभयो । पदीय दायित्वमा कोही उपप्रधानमन्त्री हुनुभयो होला, कोही मन्त्री हुनुभयो होला, कोही उपसभापति हुनुभयो होला, कोही सभापति हुनुभयो होला, कोही प्रधानमन्त्री, ती सबै कुरा पाउने अवसर यही पार्टीले दिएको हो । अब जीवनको उत्तरार्द्धमा अलग बसेर फरक किसिमले काम गर्छु भन्ने उहाँहरूलाई नैतिकताले नदिनुपर्ने हो, त्यो सोच पनि नलिनुपर्ने हो ।

देशले सकारात्मक सोचका साथ समय सापेक्ष परिवर्तन खोजेको छ । विश्वमा अब परिवर्तनको राजनीति अगाडि बढेको छ भने नेपालमा पनि सबैले परिवर्तन खोजेको छ । हाम्रो पार्टीभित्र पनि परिवर्तनको नेतृत्व अब छोराकै समान होनहार एउटा युवा पार्टी सभापति हुनुभएको छ । गगन थापा नेपाली कांग्रेसका लागि मात्र होइन समग्र देशकै लागि आवश्यकताको पात्र हो ।

त्यसकारण पार्टीभित्र त्यो पात्रलाई सभापति मानेर, सहकार्य गरेर एकताबद्ध रूपमा जानुपर्थ्यो, उहाँहरू आउनुभएन । दुःख चाहिँ लागेको छ तर बाहिर हुँदा पनि अर्को किसिमको गतिविधि नगरेर, अर्को पार्टी निर्माण नगरेर फेरि पनि यही पार्टीभित्र कतै न कतै संवाद गरेर आउनलाई पनि मैले आग्रह गर्छु । लामो इतिहास बोकेका नेताहरू इतिहास नै मेटाउने गरी फरक ढंगले बस्नु हुँदैन भन्ने मेरो मान्यता हो ।

उम्मेदवारी दर्ताको प्रक्रियमा सबैले आ–आफ्नो ठाउँबाट विभिन्न पदमा आकांक्षा राखेर उम्मेदवारी घोषणा गरिरहनुभएको छ, आकांक्षा राख्नेहरूको संख्या हेर्दा प्रतिस्पर्धा निकै चुनौतीपूर्ण हुने जस्तो देखिएको हो ?

त्यस्तो चुनौतीपूर्ण छैन । मलाई लाग्छ ११ औँ महाधिवेशनमा त्यति ठूलो भएन । १२ औँ र १३ औँ महाधिवेशनमा प्रतिस्पर्धा भयो, मैले त १० औँ महाधिवेशनदेखि देखेको छु । कांग्रेसको राजनीतिमा म आफैँ संलग्न भएर हिँडेको छु । १२औँ, १३औँ जस्तो प्रतिस्पर्धा गुटगत रूपमा एकदम फरक–फरक टिमगत रूपमा जसरी उम्मेदवारी, जसरी प्रतिस्पर्धा हुन्थ्यो त्यो चाहिँ अहिले छैन ।

वडा तहदेखि ६,७४३ वडा अधिवेशन भए र ७५३ पालिकामा अधिवेशन भए, ३३० प्रदेश निर्वाचन क्षेत्रीय सभामा निर्वाचन भए, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन भएको छ र महाधिवेशन प्रतिनिधि चुनिनुभएको छ । अधिकांश ठाउँमा प्रतिस्पर्धा नभई सहकार्य, एकता, सहमति, सर्वसम्मत रूपमा नेतृत्व चयन भएर आउनुभएको छ । केही ठाउँमा लोकतान्त्रिक पद्धति अनुसार आन्तरिक प्रतिस्पर्धा गर्नुभएको छ ।

कुनै बेला शेरबहादुर देउवा भर्सेज सुशील कोइराला, सुशील कोइराला भर्सेज शेरबहादुर देउवा हुन्थ्यो । कुनै बेला शेरबहादुर देउवा भर्सेज रामचन्द्र पौडेल भयो । कुनै बेला शेरबहादुर देउवा भर्सेज शेखर कोइराला भयो । त्यतिखेर आन्तरिक चुनाव अधिवेशन पनि निकै प्रतिस्पर्धात्मक हुन्थ्यो । अहिले कुनै खालको प्रतिस्पर्धा छैन । आज हाम्रो नेता श्रद्धेय सभापति गगन कुमार थापाको नेतृत्व सबैले सर्वस्वीकार्य मान्नुहुन्छ । र, अरू पदमा चाहिँ थुप्रै साथीहरू आकांक्षी छन् । हाम्रो विधानले ३५ वर्षभन्दा तलका साथीहरू युवाहरूलाई पनि प्रत्येक प्रदेशबाट तीन–तीन जना, एकजना महिलासहित तीन–तीन जना हुने व्यवस्था गरेको छ । अनि विभिन्न सेक्टरबाट ट्रेड युनियनदेखि विज्ञ, प्रजातन्त्र सेनानी, सहिद परिवार, लगायत सबै समूहलाई हामीले क्लस्टर छुट्याएका छौँ । सबैलाई क्लस्टरवाइज समावेश गराउने भएकाले कारणले गर्दा ठूलो संख्यामा पार्टीका साथीहरू उम्मेदवारी दिन तयारी छन् ।

केन्द्रीय समितिमा जानलाई १० वर्ष पार्टीमा काम गरेको क्रियाशील भएको चाहिन्छ, १५ सयले त्यो १० वर्ष प्रमाणित गरेर राख्नुभएको छ । भनेपछि १२–१५ सयको उम्मेदवारी कांग्रेसको यसपालिको महाधिवेशनमा उम्मेदवारी त पर्नेवाला छ । अनि यो चाहिँ नेतृत्वमा होडबाजी त छ तर फेरि त्यहाँनिर टिम छैन ।

गगन थापाको नेतृत्वमा केही महिनादेखि यताको प्रक्रियाबाट तपाईंहरू औपचारिक रूपमा १५ औँ महाधिवेशनमा प्रवेश गर्नुभएको छ । अहिले गुट देखिइहालेको छैन, तर नेतृत्व चयनमा आकांक्षा राख्नेहरूले त आफ्नो होमवर्क गर्लान् नि । विस्तारै गुटहरु पनि चलिरहेका होलान् नि भित्रभित्रै ?

स्वाभाविक रूपमा आफू सफल हुनलाई म लुम्बिनीको मान्छेले कोशीको साथीहरूसँग समन्वय नगरे कोशीको मत आउँदैन नि । मैले कर्णालीको समन्वय गरेन भने कर्णालीको मत आउँदैन । मेरो लुम्बिनीबाट उहाँहरूलाई सहयोग गर्ने, उहाँहरूबाट मैले सहयोग लिने भइहाल्छ । मधेसका साथीहरूसँग समन्वय गरेर सहयोग गर्नुपर्‍यो र मधेसका साथीहरूले मलाई सहयोग गर्नुपर्‍यो । बागमतीका साथीहरूलाई सहयोग गर्नुपर्‍यो, गण्डकीका साथीहरूलाई सहयोग गर्नुपर्‍यो र लिनुप¥यो । त्यसकारण त्यो कुरा त आफू सफल हुनलाई सानो थोरै फरक खालको टिम त बन्छ । तर हिजोजस्तो भर्टिकल चाहिँ हुँदैन । आम निर्वाचनभन्दा बढी कडा चाहिँ प्रतिस्पर्धा चाहिँ यसपाली हुँदैन । यसपाली अस्वस्थ नभएर फरक ढंगले प्रतिस्पर्धा हुन्छ ।

तपाईं आफूले पनि अब महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको छ । तपाईंले आफ्नो उम्मेदवारी घोषणा गरिराख्दा मेरो उम्मेदवारी यस कारणले भन्ने तर्क के छ ? अनि तपाईंलाई महाधिवेशन प्रतिनिधिहरूले महामन्त्रीमा विजयी चाहिँ किन गराउने ?

मेरो तर्क पहिलो त यस्तो छ- यो पार्टीमा लामो समय मैले विभिन्न तहमा रहेर काम गरेँ । चाहे जिल्लामा रहोस्, चाहे प्रदेशमा, चाहे केन्द्रमा मैले थुप्रै नेताहरूसँग विशेषगरी सुशील कोइरालापछिका नेताहरूसँग नजिक भएर काम गर्ने मौका पाएँ । मलाई लाग्छ यो पार्टीभित्रको आन्तरिक संगठनको गतिविधिमा मलाई एक दम ठूलो ज्ञान छ । त्यसकारण संगठनलाई अझ चुस्त दुरुस्त बनाएर समयसापेक्ष, हिजोको कार्य अनुभवको आधारमा अहिलेको समय सापेक्ष पार्टीका साथीहरूलाई व्यवस्थापन गरेर लान सक्छु भन्ने मलाई आँट छ ।

दोस्रो कुरा, तल्लो तहमा बसेर पनि मैले संगठन सञ्चालन गरेको कारणले गर्दा तल्लो तहका साथीहरूका पीरमर्का के छन् , के गर्दा पार्टीका साथीहरूलाई संगठन गर्न, काम गर्न, पार्टी संगठन चलाउन सकिन्छ भन्ने कुरा मलाई थाहा छ । म अरू जस्तो सम्पर्कविहीन हुने, साथीहरूसँग समन्वय नगर्ने होइन । म २४ घण्टा औकातले भ्याएसम्म पार्टीका साथीहरूको हर दुःख–सुखमा म साथमा छु । त्यसकारण पनि मेरो कार्य क्षमतालाई उहाँहरूले बुझ्नुभएको छ ।

अर्को कुरा, म रोल्पा जिल्लाको मान्छे । रोल्पा १० वर्ष सशस्त्र द्वन्द्वले छियाछिया भएको जिल्ला हो । मभन्दा सिनियर साथीहरूले १२१–२२ जना त्यतिखेर माओवादी द्वन्द्वको कारणले गर्दा अकालमा ज्यान गुमाउनुपर्‍यो । त्यत्रो पीडा भोगेको जिल्लाको मान्छे हुँ । त्यसकारण पनि देशव्यापी रूपमा पार्टीका साथीहरूले त्यो पीडालाई पनि बुझ्नुभएको छ । रोल्पाको संगठनको मर्म भावनालाई पनि बुझ्नुभएको छ । मलाई लाग्छ त्यो भावनाले पनि महामन्त्रीमा अमरसिंह पुनलाई एउटा मत किन नदिने भन्ने कुरा सबैलाई मनदेखि आउँछ ।

त्यस्तै, बीपी कोइरालाले हिमाल, पहाड, तराई सबैलाई मिलाएर जुन खालको संगठनको निर्माण गर्नुभएको थियो । जातजाति, धर्म, संस्कृति सबै जगेर्ना गर्ने खालको परिकल्पना जे थियो, वास्तवमा मेरो उम्मेदवारीमा त्यो पनि देखिन्छ । म मगरको छोरो, कांग्रेस पार्टीभित्र मगर जातको अलि माथिल्लो नेतृत्वमा कहिल्यै पनि सहभागिता भएको छैन । गगन थापाको नेतृत्वमा विभिन्न जातमध्ये मगरको छोरो अमरसिंह पुन मगरलाई पनि हामीले महामन्त्रीमा राख्यौँ भन्ने खालको इतिहास पनि रचिन्छ । त्यस कारण पनि मेरा आदरणीय नेताहरूले वास्तवमा मलाई नै सपोर्ट गर्ने प्रबल सम्भावना छ ।

साथै, विशेष महाधिवेशनदेखि अथवा विभिन्न खालको रूपमा पार्टीका गतिविधिमा मैले विशेष भूमिका खेलेको छु । विशेष महाधिवेशनमा म आफैँले धेरै मेहनत गरेर सफल बनाउनमा मूल व्यवस्थापन समितिको मूल मान्छे भएर काम काम गरेको छु । आज आदरणीय सभापतिज्यूले हाम्रा कार्डमा हस्ताक्षर गर्नुभएको छ, त्यतिखेर हस्ताक्षर गर्ने पनि मै नै हो ।

त्यसकारण सबै पार्टीका साथीहरू, १६५ निर्वाचन क्षेत्रबाट आउने, ७५३ पालिकाबाट आउने, अर्को ३३० प्रदेश निर्वाचन क्षेत्रबाट आउने साथीहरूलाई त्यो राम्रो ज्ञान छ, थाहा छ । र विश्व जगतमा जनसम्पर्क समितिबाट आउने, भ्रातृ संगठनबाट आउने प्रतिनिधिलाई पनि अमरसिंह पुनको कार्यदक्षता, अमरसिंह पुनले पार्टीभित्र पुर्‍याएको योगदान, बदलिँदो परिस्थितिमा गरेको योगदानलाई पनि आधार बनाएर यसपालि महामन्त्रीमा मलाई अत्यधिक साथीहरूले मद्दत गर्नुहुन्छ भन्ने विश्वासका साथ पनि मैले मेरो उम्मेदवारी तय गरेको हुँ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ७ : ०२ बजे

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौँ नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा