काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टी सुसंस्कृत मानिसहरूको पार्टी भएको उल्लेख गर्दै पार्टीमा अरू सबै समाप्त होउन् भन्ने सोच नरहेको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् । मंगलबारको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनबारे केन्द्रित रहेको भन्दै मतभारको आधारमा अन्य दलहरूसँग सहकार्य हुने संकेत गरे ।
‘हामी कसैप्रति पनि नकारात्मक टिप्पणी गर्दैनौँ । नेपाली संस्कृति पार्टीको संस्कार नै सुसंस्कृत छ । त्यसो भएको हुनाले हामी अरुको बदख्वाइँ गर्ने, निन्दा गर्ने, अरु सबै सिद्धिउन् भन्ने खालको सोच पनि राख्दैनौँ,’ नेता नेपालले भने, ‘हामी फराकिलो हृदय भएका मानिसहरू हौँ ।’
आफ्नो समय देश र जनताको सेवामा समर्पित गरेको भन्दै नेता नेपालले कसैसँग पनि डराउनुपर्ने अवस्था नरहेको बताए । सबै राजनीतिक शक्ति र व्यक्तिले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने उनको भनाइ छ ।
‘नयाँ सबै देखिसकिएका छन्, हामीले नै जन्माएका सन्तान त हुन् नी । अनि किन डराउने ? आफूले गल्ती गरेको छ भने डराउने हो । विचारमा, सिद्धान्तमा, काममा देखिएकै छन्,’ नेता नेपालले भने, ‘त्यसकारण हामीले आफ्नो समय देश र जनताको समर्पित गरेका छौँ । र, सबैले देश र जनतालाई केन्द्रबिन्दुमा राखुन् भन्ने चाहन्छौँ ।’













प्रतिक्रिया