कांग्रेसले १६५ क्षेत्रमा खटाएका निर्वाचन कमाण्डरले के काम गर्छन् ? « Khabarhub

कांग्रेसले १६५ क्षेत्रमा खटाएका निर्वाचन कमाण्डरले के काम गर्छन् ?

यस्ता छन् गगन-विश्वले दिएका १२ जिम्मेवारी



काठमाडौं – नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई तलसम्म सक्रिय बनाउन १६५ वटै निर्वाचन क्षेत्रमा कमाण्डर खटाएको छ । मंगलबार मात्रै सहमहामन्त्री डा. डिला संग्रौला र अर्जुननरसिंह केसी लगायत नेताले विभिन्न क्षेत्रमा जिम्मेवारी पाइसकेका छन् ।

निर्वाचन प्रचार–प्रसारको मुख्य जिम्मेवारी पाएका उपसभापति विश्वप्रकाश शर्माले ६३ जना परिचालकलाई देशभरका १६५ वटै क्षेत्र हेर्ने जिम्मेवारी दिएका हुन् । आफूलाई ‘बदलिएको कांग्रेस’ दाबी गर्दै आएको नयाँ नेतृत्वले अधिकतम् मत तान्न संगठनात्मक र रणनीतिक तयारीलाई तीव्र बनाएको दाबी गर्दै आएको छ ।

परिचालक खटाउनुअघि नै शर्माले निर्वाचन अभियानलाई प्रभावकारी बनाउन सचिवालय, निर्वाचन परिचालन मूल समिति र प्रचार–प्रसार समिति गठन गर्न परिपत्र गरेका थिए ।

जसमा १२ वटा मुख्य काम तोकिएको छ । क्षेत्रगत उपसमिति, स्थानीय तह, बौद्धिक, सामाजिक युवामुखी अभियानमार्फत समन्वय, परिचालन र अनुगमन गर्दै पार्टीलाई सुदृढ बनाउने शर्माको लक्ष्य देखिन्छ ।

यसलाई लिएर पार्टीभित्र र बाहिर विभिन्न टिकाटिप्पणी भइरहेको छ । जसमा प्रवक्ता देवराज चालिसेले यो प्रक्रिया पार्टीको आन्तरिक संरचना मजबुत बनाउने नियमित अभ्यास भएको बताउँछन् ।

‘निर्वाचन नजिकिँदै गर्दा पार्टीको जिम्मेवारी तलसम्म कसरी चलेको छ भन्ने बुझ्नका लागि मात्रै निर्वाचन परिचालन समिति बनाइएको हो’, चालिसेले भने, ‘यो अस्थायी प्रकृतिको संरचना हो, कुनै विशेष निर्णय लाद्‍न वा केन्द्रबाट निर्देशन थोपर्न बनाइएको होइन।’

उनले कमाण्डर परिचालकको मुख्य काम टोलदेखि केन्द्रसम्म पार्टीका संरचना सक्रिय छन् कि छैनन् भन्ने मूल्यांकन गर्नु रहेको बताएका छन् ।

‘टोल, वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश हुँदै भ्रातृ र शुभेच्छुक संगठन गठन र परिचालन भएका छन् कि छैनन, छैनन् भने किन छैनन् भन्ने समस्या पहिचान गर्नु परिचालकको भूमिका हो,’ उनले भने ।

परिचालकले केन्द्रबाट निर्णय गराउनेभन्दा पनि स्थानीय स्तरमै सुधारका सुझाव दिने र नेतृत्वलाई वस्तुगत रिपोर्ट प्रस्तुत गर्नेछन् । ‘उहाँहरूले समन्वयकारी भूमिका खेल्नुहुन्छ, सुधारका उपाय सुझाउनुहुन्छ र नेतृत्व तहसम्म तथ्यसहित रिपोर्ट गर्नुहुन्छ,’ उनले स्पष्ट पारे ।

यस अभियानमा अनुभवी नेतादेखि नयाँ पुस्तासम्मलाई समेट्ने प्रयास गरिएको चालिसेले बताए । ‘लामो समयदेखि संघर्ष गरेका अनुभवी नेताको ज्ञान निर्वाचन रणनीतिमा उपयोग भएको छ कि छैन, जेन–जी पुस्ता, महिला र अन्य वर्ग समेटेर समावेशी प्रचार समिति बनेको छ कि छैन भन्ने पनि अध्ययन र मूल्यांकन गरिनेछ,’ उनले सुनाए।

एक निर्वाचन क्षेत्रमा एक हप्ताभित्र काम सकेर परिचालकलाई पुनः अर्को भेगमा खटाइने कार्यतालिका रहेको जानकारी दिँदै चालिसेले यसलाई संगठन सुदृढीकरणको निरन्तर प्रक्रिया भएको उल्लेख गरे ।

कांग्रेसले अघि सारेको यो संरचनात्मक सक्रियताले पार्टीको आन्तरिक मेलमिलाप, संगठनात्मक अनुशासन र चुनावी तयारीलाई थप मजबुत बनाउने उनले बताए ।

के लेखिएको छ परिपत्रमा ?

विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि कांग्रेसले कसरी चुनावी रणनीति बनाइरहेको छ भनेर धेरैले चासोका साथ हेरेका छन् । पछिल्लो समयका कांग्रेसको परिपत्रमा लेखिएको कुरा बुँदामा निम्न अनुसार उल्लेख गर्न सकिन्छः

१) निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन अभियानलाई व्यवस्थित बनाउन ५/७ जनाको सानो संख्यामा सचिवालय गठन गर्ने ।

सचिवालयले निर्वाचनमा पार्टीको कार्यालय, आन्तरिक व्यवस्थापनदेखि सार्वजनिक प्रस्तुतिसम्मका सबै कार्यको समन्वय र आवश्यक निर्णय गर्ने ।

२) निर्वाचन परिचालन मूल समिति

मूल समिति अन्तर्गत-
क) सार्वजनिक कार्यक्रम व्यवस्थापन उपसमिति
ख) महिला समन्वय उपसमिति
ग) तरूण स्वयंसेवक समन्वय र व्यवस्थापन उपसमिति
घ) श्रमिक क्षेत्र समन्वय र परिचालन उपसमिति
ङ) कृषि क्षेत्र, कृषक समन्वय र परिचालन उपसमिति
च) भ्रातृ संस्था समन्वय र परिचालन उपसमिति
छ) शुभेच्छुक संस्था समन्वय र परिचालन उपसमिति
(यी उपसमितिका अलवा स्थानीय भूगोलको जनसंख्या हेरेर संविधानको क्लष्टर बमोजिमका थप उपसमिति गठन गर्ने)


३) निर्वाचन प्रचार प्रसार मूल समिति
यो समिति केन्द्रीय प्रचार प्रसार समितिसँग प्रत्यक्ष सम्पर्क र समन्वयमा रहनेछ ।
क) मिडिया समन्वय उपसमिति
ख) सामाजिक सञ्जाल समन्वय उपसमितिः सामाजिक सञ्जालको टिममा नवयुवाहरुलाई अग्रसर गराउने ।

४) स्थानीय तह समन्वय समिति :
निर्वाचन आचारसंहित उल्लंघन नहुने हदसम्म स्थानीय तहमा निर्वाचित साथीहरु पार्टीको विजयी अभियानमा सरिक हुनेछन् । यो समितिमा पार्टी प्रतिनिधि एवं स्थानीय तहका साथीहरु सहभागी रहनु हुनेछ ।

५) बौद्धिक क्षेत्र समन्वय समिति
सम्बन्धित भूगोलका सबै बौद्धिक संस्था र व्यक्तित्वसँग समन्वय र सहकार्य यो समितिले गर्नेछ ।

६) सामाजिक संघ–संस्था समन्वय समिति
हरेक निर्वाचन क्षेत्रमा दर्जनौं सामाजिक संघ–संस्था अस्तित्वमा हुन्छन्, तिनको मुद्दा आत्मसात गर्न र चुनावमा समर्थन साथ लिन यो समितिले कार्य गर्नेछ ।

७) धार्मिक संघ–संस्था समन्वय समिति
निर्वाचन क्षेत्रमा रहेका विभिन्न धर्म र सम्प्रदायसँग सम्बन्धित संस्था र व्यक्तिसँग भेटघाट र समन्वय गरेर पार्टीको विजय अभियानमा समर्थन जुटाउने कार्यमा यो समिति क्रियाशील हुनेछ ।

८) निजी क्षेत्र समन्वय समिति
निर्वाचन क्षेत्रमा रहेका उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित संस्था र व्यक्तिहरुसँग समन्वय गर्ने । ठूला उद्योगीदेखि साना व्यवसायी, खुद्रा व्यापार व्यवसायमा संलग्न सबैलाई सम्पर्क र समन्वय यो समितिले गर्नेछ ।

९) १८–३० विशेष अभियान
१८ वर्ष माथि ३० वर्षमुनिका नवयुवालाई सहभागी बनाएर समिति गठन गर्ने र १८–३० विशेष अभियान चलाउने ।
१०) पूर्वआप्रवासी समन्वय समिति : विदेशबाट फर्किएका युवा र अन्यलाई सम्पर्क, समन्वय र परिचालनको कार्य यो समितिले गर्नेछ । विदेशबाट फर्किएका साथीहरुको सहभागिता गराएर यो समितिलाई विस्तार गर्नु पर्नेछ ।

११) स्थानीय प्रशासन समन्वय समिति
निर्वाचनलाई भय रहित र शान्तिपूर्ण बनाउन राजनैतिक दलहरूले स्थानीय प्रशासनसँग जरुरी सहकार्य गर्नुपर्ने हुन्छ, पार्टीको यो समितिले स्थानीय प्रशासनसँग पार्टीका तर्फबाट आवश्यक समन्वय गर्नेछ ।

१२) अनुगमन समिति
अग्रज व्यक्तित्वको संयोजकत्वमा एक अनुगमन समिति गठन गर्ने । समितिले चुनावका लागि गठित विभिन्न समिति, उपसमिति र पार्टीका अन्य सबैको कार्य अनुगमन गरेर आवश्यक सुधार गर्नुपर्ने बिषयहरुमा सुझाव दिने र प्रेरित गर्ने कार्य गर्नेछ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ३ : २३ बजे

समाचारबारे अनुगमन भइरहेको छ, आचारसंहिता कडाइसाथ लागू गर्छौँ : आयुक्त भण्डारी

भक्तपुर– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

राष्ट्रिय निकुञ्जसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी

चन्द्रगढी विमानस्थलमा उत्रिँदै ओलीले भने : यस पटक झापा सूर्यमय हुन्छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय

राष्ट्रियसभामा उठ्यो फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ताको विषय

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी र लुटिएका

दैनिक प्रयोग गर्ने टुथपेष्टमा सिसा भेटिनु गम्भीर चिन्ताको विषय : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्त मञ्जन, लिपस्टिक,