गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ? « Khabarhub

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गोरखामा १२ दलका उमेदवारले आफ्नो उमेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (माओवादी), उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, संयुक्त नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेसनल रिपब्लिक नेपाल र आम जनता पार्टीका उमेदवारले मनोनयन दर्ता गराएका हुन् ।

संयुक्त नागरिक पार्टीले क्षेत्र नम्बर १ मा मात्र उमेदवारी दर्ता गरेको छ भने आम जनता पार्टीको तर्फबाट क्षेत्र नम्बर २ मा मात्र उमेदवारी परेको छ । तत्कालीन नेकपा (माओवादी केन्द्र)को राम्रो प्रभाव रहेको गोरखामा एमालेले भने हालसम्म कुनै पनि चुनाव जित्न सकेको छैन ।

गोरखा–१ का प्रतिस्पर्धीहरू को–को हुन् ?
गोरखा–१ मा कांग्रेसबाट प्रेमकुमारी खत्री, नेकपाबाट हरिराज अधिकारी, एमालेबाट आरसी लामिछाने, रास्वपाबाट सुधन गुरुङ, नेकपा (माओवादी) बाट विष्णुप्रसाद रिजाल, उज्यालो नेपाल पार्टीबाट रामकाजी राना मगर, राप्रपाबाट केदारमणि खनाल, नेमकिपाबाट मनुकुमारी श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनबाट देवबहादुर थापा, संयुक्त नागरिक पार्टीबाट जितबहादुर घले र नेसनल रिपब्लिक नेपालबाट आकाश रानामगरले उमेदवारी दिएका छन् । 

आसन्न निर्वाचनका निम्ति जिल्लाबाट दुवै क्षेत्रमा तीनजनाले स्वतन्त्र उमेदवारी दिएका छन् । गोरखा–१ मा कविता भट्टराई स्वतन्त्र उमेदवार छिन् । भट्टराई गोरखा नगरपालिका–१ की हुन् ।

गोरखा–२ बाट को–को लड्दै छन् ?
गोरखा–२ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपाबाट लेखनाथ न्यौपाने, एमालेबाट मिलन गुरुङ (चक्रे मिलन), रास्वपाबाट कविन्द्र बुर्लाकोटी, राप्रपाबाट कुलबहादुर बस्नेत, नेकपा (माओवादी)बाट टेकबहादुर प्रधान, उज्यालो नेपाल पार्टीबाट बलराम तामाङ, नेमकिपाबाट रामशरण बुढाथोकी, मंगोल नेसनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङ, नेसनल रिपब्लिक नेपालबाट प्रसाद गुरुङ र आम जनता पार्टीबाट कल्पना कुमालले उमेदवारी दर्ता गरेका छन् । 

यसअघि पटक–पटक पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जित्दै आएको क्षेत्र पनि यही हो । भट्टराईले यसपटक पनि उमेदवारी दर्ता गराएका थिए तर, पछि फिर्ता लिएका थिए ।

यो क्षेत्रबाट चुडाप्रसाद ढकाल र हरि पोखरेलको स्वतन्त्र उमेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ढकाल सिरानचोक गाउँपालिका–२ का हुन् भने पोखरेल अजिरकोट गाउँपालिका–५ का हुन् ।

यस्तो छ विगतको चुनावी इतिहास
यसअघि २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ बाट कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका थिए । उनले कुल मतको ५८.४१ प्रतिशत अर्थात् ३३ हजार ४२८ मत प्राप्त गरेका थिए ।

२०७४ को निर्वाचनमा भने गोरखा–१ बाट तत्कालीन नेकपा (माओवादी)का हरिराज अधिकारी निर्वाचित भएका थिए । अधिकारीले २९ हजार ८६० मत प्राप्त गरेका थिए ।

यस क्षेत्रबाट २०७० को संविधानसभा सदस्य निर्वाचनमा पूर्वप्रधानमन्त्री डा. भट्टराई निर्वाचित भएका थिए । उनी तत्कालीन एकीकृत कम्युनिस्ट पार्टी नेपाल (माओवादी)बाट उमेदवार रहेर २२ हजार ८२४ मतसहित विजयी भएका थिए । संविधानसभा सदस्य निर्वाचन २०६४ मा नेकपा माओवादीकी पार्वती थापा श्रेष्ठ, आम निर्वाचन २०५६, २०५१ र २०४८ मा भने नेपाली कांग्रेसका चिरञ्जीवी वाग्ले यस निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए । प्रचण्डले कुल मतको ५१.२८ प्रतिशत अर्थात् २६ हजार १०९ मत प्राप्त गरेका थिए । 

२०७४ को निर्वाचनमा भने गोरखा–२ बाट भट्टराई निर्वाचित भएका थिए । उनी तत्कालीन नयाँ शक्ति पार्टी, नेपालबाट ३१ हजार ८०७ मत ल्याएर निर्वाचित भएका थिए ।

यस क्षेत्रबाट २०७० को संविधानसभा सदस्य निर्वाचनमा हितराज पाण्डे निर्वाचित भएका थिए । उनी तत्कालीन एकीकृत कम्युनिस्ट पार्टी नेपाल (एनेकपा माओवादी)बाट २० हजार ७६१ मतसहित विजयी भएका थिए । 

२०६४ को संविधानसभा निर्वाचन मा तत्कालीन नेकपा माओवादीबाट डा. भट्टराई, आम निर्वाचन २०५६ र २०५१ मा नेपाली कांग्रेसकी कमला पन्त तथा आम निर्वाचन २०४८ मा नेपाली कांग्रेसकै मायादेवी श्रेष्ठ यस निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

जिल्लामा मतदाताको संख्या भने दुई लाख ३० हजार ४५४ रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । गत २०७९ को निर्वाचनका लागि आयोगले दुई लाख १८ हजार ५६३ मतदाता नामावली संकलन गरेको गोरखामा अहिले ११ हजार ८९१ मतदाता संख्या वृद्धि भएको हो । यस्तै, जिल्लामा २२५ वटा मतदानस्थल रहेका छन् भने मतदान केन्द्रको संख्या ३२१ रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १० : ३३ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा