काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग भेटघाट घरेको छ ।
सो क्रममा सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिका विषयमा छलफल भएको छ । महासङ्घ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले सञ्चारमन्त्री तिमिल्सिनासँग भेट गरी चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी निर्देशनप्रति ध्यानाकर्षण गराएको हो । उक्त निर्देशनमा सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन–प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
भेटमा सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी विज्ञापनको रकम दुरुपयोग भएको, श्रमजीवी पत्रकार प्रत्यक्ष लाभान्वित हुन नसकेको तथा बिचौलियाको प्रभाव बढेको देखिएकाले यस्तो निर्णय गर्नुपरेको बताए । उनले आफू सधैँ श्रमजीवी पत्रकारको पक्षमा रहेको र जायज माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै क्रममा महासङ्घ अध्यक्ष शर्माले सरकारको पछिल्लो विज्ञापन नीतिले समग्र सञ्चार क्षेत्र प्रभावित हुन सक्ने भन्दै पुनर्विचार गर्न आग्रह गरिन्।
सरकारले भने सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन–प्रसारणमा पारदर्शिता ल्याउन र सरकारी सञ्चारमाध्यमको प्रवर्द्धन गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ । रासस













प्रतिक्रिया