खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे « Khabarhub

स्मरणमा डा. प्रकाशराज न्यौपाने

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत शुक्रबार निधन भयो । अरूलाई क्यान्सरबाट जोगाउन आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका डा. न्यौपाने स्वयं सोही रोगसँग हारे । भनिन्छ- समयमै पत्ता लाग्दा धेरै जसो क्यान्सर शतप्रतिशत निको पार्न सकिन्छ ।

तर आफ्नो जीवनकालमा हजारौँ क्यान्सरका बिरामीको रोग निको पारेका र निको हुन्छ भन्दै ढाडस दिएका डा. न्यौपानेले आफ्नो अन्तिम अवस्था आउँदासम्म क्यान्सर भएको पत्तो पाएनन् ।

पेट, कलेजो, प्यान्क्रियाज, थाइराइड, स्तन, मिर्गौला र छालाको क्यान्सरको शल्यक्रियामा विशेषज्ञता हासिल गरेका डा. न्यौपानले पेट तथा पित्त नलीको क्यान्सर (कोलान्जियोकार्सिनोमा) बाट ज्यान गुमाउनुपर्‍यो ।

चिकित्सक समुदायले डा. न्यौपानेको निधनलाई नेपालको क्यान्सर उपचार क्षेत्रका लागि अपूरणीय क्षति भनेका छन् । ‘उहाँ अझै दशकौँ सक्रिय रहन सक्नुहुन्थ्यो । देशले एक असाधारण चिकित्सक गुमायो’ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले भने ।

यस क्षेत्रमा न्यौपानेको योगदान, नेतृत्व र मानवीय दृष्टिकोणलाई नेपाली चिकित्सा इतिहासमा सधैँ स्मरण गर्ने डा. शाहीले बताए ।

दुर्लभ र जटिल रोगसँगको लडाइँ

न्यौपानेको उपचारमा संलग्न चिकित्सक डा. शाहीका अनुसार न्यौपानेलाई देखिएको क्यान्सर अत्यन्तै दुर्लभ प्रकृतिको हो । ‘यो क्यान्सर एकदमै कम देखिने प्रकारको हो । लाखौंमा एकजनामा मात्र देखिन सक्छ’ डा. शाहीले भने ।

उनका अनुसार यो रोग सुरुवाती चरणमा प्रायः कुनै स्पष्ट लक्षणबिना अघि बढ्छ । पछि मात्र जन्डिस, पेट फुल्ने, खान मन नलाग्ने, तौल घट्ने, कमजोरी बढ्ने र खुट्टा सुन्निने जस्ता लक्षण देखा पर्छन् ।

‘उहाँलाई पनि यस्तै यस्तै लक्षणहरु देखिएका थिए । यत्तिकै होला भन्ने भएर बेवास्ता गर्नुभयो ।’ उनले भने, ‘तर अन्तमा जण्डिस देखिएपछि जाँच गर्दा पित्त नलीमा क्यान्सर देखियो । रोग पहिचान हुँदा अवस्था जटिल भइसकेको थियो ।’

डा. शाहीका अनुसार परीक्षणमा सीए १९-९ जस्ता ट्युमर मार्कर अत्यधिक बढेको पाइएको थियो ।

नेपाल, भारत र चीनमा उपचार प्रयास असफल

डा. न्यौपानेले रोग पत्ता लागेपछि चीन र भारतमा पनि उपचार प्रयास गरेका थिए । पछि स्वदेश फर्किएर पाटन अस्पतालमा उपचाररत रहे ।

डा. शाहीका अनुसार पाटन अस्पतालमा उनको उपचार मेडिकल अन्कोलोजी, इन्टरभेन्सनल रेडियोलोजी, पेन तथा प्यालिएटिभ केयर, एनेस्थेसिया लगायतका विशेषज्ञ सम्मिलित बहु–विषयक टोलीको समन्वयमा गरिएको थियो ।

‘हामीले सम्भव सबै आधुनिक उपचार विधि अपनायौँ, तर अन्तिम चरणमा पुगिसकेपछि उपचार सीमित हुन्छ, हामीले बचाउन सकेनौँ’ उनले भने । उनलाई किमोथेरापी, इम्युनोथेरापी तथा सर्पोटिभ केयर प्रदान गरिएको डा. शाहीले बताए ।

डा. शाही विभिन्न देशका सबै ठूला अस्पताल र विशेषज्ञहरूको सेवा लिएका डा. न्यौपानेको भनाइ स्मरण गर्छन्– ‘मलाई उपचारसँगै माया र अपनत्व चाहिन्छ । त्यो बाहिरी देशमा पाइनँ । त्यसैले नेपाल फर्केर आएँ, मलाई जसरी पनि बचाओ ।’

तर, सबै प्रयास असफल भएको उनले बताए । डा. शाहीका अनुसार नेपालमा हालसम्म करिब १० जनालाई देखिएको यो रोगका कारण वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको थियो ।

को हुन् डा. न्यौपाने ?

प्यूठानमा जन्मिएका डा. न्यौपाने नेपालको आधुनिक क्यान्सर चिकित्सा प्रणाली स्थापना र विस्तारमा महत्वपूर्ण योगदान दिने अग्रणी चिकित्सकमध्ये एक मानिन्छन् ।

विशेष गरी भक्तपुर क्यान्सर अस्पतालको विकास र विस्तारमा उनलाई मेरुदण्डका रूपमा स्मरण गरिन्छ । उनले बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर), भक्तपुर क्यान्सर अस्पताल तथा काठमाडौँका विभिन्न क्यान्सर केन्द्रहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

साथै, क्यान्सर सर्जरी र शैक्षिक प्रशिक्षणमा सक्रिय रहँदै उनी नयाँ पुस्ताका चिकित्सक उत्पादनमा पनि अग्रपंक्तिमा रहेका थिए । नेपालको पहिलो सर्जिकल अंकोलोजिष्ट डा. न्यौपाने सर्जिकल अंकोलोजीमा पिएचडी गर्ने एक मात्रै चिकित्सक थिए ।

‘उहाँ बिरामीको उपचार मात्र होइन, चिकित्सकलाई पनि सिकाउने गुरु हुनुहुन्थ्यो । अनुशासन, इमानदारी र बिरामीप्रतिको करुणा उहाँको पहिचान थियो’ उनले भने ।

डा. अरुण शाही डा.न्यौपानेलाई आफ्नो गुरुको रुपमा सम्झिन्छन् । ३ –४ वर्ष संगै काम गर्दाको अनुभव सुनाउँदै डा. शाहीले भने ‘उहाँ एकदमै मनकारी हुनुहुन्थ्यो । बिरामीले पैसा छैन भन्दा निःशुल्क उपचार गरेर बाटो खर्च पनि दिएर पठाउनुहुन्थ्यो ।’

बिरामीले फोन गर्दा जतिखेर पनि फोन उठाउने, उनीहरुको कुरा सुन्ने खालको स्वभाव डा. न्यौपानेको रहेको डा. शाहीले बताए । उनले हेरेका १–२ सय जना बिरामी अहिले पनि आफ्नो सम्पर्कमा रहेको उनी बताउँछन् ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ३ : १६ बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा