मध्यम शक्ति बन्न अग्रसर पाकिस्तानको क्षेत्रीय कूटनीतिमा बढ्दो भूमिका « Khabarhub

मध्यम शक्ति बन्न अग्रसर पाकिस्तानको क्षेत्रीय कूटनीतिमा बढ्दो भूमिका



काठमाडौं- इरानसँग अमेरिका र इजरायलको बढ्दो द्वन्द्व तथा खाडी क्षेत्रको अस्थिरताबीच पाकिस्तानले आफूलाई प्रमुख कूटनीतिक खेलाडीका रुपमा उभ्याएको छ । अमेरिकाले पेश गरेको १५ बुँदे शान्ति योजना इरानसम्म पुर्‍याउन र प्रत्यक्ष वार्ताको मध्यस्थता गर्न पाकिस्तानले सक्रिय भूमिका निर्वाह गरिरहेको छ ।

यस प्रयासलाई अमेरिका र इरानलाई वार्ताको टेबुलमा ल्याउन युद्ध शुरू भएयताकै सबैभन्दा महत्वपूर्ण समन्वयात्मक पहलका रूपमा हेरिएको छ । यो कूटनीतिक सक्रियताले पश्चिम एशिया र उत्तर अफ्रिका क्षेत्रमा पाकिस्तानले आफूलाई महत्वपूर्ण ‘मध्यम शक्ति’ का रूपमा स्थापित गर्न खोजेको स्पष्ट पार्छ ।

पाकिस्तानको यो रणनीतिक सक्रियतामा प्रधानमन्त्री शहबाज सरिफको ठूलो हात छ । सन् २०२४ मार्चमा पदभार ग्रहण गरेदेखि नै सरिफले आर्थिक र सुरक्षा संकटमा अल्झिएको आफ्नो देशको छवि सुधार्न असामान्य रूपमा सक्रिय विदेश नीति अपनाएका छन् ।

उनले गत वर्ष डोनाल्ड ट्रम्पसँग पटक–पटक भेटवार्ता गरेका थिए । यतिमात्रै होइन, विशेषगरी भारतसँगको संक्षिप्त द्वन्द्वपछि अमेरिकी राष्ट्रपतिलाई पाकिस्तानले सन् २०२५ र २०२६ का लागि नोबेल शान्ति पुरस्कारका निम्ति मनोनीत समेत गरेको थियो ।

गत सेप्टेम्बरमा सरिफले साउदी अरेबियासँग रणनीतिक पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए, जसले पाकिस्तानलाई खाडी क्षेत्रको सुरक्षा संरचनाभित्र दृढतापूर्वक उभ्याएको छ । त्यही महिना उनले बेइजिङमा चीन-पाकिस्तान आर्थिक करिडोर (सीपेक) को दोस्रो चरणको शुभारम्भ गर्दै कृषि, इलेक्ट्रिक सवारी साधन, सौर्य ऊर्जा र इस्पात क्षेत्र समेटिएका ८.५ अर्ब डलर बराबरका २१ वटा समझदारी पत्रमा हस्ताक्षर गरे ।

उनले एमएल-१ रेलवे र ग्वादर बन्दरगाह विस्तार लगायतका आफ्ना प्रमुख पूर्वाधार प्रतिबद्धताहरूलाई पनि पुनर्जीवित गरेका छन् । यो कूटनीतिक सक्रियताले के संकेत गर्छ भने उनी एक यस्ता नेता हुन् जसले पाकिस्तानको शक्ति धेरै शक्ति राष्ट्रहरूका लागि एकैसाथ रणनीतिक साझेदार बन्नुमा छ भन्ने कुरा राम्ररी बुझेका छन् ।

पाकिस्तानको यो कूटनीतिक सामर्थ्यका पछाडि केही ठोस आधारहरू छन् । इरानसँगको ९ सय किलोमिटर लामो स्थल सीमा र अमेरिकासँगको गहिरो ऐतिहासिक सम्बन्धका कारण पनि पाकिस्तानले दुवै पक्षसँग विश्वसनीय संवाद गर्न सक्ने साम्मर्थ्य राख्छ । यसका साथै खाडी मुलुकहरूमा रहेका ४५ लाख पाकिस्तानी श्रमिकहरू र उनीहरूले पठाउने विप्रेशण रेमिट्यान्सले गर्दा द्वन्द्वग्रस्त क्षेत्र पाकिस्तानका लागि निकै महत्वपूर्ण छ ।

इतिहासमा पनि पाकिस्तानले सन् १९७२ मा चीनसँग सम्बन्ध सुधार गर्ने तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको प्रयास, सोभियत सङ्घलाई अफगानिस्तानबाट फिर्ता पठाउन १९८८ मा हस्ताक्षर गरिएको जेनेभा सम्झौता र २०२० मा तालिबान र अमेरिकाबीच भएको दोहा सम्झौतामा महत्वपूर्ण भूमिका खेलेको थियो । यसकारण पनि पाकिस्तानको कूटनीतिक सक्रियतामा थप बल पुर्‍याएको छ । यद्यपि, इरान संकटले पाकिस्तानको आर्थिक संवेदनशीलतालाई पनि छताछुल्ल पारेको छ ।

पाकिस्तानको ९० प्रतिशतभन्दा बढी ऊर्जा आयात होर्मुज जलसन्धि भएर आउने इन्धनमा निर्भर छ । त्यसैगरी, कतारबाट आउने प्राकृतिक ग्यासमा पनि पाकिस्तानको निर्भरता उत्तिकै छ । सन् २०२५ मा पाकिस्तानले त्यहाँबाट ६६ लाख टन ग्यास आयात गरेको थियो ।

होर्मुज जलक्षेत्रमा जारी अवरोधले पाकिस्तानमा इन्धनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुर्‍याएको छ । पाकिस्तानमा एकै सातामा ऊर्जाको भाउ २० प्रतिशतले बढेर पेट्रोल १.२० डलर प्रतिलिटर र डिजेल १.२० डलर प्रतिलिटर पुगेको छ । यस आर्थिक संकटले पाकिस्तानलाई मध्यस्थताका लागि झन् बढी प्रेरित गरेको विश्लेषण गरिएको छ ।

क्षेत्रीय हिसाबमा अहिले पश्चिम एशियामा वृहत्तर भूराजनीतिक संरचना निर्माण भइरहेको छ, जसमा पाकिस्तानले आफूलाई महत्वपूर्ण शक्तिका रुपमा स्थापित गर्दैछ । टर्की, साउदी अरबया र पाकिस्तान मिलेर त्रिपक्षीय सुरक्षा खाका विकसित गरिरहेका छन् ।

केही समयअघि पाकिस्तानी विदेशमन्त्री इसाक दारले पाँच-बुँदे शान्ति योजनामा चीनको समर्थन खोज्न बेइजिङको भ्रमण गरेका थिए । चीनले उक्त योजनालाई स्पष्ट रूपमा समर्थन गर्दै पाकिस्तानलाई क्षेत्रीय ऊर्जा प्रवाह कायम राख्नका लागि एक महत्त्वपूर्ण ‘कूटनीतिक सेतु’ को रूपमा व्याख्या गरेको थियो ।

मार्च २९ मा इस्लामावादमा इजिप्ट, टर्की, साउदी अरबया र पाकिस्तानबीच भएको चारपक्षीय बैठकबाट युद्ध अन्त्यका लागि मध्यस्थताको प्रयास तीव्र पारिएको थियो । अमेरिकी सांसदहरूले पनि यसको खुलेर प्रशंसा गरेका छन् । जसमा अमेरिकी तल्लो सदनका प्रतिनिधि रायन जिन्केले ट्रम्पको शान्ति योजना कार्यान्वयनमा पाकिस्तानले खेलेको नेतृत्वदायी भूमिकाको सराहना गरे । इस्लामावादस्थित इरानी राजदूतले पनि यस पहललाई मैत्रीपूर्ण र भ्रातृत्वपूर्ण कदम भन्दै स्वागत गरेका छन् ।

भूराजनीतिक पक्षलाई हेर्ने हो भने, भारतको भूमिकाले पनि पाकिस्तानको रणनीतिक भूमिकालाई थप मजबुत बनाउन प्रेरणा दिइरहेको विश्लेषण गरिन्छ । भारतले इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) सँगको सम्बन्धलाई प्रगाढ बनाउँदै जाँदा, पाकिस्तानले भने साउदी अरब, टर्की र इजिप्टसँगको आफ्नो गठबन्धनलाई मजबुत बनाउँदै लगेको छ ।

इजरायलसँग भारतको बढ्दो साझेदारीबाट उत्पन्न परिस्थितिलाई पनि पाकिस्तानले योजनाबद्ध रूपमा उपयोग गरिरहेको छ । उसले आफूलाई समान सुरक्षा र आर्थिक स्वार्थ भएका मुस्लिम-बाहुल्यता भएका मध्यम शक्ति राष्ट्रहरूको वैकल्पिक सञ्जालमा आफूलाई उभ्याएको छ ।

अर्कोतर्फ, पाकिस्तानका आन्तरिक सुरक्षामा चुनौतीहरू पनि कायम छन् । ३६ जनाको मृत्यु हुनेगरी राजधानी इस्लामावादको एउटा मस्जिदमा भएको आत्मघाती बम विष्फोट, बलुचिस्तान प्रान्तमा जारी द्वन्द्व र ११ जना सैनिकको ज्यान जानेगरी बाजौर चेकपोइन्टमा भएको हमलापछि पाकिस्तानले फेब्रुअरीमा अफगानिस्तानभित्र हवाई आक्रमण गर्‍यो । संयुक्त राष्ट्र संघका अनुगमनकर्ताहरूले पाकिस्तानको सुरुवाती आक्रमणमा परी कम्तीमा १३ जना सर्वसाधारण मारिएको पुष्टि गरेका छन् ।

अफगानिस्तानबाट हुने आक्रमणको जवाफमा पाकिस्तानले गरेको हवाई हमलालाई अमेरिकाले आत्मरक्षाको अधिकार भन्दै समर्थन गरेको छ । यसबाट पनि अमेरिकाका लागि पाकिस्तानको रणनीतिक महत्व कति छ भन्ने दर्शाउँछ । ट्रम्पको कार्यकालको पहिलो १०० दिनमा पाकिस्तानले ३९ करोड ७० लाख डलर बराबरको अमेरिकी सुरक्षा सहायता प्राप्त गरेको थियो, जुन पछिल्ला वर्षहरूमा झण्डै रोकिएको सहायताको तुलनामा ठूलो विस्तार हो ।

अमेरिकाको राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले वार्षिक खतरा मूल्याङ्कनमा पाकिस्तानको मिसाइल कार्यक्रमलाई सम्भावित जोखिमको रूपमा औँल्याएकी छिन् । यसले अमेरिकासँग पाकिस्तानको निकटता अझै पनि ससर्त रहेको कुरा स्मरण गराउँछ ।

यद्यपि, सौर्य ऊर्जामा गरिएको लगानीले पाकिस्तानलाई यो वर्षको फेब्रुअरीसम्म झण्डै १२ अर्ब डलर बराबरको तेल र ग्यास आयात जोगाउन मद्दत गरेको छ । यससँगै पाकिस्तानले आफूलाई कमजोर बनाउने ऊर्जा परनिर्भरतालाई संरचनात्मक रूपमै घटाउन सुरू गरेको सङ्केत देखिएको छ ।

तर क्षेत्रीय शक्तिहरुसँग पाकिस्तानको रणनीतिक निकटतामा चुनौती पनि उत्तिकै छन् । रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट (रुसी) का पूर्वभिजिटिङ फेलो उमेर करिमका अनुसार पाक-साउदी रक्षा सम्झौतापछि साउदी अरबसँगको बलियो सम्बन्ध र ट्रम्प प्रशासनसँगको सामीप्य पाकिस्तानका लागि चुनौती बन्न सक्छ ।

विशेष गरी यदि वर्तमान द्वन्द्व अझ चर्किँदा साउदी पक्षले इरानविरुद्धको कारवाहीमा सामेल हुन अनुरोध गरेमा वा अमेरिकाले पनि इरानविरुद्ध समर्थनका लागि दबाब दिएमा पाकिस्तानको चुनौती बढ्नेछ । त्यसैले, कूटनीतिक सक्रियतासँगै पाकिस्तानले प्रशंसा र चर्चा त कमाउला तर यो ‘दुईधारे तरबार’ पनि सावित हुन सक्छ ।

भविष्यतर्फ हेर्दा पाकिस्तानको कूटनीतिक संलग्नता इरान संकटभन्दा निकै परसम्म फैलिएको देखिन्छ । यसले पश्चिम एशिया र उत्तर अफ्रिका क्षेत्रमा आफ्नो संरचनात्मक सान्दर्भिकता कायम गर्ने एक योजनाबद्ध र निरन्तर प्रयासलाई प्रतिबिम्बित गर्दछ ।

पाकिस्तानले छोटो समयमै विभिन्न क्षेत्रीय पक्षलाई एक ठाउँमा ल्याउन, अमेरिका र इरानबीच सन्देशवाहकको काम गर्न, साउदी र टर्कीसँग त्रिपक्षीय सुरक्षा संरचनाको नेतृत्व गर्न र इजिप्टलाई क्षेत्रीय वार्तामा सहभागी गराउनसक्ने सन्देश दिएको छ । यो सरिफ सरकारको परराष्ट्र नीतिको परिणाम हो । यसले पाकिस्तानको भौगोलिक अवस्थिति, खाडीमा रहेका आफ्ना प्रवासी नागरिक, विभिन्न गुटहरूसँगको सम्बन्ध र आफ्नो सैन्य शक्तिलाई कूटनीतिक प्रभावमा बदलेको छ।

जाइद एम. बेलबागीले तयार पारेको यो आलेख अरब न्यूजबाट विशेष अनुमति लिएर खबरहबमा प्रकाशित गरिएको हो । आलेखको सर्वाधिकार अरब न्यूजमा निहित छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ६ : २० बजे

लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग  छलफल

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले