विराटनगर- नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबीच बहालवाला तथा पूर्वप्रहरी कर्मचारी, तिनका आश्रित परिवार र सर्वसाधारणलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराइने भएको छ ।
सातै प्रदेशमा आँखा स्वास्थ्य सेवा सञ्चालन गर्ने ती दुई निकायबीचमा सम्झौता भएको थियो । सोही सम्झौताअनुसार अभियानको सुरुआत कोशी प्रदेशबाट गरिएको छ ।
नेपाल प्रहरी कोशी प्रदेश कार्यालयको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित विराटनगर आँखा अस्पतालको प्राविधिक सहकार्यमा प्रहरी कर्मचारी, तिनका परिवार तथा पूर्वप्रहरी कर्मचारीका लागि मङ्गलबार निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा २९९ जनाको आँखा परीक्षण गरिएको थियो । यस क्रममा ११२ जनामा दृष्टिदोष पहिचान भएको थियो भने २६० जनालाई आवश्यक औषधि वितरण गरिएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, ६४ जनालाई निःशुल्क चस्मासहित आँखा स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
कार्यक्रमको शुभारम्भ नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे तथा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरत चन्दले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरीले निःस्वार्थ भावनाका साथ सेवा प्रदान गर्दै शिविरलाई सफल बनाउन योगदान पुर्याउने विशेषज्ञ चिकित्सक, प्राविधिक टोली तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरे ।
त्यसैगरी, नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले यस्ता स्वास्थ्य शिविरमार्फत विभिन्न आँखासम्बन्धी समस्या समयमै पहिचान भई उपचार तथा परामर्श प्राप्त हुने भएकाले प्रहरी कर्मचारी तथा प्रहरी परिवारको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
शिविरमा विराटनगर आँखा अस्पतालका प्राविधिक टोलीसहित अस्पताल प्रबन्धक कुमार पृथुकोसमेत उपस्थिति थियो । नेपाल नेत्रज्योति सङ्घले विगत करिब पाँच दशकदेखि देशभर गुणस्तरीय, तथा सर्वसुलभ आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
सङ्घमार्फत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूले स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल पाँच करोड दुई लाख ४८९ जना आँखाका बिरामीलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको छ ।














प्रतिक्रिया