काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बजारमा अभाव देखिएका क्यान्सरलगायत अत्यावश्यक औषधिको आपूर्ति तथा व्यवस्थापन सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।
औषधि व्यवस्था विभागको अनुगमनका क्रममा मन्त्री मेहताले बिरामीले आवश्यक औषधि अभावको समस्या भोग्न नपर्ने सुनिश्चित गर्न आवश्यक कदम चाल्न निर्देशन दिएकी हुन् ।
उनले औषधि आपूर्ति तथा वितरणको अनुमति प्राप्त गर्न निवेदन दिएका तर अनुमति नपाएका कम्पनीहरूको स्थलगत निरीक्षण गरी प्रक्रिया शीघ्र अगाडि बढाउन विभागलाई निर्देशन दिइन्।
मन्त्री मेहताले विभागको नियामक क्षमता सुदृढ बनाउन सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरिन्। विभागलाई थप प्रभावकारी बनाउन तत्काल आवश्यक स्रोतसाधन तथा जनशक्तिको विवरण यथाशीघ्र पेस गर्न उनले आग्रह गरेकी छन् ।
त्यसैगरी, सरकारले निःशुल्क वितरण गर्ने औषधि तथा स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तर परीक्षणलाई प्राथमिकतामा राखी आवश्यक व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ।
अनुगमनका क्रममा औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले विभागका गतिविधि, चुनौती तथा हालसम्म भएका कामकारबाहीबारे मन्त्री मेहतालाई जानकारी गराएकी थिइन् ।













प्रतिक्रिया