‘सरप्राइज गिफ्ट’ मार्फत प्रविनाको व्यावसायिक उडान : जिरो लगानी, लाख कमाइ « Khabarhub

‘सरप्राइज गिफ्ट’ मार्फत प्रविनाको व्यावसायिक उडान : जिरो लगानी, लाख कमाइ



कांग्रेस सभापति गगन थापाले एउटी किशोरीसँग उनको ‘स्टार्टअप बिजनेस’ को विषयमा चाख मानेर सुनेको भिडियो सार्वजनिक भयो । उनले अनलाइनमार्फत उपहारको व्यापार गरेको जसबाट परिवारका सदस्यलाई समेत काम दिन सफल भएको बताइन् । सभापति थापाले उनलाई काममा लगनशील भएर लाग्न प्रोत्साहित गरे ।

सानै उमेरमा आफूलाई बिजनेसमा स्थापित गराउने पात्र हुन्– २० वर्षीया प्रविना न्यौपाने । उनका पितामाता भक्तराज न्यौपाने र लक्ष्मी न्यौपाने काठमाडौँको रातोपुलमा स्टेसनरीको पसल चलाउँछन् । तिनै किशोरीले अहिले परिवारका सबै सदस्यलाई आफ्नो डिजिटल व्यापारमा समेट्न सफल भएकी छन् । आफ्नो संघर्षको कथा खबरहबसँग प्रविनाले यसरी बताइन् :

यो उपहार व्यवसाय हो । पहिला–पहिला मुख्य गुडिया थियो । अहिले उपहार दिने चलनमा अन्य कुरा रुचि बढ्दै गएपछि चकलेट, बुके, केक लगायत धेरै थरी बढेका छन् । मुख्यतः नेपालभन्दा विदेशबाट अर्डर आउँछ ।

विदेश भएका आफन्तले नेपालमा भएका आफन्तलाई उपहार दिने हो । विदेशबाट नेपालमा जन्मदिन भएको मान्छेलाई सरप्राइज पठाइदिनुहुन्छ । हामीले गएर भिडियो बनाइदिएर उहाँहरूको सम्झना कैद गरिदिन्छौँ ।

सरप्राइज भिडियो बनाउने काठमाडौँ उपत्यकाभित्र मात्रै हुन्छ । अन्य उपहार देशभर नै डेलिभरी गर्ने गरेका छौँ ।

रहरले बढाएको इच्छाशक्ति
पहिला त आफूभित्र इच्छाशक्ति जाग्नुपर्‍यो । आत्मनिर्भरताको बाटो बोल्दा जति सजिलो छ, काममा उतार्न उति कठिन । मेरो हकमा कामले काम सिकाउँछ भनेजस्तै भयो । अनलाइन व्यवसाय गर्छु भनेर महाबौद्धतिर होलसेल पसलतिर मलाई भिडियो बनाउन दिनु न भनेर जान्थेँ । भिडियो बनाउँदै पोस्ट गर्दै गएँ । एक पसलको अंकलकोमा गएर रेगुलर पोस्ट गरेँ । उहाँले भिडियो यसरी बनाऊ भनेर गाइड गर्दिनुहुन्थ्यो ।

सुरुमा कम्बो सामान बनाएर भिडियो हाल्थेँ । त्यही पसलबाट सुरु भयो मेरो काम । अहिले पनि उहाँहरूसँगै काम गरिरहेको छु । त्यही पसलबाट भिडियो बनाउँदै आज आफ्नै छुट्टै व्यवसायसम्मको यात्रा तय गरेको हुँ । यो जिरो लगानीबाट सुरु गरेको काम हो ।

भिडियो बनाएर हालेपछि अर्डर आउँथ्यो । त्यही पसलको सामान किनेर पठायो । नाफा आफू राख्ने, सामानको त्यही दिने गर्थें । त्यसरी गर्दागर्दै त्यहाँबाट मात्रै सम्भव भएन । धेरै सामानको अर्डर आउन थाल्यो । अन्य सामान लिन न्युरोड जानुपर्ने भयो ।

सुरुमा एक कोठा भाडामा लिएर सामान स्टक राख्यौँ । यति धेरै अर्डर आउन थाल्यो । एक कोठाभित्रको सामानले धान्न सकेन । त्यसपछि पूरै फ्ल्याट लिएर काम गर्दै छौँ । तपाईंले देख्न पनि सक्नुहुन्छ । फ्ल्याट पूरै गिफ्टको सामानले भरिएको छ ।

ती सामान छुट्टाछुट्टै किन्दा महँगो पर्छ । कम्बो लिँदा सहुलियत मूल्य पर्छ । मेरो पहिलो भिडियो नै मिलियन भ्युज गएको थियो । त्यो भिडियोमै ३०० अर्डर आएको थियो । मेरो लाइफ त्यहीँबाट टर्न भयो । यो २०८० सालको कुरा हो । मेरो भर्खरै प्लस टु सकिएको थियो ।

प्लस टुको परीक्षा सकिएको भोलिपल्टदेखि भिडियो बनाउने काम गर्न थालेँ ।

खर्चालु स्वभाव, व्यावसायिक सोच
मेरो व्यावसायिक यात्राको कुरा गर्दा परिवारको आर्थिक अवस्थाको कुरा आउँछ । बुबाआमाले राम्रै कलेज पढाउनुभएको थियो । असाध्यै संघर्ष गर्नुपरेको त होइन । तर साथीभाइसँग घुम्न जाँदा वा अन्य चाडपर्वमा आमाबुबाले दिएको पैसा असाध्यै कम लाग्ने । उहाँहरूले दिएको पैसाले नपुगेको जस्तो लाग्ने । फेरि मागिराख्न पनि अप्ठ्यारो लाग्थ्यो ।

खर्चालु स्वभाव थियो । त्यही स्वभावले सानैदेखि आफैँ पैसा कमाउनुपर्छ भन्ने लाग्न थाल्यो । म यो व्यवसाय सुरु गर्नुभन्दा अगाडि होम ट्युसन पढाउँथेँ र आफ्नो खर्च जुटाउँथेँ । ट्युसन पढाएको पाँच हजार लिन्थेँ ।

बुबाको स्टेसनरी पसल छ । ८ कक्षा, १० कक्षा पढ्दा आफू पढ्ने स्कुलमा ‘ओल्ड इज गोल्ड’ किताबहरू बेच्थेँ । बाहिर नर्मल १०–१५ प्रतिशत छुट हुन्थ्यो । मैले ३० प्रतिशत छुट दिएर बेच्थेँ । एक्स्ट्रा छुट दिएर स्कुलभरि किताब बेच्थेँ ।

प्लस टु ट्रिनिटी कलेज पढ्दा पनि टन्नै किताब बेचेँ । फेसबुक स्टोरीमा छुटसहितको विज्ञापन गर्थेँ र बेच्थेँ । मार्केटिङ दिमाग स्कुलदेखि नै सुरु भएको थियो ।

सामाजिक सञ्जालको भर
मुख्य हाम्रो टिकटक, इन्स्टाग्राम र फेसबुकमार्फत सम्पर्क गर्न सकिन्छ । त्यही अपलोड भिडियोबाटै ह्वाट्सएपमा सम्पर्क गर्न सकिन्छ । ‘न्यौपाने गिफ्ट कलेक्सन’ को पेज रहेको छ ।

धेरै अर्डर आउने भनेको टेडी बियर हो । स्टक धेरै छ, जस्तोसुकै टेडी बियर हामीसँग उपलब्ध छ । त्यसपछि बुके अर्डर आउँछ । त्यससँगसँगै केक र चकलेट जान्छ । चकलेटको पनि धेरै अर्डर आउँछ । केक दुई ठाउँमा कन्ट्याक्ट छ । ग्राहकले भनेबमोजिमको केक बनाउन अर्डर दिन्छौँ ।

ब्वाइफ्रेन्ड विदेश, गर्लफ्रेन्ड नेपाल वा गर्लफ्रेन्ड विदेश, ब्वाइफ्रेन्ड नेपाल भएका कपलले धेरै अर्डर दिन्छन् । जन्मदिन, बिहे एनिभर्सरी लगायत स्पेसल दिनमा उपहार दिने चलन वा मौसमअनुसार अर्डर आउँछ ।

उहाँहरू आफैँ पुगेर सरप्राइज दिएजस्तै गरी भिडियो बनाइदिन्छौँ । भिडियो हाल्ने वा नहाल्ने भन्ने हुन्छ । कोही भिडियो नबनाई आफ्नो सम्बन्धलाई गोप्य राख्नै रुचाउँछन् । कसैले भिडियो बनाएरै सेलिब्रेट गर्छन् । भिडियोको एक्स्ट्रा चार्ज लाग्छ । भिडियो बनाउन दुई जना जानुपर्ने हुन्छ । एउटाले भिडियो खिच्ने र अर्कोले सामान दिनुपर्छ ।

दुईतर्फी यातायात खर्च लाग्छ । नर्मल अर्डरको इनड्राइभ वा कुरियरको चार्ज लाग्छ । केटा साथीले केटी साथीलाई उपहारको लागि अर्डर गरेको एकदमै कम छ । तर केटीहरूले आफ्नो केटा साथीलाई धेरैले उपहार पठाउँछन् ।

आमाबुबाले धेरै सहयोग गर्नुभएको छ । बुवा धेरै ठाउँमा सामान छोड्न पुग्नुहुन्छ । भाइले पनि सहयोग गर्छ । परिवारबाहेक अन्य दुई जना कर्मचारी छन् ।

सबैभन्दा कम २–३ हजारदेखि १५–२० हजारसम्मको अर्डर आउँछ । गिफ्ट र्‍यापिङ सुरुमा सबै म आफैँ गर्थेँ । अहिले मलाई अर्डर लिँदै ठिक्क हुन्छ । अरूलाई सिकाएर गर्न लगाएको छु । फुर्सदमा अहिले पनि आफैँ गर्छु ।

जिरो लगानीबाट सुरु गरेको हाल हामीसँग स्टक १० लाखमाथिको सामान छ । महिनामा फ्ल्याट भाडा, कर्मचारी खर्च लगायत सबै खर्च कटाएर एक लाखमाथि नाफा हुन्छ ।

कलेज र व्यापारबीचको समय म्यानेज गर्न धेरै गाह्रो भएको छ । परीक्षाको बेला काम गर्दिनँ । कलेजमा थोरै कन्सिडर गरिदिनुभएको छ । व्यवसाय गर्छिन् भन्ने थाहा छ । त्यसैले दुवै कामलाई सँगसँगै लिएर हिँडिरहेकी छु ।

आमाबुबा, साथीभाइ, कलेजका शिक्षक सबैतिरबाट एकदमै राम्रो रेस्पोन्स पाएको छु । अब विदेश जाने सोच छैन । पहिले विदेशै जानुपर्छ भन्ने लागेको थियो । प्लस टु सकिनेबित्तिकै क्यानडा जान्छु भन्ने तयारी थियो । आईईएलटीएस गर्न तयार भइसकेको थिएँ । आमाबुबाले २०–२५ लाख ऋण लिएर हालसालै विदेश पठाउन सक्दिनँ भन्नुभयो । पैसाले रोकिएको थिएँ । तर अहिले आएर गन्तव्य नै फरक भयो । सायद यो परिवर्तनका लागि रोकिएकी थिएँ ।

स्टार्टअप कसरी गर्ने ?
सोचेर मात्रै बस्न भएन । सोचेको कुरा गर्न सुरु गर्नुपर्‍यो । अर्को धैर्य हुनुपर्छ । एक समय करिब छ महिना कुनै अर्डर आएन । तर मैले भिडियो बनाएर हाल्न कहिले छुटाइनँ । एक दिन न एक दिन फेरि अर्डर आउँछ भनेर प्रतीक्षा गरेँ । अर्डर आएन भनेर हार खानु हुँदैन । ग्राहक कुरेर बस्न सक्नुपर्छ ।

जागिर खानुभन्दा धेरै गाह्रो हुन्छ आफ्नो व्यापार गर्न । उस्तै खट्नुपर्छ । विदेश र नेपालको समय मिल्दैन । उता उज्यालो हुँदा नेपालमा अँध्यारो हुन्छ । बिहान तीन बजेसम्म पनि अर्डर लिएर बस्ने गर्छु । सुत्ने हो भने व्यापार हुन्न । ह्वाट्सएप मेसेज रिप्लाई गर्नुपर्ने हुन्छ ।

दिउँसो स्टाफले पनि गर्छन् । तर बिहान, बेलुका, राति त आफैँले ग्राहकसँग समन्वय गर्छु । धेरै अर्डर रातमै आउँछ । ‘प्रेमदिवस’ मा अर्डर लिएरै सकिँदैन । एक हप्ता अर्डर लिएर डेलिभरी दिन नसक्ने अवस्था आएपछि हामीले बन्द गर्दिन्छौँ । त्यतिबेला कर्मचारी थपेर काम गर्दा पनि अर्डर पुर्‍याउन सकिँदैन । अफसिजनमा अर्डरै नआउने हुँदैन ।

जेन जी आन्दोलनमा गएको थिएँ । साथीलाई गोली लाग्यो । बल्लबल्ल जोगिएर आएँ । तर राजनीतिमा रुचि छैन । नेताले हामीजस्ता स्टार्टअपहरूलाई काम गर्ने वातावरण सहज बनाइदिएको खण्डमा यो व्यवसायलाई बढाउँदै लैजाने योजनामा छु । सरकारले सिस्टम राम्रो बनाइदियोस् भन्ने अपेक्षा छ ।

म सँगै प्लस टु पढेका साथीहरू अधिकांश विदेश पलायन भए । बालेन नेतृत्वको नयाँ सरकारले युवा पलायन रोक्ने कार्यक्रम ल्याओस् भन्ने छ । कतै पनि अवसर नहुँदा फ्रस्ट्रेसन थियो । त्यही भएर मेरो पुस्ता आन्दोलनमा सहभागी भएको थियो ।

जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका नेता गगन थापाको घर जल्यो । तर उहाँले भोलिपल्टै आन्दोलनलाई सम्बोधन गर्नुभयो । आफ्नो घर जलाउनेमाथि नराम्रो बोल्नुभएन । कांग्रेस आफैँमा प्रजातान्त्रिक विधि अवलम्बन गर्ने पार्टी हो । जेनजी आन्दोलनमा सहभागी भएको भनेर उहाँले मलाई हेट गर्नुभएन । बरु प्रोत्साहित गर्नुभयो । त्यसैले भिडियो बनाउन राजी हुनुभयो । उहाँसँगको त्यो भिडियोले काममा लाग्न मलाई थप प्रेरित गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  १० : २४ बजे

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण