कुइयाङ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासले पत्रकारको जागिर खोस्ने चिन्ता बढिरहेको छ । नेपाली पत्रकार पनि पछिल्लो समय एआईबाट चिन्तित देखिन्छन् ।
यही चिन्ताबीच सोमबार चीनका सम्पादकसहितका वरिष्ठ पत्रकारले भने फिल्ड रिपोर्टिङको जाँगर, सिर्जनशीलता र तथ्यप्रतिको प्रतिबद्धता कायम रहेसम्म एआईसँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन्।
चीनको कुइचोउ प्रान्तस्थित कुइयाङ सहरमा विश्वका विभिन्न राजनीतिक दलका नेता, सम्पादक तथा पत्रकारसँग आयोजित अन्तरक्रिया उनीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा कुइचोउ रेडियो तथा टेलिभिजन स्टेशनका पत्रकारहरूले एआईलाई सञ्चारकर्मीको विकल्प नभई सहयोगी प्रविधिका रूपमा लिनुपर्ने बताएका हुन्।
कुइचोउ रेडियो तथा टेलिभिजन स्टेशनका नयाँ सञ्चार प्रविधि विभागका उपनिर्देशक सीयु पोले प्रविधि जति विकसित भए पनि समाचारको मूल आधार फिल्ड रिपोर्टिङ नै रहने बताए।

‘एआईले भाषागत त्रुटि सुधार्न, ग्राफिक डिजाइनमा सहयोग गर्न, संगीत मिलाउन वा सामग्रीका कमजोरी देखाउन सक्छ। तर घटनास्थलमा पुगेर समाचार खोज्न, स्रोतसँग संवाद गर्न र वास्तविक रिपोर्टिङ गर्न सक्दैन,’ उनले भने।
पत्रकारहरूलाई कार्यालयमा बसेर एआईमा निर्भर हुनुभन्दा फिल्डमा सक्रिय हुन आग्रह गर्दै उनलेे मौलिक र स्थलगत सामग्री उत्पादन गर्न सके पत्रकारिताको भविष्य अझ सुरक्षित हुने विश्वास व्यक्त गरे।
कुइचोउ रेडियो तथा टेलिभिजन स्टेशनका उपमहानिर्देशक लियु चिङयुआनले पनि अहिलेको अवस्थामा एआईले पत्रकारको जागिर खोस्ने जोखिम नरहेको बताए ।
एआईले प्रसारणको गुणस्तर सुधार्ने, त्रुटि पहिचान गर्ने तथा समाचार उत्पादन प्रक्रियालाई थप प्रभावकारी बनाउने सहयोगी भूमिका निर्वाह गरिरहेको उनले बताए ।

‘हामी टेलिभिजन स्टुडियोको मास्टर कन्ट्रोल रुममा एआई प्रयोग गरिरहेका छौँ। प्रसारणका क्रममा हुन सक्ने प्राविधिक त्रुटि एआईले तुरुन्तै संकेत गरिदिन्छ, जसले सुधार गर्न सहज बनाएको छ,’ उनले भने।
स्टेशनअन्तर्गत सञ्चालनमा रहेका १० वटा टेलिभिजन च्यानलको प्रसारण व्यवस्थापनमा पनि एआईले सहयोग पुर्याएको उनलेे बताएका छन् । डीपसिकलगायत विभिन्न एआई उपकरण भाषान्तरण, अडियोलाई पाठमा रूपान्तरण, भाषागत त्रुटि सच्याउने तथा प्रारम्भिक सामग्री प्रशोधनमा प्रयोग भइरहेको उनले बताए ।
तर मानवीय संवेदना, सामाजिक सन्दर्भ र अनुभवलाई एआईले पूर्ण रूपमा बुझ्न नसक्ने भएकाले अन्तिम सम्पादन र समाचारको गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी पत्रकारकै रहने उनको भनाइ थियो।
लियुले सामाजिक सञ्जालमा एआईबाट निर्मित गलत सूचना र भ्रामक भिडियो बढ्दै गएको उल्लेख गर्दै त्यसको सामना गर्न विश्वसनीय व्यावसायिक सञ्चारमाध्यमको भूमिका अझ महत्त्वपूर्ण बनेको बताए।
‘एआईले गलत सूचना पनि उत्पादन गर्न सक्छ। तर त्यही एआईको प्रयोग गरेर हामी त्यस्ता सामग्री पहिचान र नियन्त्रण गर्ने काम पनि गरिरहेका छौँ,’ उनले भने।

कार्यक्रममा कुइचोउ रेडियो तथा टेलिभिजन स्टेशनको स्याटेलाइट टेलिभिजन केन्द्र तथा अन्तर्राष्ट्रिय सञ्चार केन्द्रकी उपनिर्देशक ख्वुआङ पेईले सञ्चार संस्थाका लागि आर्थिक दिगोपनसँगै विश्वसनीय सामग्री उत्पादन अहिलेको मुख्य चुनौती रहेको बताइन् ।
उनले चीन सरकारले एआईबाट सिर्जित गलत सूचना नियन्त्रणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रकाशित वा प्रसारण हुने सामग्रीको बारम्बार परीक्षण गरिने जानकारी दिइन्।
‘एआईसँग सहयोग लिन सकिन्छ। तर सामग्री निर्माणको सम्पूर्ण जिम्मा एआईलाई दिन मिल्दैन। मानवीय सिर्जनशीलता, अनुभव र समाजसँगको प्रत्यक्ष सम्बन्धलाई कुनै पनि प्रविधिले प्रतिस्थापन गर्न सक्दैन,’ उनले भनिन्।
चीनका सञ्चारकर्मीहरूले पत्रकारिताको भविष्य एआईसँग प्रतिस्पर्धामा होइन, प्रविधिलाई जिम्मेवार रूपमा प्रयोग गर्दै सत्य, विश्वसनीय र मौलिक पत्रकारितालाई अझ सुदृढ बनाउनमा निर्भर हुने निष्कर्ष सुनाए ।
फिल्ड रिपोर्टिङ, तथ्यको पुष्टि, मानवीय संवेदना र व्यावसायिक नैतिकता नै पत्रकारिताको वास्तविक शक्ति भएकाले एआईको युगमा पनि सिर्जनशील र सक्रिय पत्रकारका लागि पर्याप्त अवसर रहने उनीहरूले साझा निष्कर्ष सुनाए ।












प्रतिक्रिया