मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) उल्लासपूर्वक मनाइँदै छ ।
चेपाङ समुदायको मौलिक संस्कृति, परम्परा र जीवनपद्धतिसँग गहिरो रूपमा जोडिएको न्वागी पर्वमा नयाँ अन्नबाली तथा फलफूल पहिले पितृ र भूमिलाई चढाएर मात्र आफूले खाने परम्परा रहेको छ ।
चेपाङ समुदायको बाक्लो बसोबास रहेको राक्सिराङमा न्वागी विशेष महत्त्वका साथ मनाउने गरिन्छ । गाउँपालिकाले यस वर्ष न्वागी पर्वका अवसरमा भदौ २२ र २३ गते दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको छ।
ती दिन गाउँपालिकाभित्रका सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था तथा शिक्षण संस्था बन्द रहने निर्णय गरिएको छ ।
न्वागीलाई चेपाङ भाषामा ‘छोनाम’ भनिन्छ । यो पर्वलाई चेपाङ समुदायले पितृ सम्झने, भूमिको पूजा गर्ने र नयाँ उत्पादन उपभोगमा ल्याउने महत्त्वपूर्ण अवसरका रूपमा लिने गरेका छन् ।
भदौ महिनामा खेतबारीमा उत्पादन भएको नयाँ अन्न तथा फलफूललाई पितृलाई नचढाई खान नहुने धार्मिक तथा सांस्कृतिक मान्यता चेपाङ समुदायमा छ।
नयाँ अन्न पितृलाई चढाउने परम्परा
न्वागीका अवसरमा चेपाङ परिवारले घरमा नयाँ उत्पादन भित्र्याएर विशेष पूजा गर्ने गर्छन्। घैया धान, काउनो, गाभा, निबुवा, घिरौँला, पिँडालु तथा विभिन्न कन्दमूल र अन्य नयाँ उब्जनीलाई पितृ तथा भूमिलाई चढाउने गरिन्छ । पूजा सम्पन्न भएपछि मात्रै परिवारका सदस्यले नयाँ अन्न तथा फलफूल प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ ।
पर्वका क्रममा चेपाङ झाँक्री अर्थात् पान्देले धार्मिक विधिअनुसार पितृको पूजा गर्ने गर्छन्। कतिपय स्थानमा राति नै पूजा सुरु गरी ढ्याङ्ग्रो बजाउने, पितृलाई सम्झने तथा नयाँ उत्पादन चढाउने गरिन्छ। भोलिपल्ट बिहान पितृपूजा सम्पन्न गरेपछि परिवार तथा आफन्तजनसँगै प्रसाद ग्रहण गरी पर्व मनाउने चलन रहेको छ ।
संस्कृति र पहिचानसँग जोडिएको पर्व
न्वागी केवल धार्मिक अनुष्ठान मात्र नभई चेपाङ समुदायको सामाजिक एकता, मौलिक संस्कृति र पहिचानसँग जोडिएको पर्व हो । पर्वका अवसरमा आफन्तजन तथा समुदायका मानिसहरू भेला हुने, परम्परागत विधि पूरा गर्ने र सांस्कृतिक गतिविधिमा सहभागी हुने गर्छन् ।
चेपाङ समुदायले भदौ २२ गतेलाई सामूहिक रूपमा न्वागी मनाउने प्रमुख दिनका रूपमा लिँदै आएको छ। यद्यपि विभिन्न कुल तथा परिवारअनुसार भदौ महिनाभरि नै न्वागी मनाउने परम्परा रहेको चेपाङ अगुवाहरू बताउँछन् ।
राक्सिराङ गाउँपालिकाको आफ्नै विवरणअनुसार यो क्षेत्र आदिवासी तथा अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको भूगोल हो र यहाँ चेपाङ समुदायको पृथक् सभ्यता, संस्कृति र परम्परा रहेको छ।
सामूहिक उत्सव बन्दै न्वागी
विगतमा धेरैजसो चेपाङ परिवारले आ–आफ्नो घरमा सीमित रूपमा मनाउँदै आएको न्वागी पछिल्ला वर्षमा सामूहिक रूपमा समेत मनाउन थालिएको छ। चेपाङ समुदायको सांस्कृतिक पहिचान संरक्षण र नयाँ पुस्तालाई मौलिक परम्परासँग जोड्ने उद्देश्यले विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमसहित न्वागी मनाउने गरिएको छ।
न्वागी पर्वमा परम्परागत पूजा विधि, झाँक्री संस्कार, ढ्याङ्ग्रो, नयाँ अन्न तथा फलफूलको प्रयोगसँगै समुदायका सदस्यबीच भेटघाट र शुभकामना आदानप्रदान हुने गर्छ। यसले चेपाङ समुदायको पुस्तौँदेखिको जीवनशैली, प्रकृतिसँगको सम्बन्ध र पितृप्रतिको सम्मानलाई समेत प्रतिबिम्बित गर्छ ।
नयाँ अन्न पहिले पितृलाई, त्यसपछि आफूलाई भन्ने मूल मान्यतामा आधारित न्वागीले चेपाङ समुदायमा प्रकृति, भूमि, अन्न उत्पादन र पुर्खाप्रतिको सम्मानलाई एकैसाथ जोडेको देखिन्छ ।
त्यसैले राक्सिराङमा मनाइने न्वागी पर्व धार्मिक आस्था मात्र नभई चेपाङ समुदायको मौलिक पहिचान र सांस्कृतिक निरन्तरताको महत्त्वपूर्ण प्रतीकका रूपमा स्थापित हुँदै गएको छ ।
तस्बिर : सरला अधिकारी/नेपाल फोटो लाइब्रेरी

















प्रतिक्रिया