काठमाडौं- गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङसहितमा ठूलो विध्वंश गरेको छ।
यो पृष्ठभूमिमा नेपाली कांग्रेसका नेता कल्याण गुरुङले विपद्बाट पाठ सिक्दै वातावरण संरक्षण र विपद् व्यवस्थापनका लागि विभिन्न दीर्घकालीन कदम चाल्नुपर्ने सुझाएका छन्।
गुरुङले प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीको प्रयोगमा तत्काल कानुनी रूपमा प्रतिबन्ध लगाउनुपर्ने, जथाभावी फोहोर फाल्ने कार्यलाई कठोर दण्डनीय बनाउनुपर्ने तथा नदी-खोला किनारमा हुने अव्यवस्थित बसोबासलाई नियन्त्रण गर्नुपर्ने बताएका छन्।
उनले भोटेकोशी बाढीबाट आफूहरूले स्वेच्छाले गर्न नचाहेको तर परिस्थितिले गर्नैपर्ने केही कामका रूपमा विभिन्न ११ वटा सुझाव अघि सारेका छन्।
गुरुङका सुझाव
१. प्लास्टिक प्रयोगमा प्रतिबन्ध : प्लास्टिक र प्लास्टिकबाट बनेका सामग्रीको प्रयोगमा तत्काल कानुनी रूपमा नै प्रतिबन्ध लगाउँदा राम्रो हुन्छ। यसैगरी जथाभावी फोहोर फाल्ने, खोला र नदीमा फोहोर फाल्ने तथा राजमार्गमा यात्रा गर्दा गाडीबाट फोहोर बाहिर फाल्ने कार्यलाई कानुनी रूपमा नै कठोर दण्डनीय बनाउनुपर्छ।
२. नदी किनारमा घर निर्माण रोक्नुपर्ने : खोलाको किनारमा घर बनाउने कार्य गर्नु हुँदैन। खोलाको दुवै किनारतर्फ कम्तीमा २०० मिटर क्षेत्र छोडेर मात्रै घर निर्माण गर्ने व्यवस्था गर्दा राम्रो हुन्छ।
३. नदी किनारमा वृक्षरोपण : खोलाको दुवै किनारतर्फ कम्तीमा २०० मिटर क्षेत्रमा रूख रोप्नुपर्छ। रूख, बाँस, निगालोलगायत माटो संरक्षण गर्ने बोटबिरुवा रोप्दा राम्रो हुन्छ।
४. अग्ला र फराकिला पुल निर्माण : धेरै पुलहरू उचाइ कम भएका कारण बगेका छन्। त्यसैले अब पुल निर्माण गर्दा तथा पुलको डिजाइन तयार गर्दा पुलमुनिबाट कम्तीमा दुईवटा ठूला ट्रक सजिलै पास हुन सक्ने गरी कम्तीमा १५ मिटर उचाइका पुल निर्माण गर्नुपर्छ।
झोलुंगे पुल तथा अन्य पुलहरू पनि पर्याप्त उचाइ र कम्तीमा चार लेन बराबरको चौडाइ हुने गरी निर्माण तथा डिजाइन गर्नुपर्ने गुरुङको सुझाव छ।
५. बलिया र फराकिला तटबन्ध : खोलाको दुवै किनारतर्फ यथाशक्य कम्तीमा पाँचवटा ठूला ट्रक पास हुन सक्ने चौडाइ र कम्तीमा १५ मिटर उचाइ भएका बलिया, फराकिला तथा अग्ला तटबन्ध निर्माण गर्न सुरु गर्नुपर्छ। यसमा जनश्रमदानका लागि आम मानिसलाई प्रोत्साहित गर्न सके अझ राम्रो हुने उनले बताएका छन्।
६. जन्मदिनमा रूख रोप्ने संस्कृति : मानिसले आफ्नो जन्मदिन तथा आफ्ना पुर्खाहरूको सम्झनाको दिन रूख रोप्ने परम्परा र संस्कृतिको विकास गर्नुपर्छ।
७. उपहारमा बोटबिरुवा दिने चलन : चाडपर्वमा उपहार दिँदा पनि बोटबिरुवा दिने परम्परा र संस्कृतिको विकास गर्नुपर्ने गुरुङको सुझाव छ।
८. विद्यालयदेखि वातावरण र विपद् व्यवस्थापन शिक्षा : विद्यालय तहमा विज्ञान, वातावरण विज्ञान, ग्ल्यासियोलोजी, फरेस्ट्री, हाइड्रोलोजी, फायर इकोलोजी, स्नो हाइड्रोलोजी, ओसियनोग्राफी, जियोलोजी, वनस्पतिशास्त्र, जीवशास्त्र, भूगोल तथा प्राकृतिक प्रकोपसम्बन्धी विषय अनिवार्य रूपमा पढाउनुपर्छ।
यी विषयसँगै प्राकृतिक विपद्बाट जोगिने उपाय तथा विपद्का बेला तत्काल गर्नुपर्ने उद्धार, उपचार र राहतसम्बन्धी विषय पनि सैद्धान्तिक र व्यावहारिक रूपमा विद्यालय तहदेखि नै पढाउनुपर्ने उनले बताएका छन्।
९. ठूला ढल र फोहोर पानी प्रशोधन केन्द्र निर्माण : ठूला ढल निर्माण तथा फोहोर पानी प्रशोधन गर्न ठूला प्रशोधन केन्द्र निर्माणका लागि तत्काल मास्टरप्लान, रोडम्याप र दीर्घकालीन कार्ययोजना तयार गर्नुपर्छ।
१०. हरेक स्थानीय तहमा फोहोरमैला व्यवस्थापन केन्द्र : फोहोरमैला व्यवस्थापन तथा फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्दा सबै स्थानीय तह र सम्भव भएसम्म सबै वडामा त्यस्ता केन्द्र निर्माण गर्ने मास्टरप्लान, रोडम्याप र दीर्घकालीन कार्ययोजना तयार गर्नुपर्छ। त्यस्ता केन्द्रबाट निस्कने पानी र मललाई अर्गानिक कृषि प्रणालीसँग जोड्नुपर्ने गुरुङको सुझाव छ।












प्रतिक्रिया