पाक्नै लागेको धानबाली नष्ट, भक्तपुरका किसान दुःखी « Khabarhub

पाक्नै लागेको धानबाली नष्ट, भक्तपुरका किसान दुःखी


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– गए राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि भक्तपुरका किसान दुःखी बनेका छन् । 

पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि किसानले वर्षभरको मेहनत खेर जाने चिन्ता व्यक्त गरेका छन् । धान काट्ने समय नजिकिँदै गर्दा परेको ठूलो वर्षाले किसानको वर्षभरिको मेहनत जोखिममा परेको छ । 

रोपाइँदेखि गोडमेल, मलजल र सिँचाइ गर्दै हुर्काएको धान पाक्ने बेलामा पानी र हावाहुरीका कारण ढलेपछि उत्पादन घट्ने चिन्ता किसानमा थपिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङगका किसान सौगात गिरीका अनुसार राति परेको वर्षाले धानबालीको खेततर्फको खोला पसेपछि खेतको धानबालीमा क्षति पुगेको हो ।  

 खोलामा लामो समयदेखि जम्मा भएका फोहोरका थुप्रोसमेत खेतमा पस्दा धानबालीमा थप क्षति पुगेको उनले बताए। वर्षाका कारण खेतमा पानी जम्नुका साथै कतिपय स्थानमा खोला तथा खोल्साको पानी खेतमा पस्दा धानबाली ढलेर नष्ट भएको उनले जानकारी दिए ।

‘वर्षे धान रोपेदेखि धान घरमा नभित्राएसम्म पानी परेपछि धान डुबानमा पर्ला कि भनेर चिन्तामा बस्नुपर्ने अवस्था छ’, उनले भने। 

गिरीले यसपटक पनि पाक्न ठिक्क परेको धानबाली वर्षाको पानीले ढलेर नष्ट भएपछि यहाँका सम्पूर्ण किसानहरू दुःखी भएको बताए। 

यहाँका किसानहरूले वर्षायाममा खेत डुबानको समस्या समाधान गर्न खोला तथा खोल्साको उचित व्यवस्थापन, फोहर हटाउने तथा व्यवस्थित कोरिडोर निर्माण गर्न स्थानीय तहसँग माग गर्दै आएका छन् । 

समयमै समस्या समाधान नगरे हरेक वर्ष धानबालीमा क्षति पुग्ने र किसानको उत्पादन तथा आम्दानीमा असर पर्ने उनको भनाइ छ ।

भक्तपुरका  किसान रामप्यारी सुवालका अनुसार पाक्नै लागेको धान ढलेपछि धान नष्ट हुन्छ । उनका अनुसार ढलेको धान फेरि जनशक्ति लगाएर उठाउनुपर्छ अर्थात् मुठामुठा बाध्नुपर्छ । यति गर्दा पनि त्यो धान खाली बोक्रामा मात्रै सीमित हुन्छ । त्यसकारण धान फल्ने बेला त्यो खोक्रो भुस धानमा परिणत हुने उनले जानकारी दिए । 

भक्तपुर किसानको जिल्ला भनेर चिनिन्छ । जिल्लाका चार नगरपालिका–भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायणमध्ये विशेषगरी सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्रमा अझै पनि ठूलो क्षेत्रफलमा रोपाइँ गरिन्छ । भक्तपुरका ग्रामीण तथा शहरी क्षेत्रमा तीव्र रूपमा भइरहेको भौतिक विस्तारका कारण खेत तथा प्राकृतिक पानी बग्ने मार्गमा दबाब बढ्दै गएको छ । 

यसले ठूलो वर्षाका बेला पानीको निकास प्रभावित हुने र खेतमा डुबानको जोखिम बढाउने गरेको किसानहरूको अनुभव छ । स्थानीय तहले तत्काल क्षतिको स्थलगत अनुगमन गरी वास्तविक क्षतिको विवरण संकलन तथा प्रभावित किसानलाई आवश्यक सहयोग गर्नुपर्ने मागसमेत उठेको छ । 
 

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  २ : १८ बजे

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि

राष्ट्रपतिले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज