चिलिमे जलविद्युत् आयोजनामा अझै उद्धारको सम्भावना, सुरुङ खोल्न ब्लास्टिङ सुरु « Khabarhub

चिलिमे जलविद्युत् आयोजनामा अझै उद्धारको सम्भावना, सुरुङ खोल्न ब्लास्टिङ सुरु


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

रसुवा- गत भदौ १० गते बुधबार आएको बाढीका कारण तहसनहस भएको रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाबाट अझै पनि फसेका व्यक्तिहरूको उद्धारको सम्भावना कायमै रहेको बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर ढकालले सोमबार यसबारे जानकारी दिएका हुन्। उनी र उक्त पार्टीको खानी तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपाने दुई दिनअघि नै रसुवास्थित २२.१ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा पुगेका थिए।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङ थुनिएको छ। सुरुङभित्र फसेका कम्तीमा आधा दर्जन कर्मचारीको अहिलेसम्म उद्धार हुन सकेको छैन।

उनीहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाको टोली अहिले पनि घटनास्थलमा खटिएको छ।

उद्धारस्थलमै रहेका सांसद ढकालले नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा बाँकी रहेको सामग्री प्रयोग गरी विस्फोट गरिएको बताएका छन्। विस्फोट गरिएपछि सुरुङमा बाटो खोल्न सकिने सम्भावना बढेको उनले बताएका छन्। ढकालले चिलिमेमा फसेका व्यक्तिहरूको उद्धार छिट्टै गर्न सकिने सम्भावना रहेको बताएका छन्।

‘छिट्टै सम्भवत: अरू ६ जनाको उद्धार गर्छौँ। आज त्रिशूली थ्री ‘ए’का सामान लगेर पहिलो ब्लास्टिङ भएको छ’, उनले भने, ‘थ्री ‘ए’ सुरुङ (टनेल) उकालो भएकाले माटो निकाल्न पानीको फोहराको जुक्ति लगाएका थियौँ। चिलिमेमा भने सुरुङ ओरालो छ, तसर्थ यसका लागि अर्को उपाय चाहिन्छ। यो तलको मेसिन सोमबार दिउँसो बनाएका छौँ। राति नुवाकोटको विदुर पुगेर भोलि बिहानै चिलिमे आइपुग्छ। भोलिबाट काम द्रुत गतिमा भयो भने भोलि साँझ या पर्सि बिहानसम्म सुरुङभित्र छिर्न सकिन्छ कि हेरौँ।’

उनले उद्धार सुरुङभित्रको अवस्थाका कारण भनेजस्तो ठ्याक्कै नहुन सक्ने भए पनि आफूहरू धेरै आशावादी रहेको बताएका छन्। ‘सुरुङको काम हो, भनेजस्तो ठ्याक्कै नहुन पनि सक्छ, तर धेरै आशावादी छौँ’, उनले भने ।

निरन्तर खटिएका छन्

चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार प्रयास केही दिनदेखि निरन्तर जारी छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउन चुनौती भइरहेको छ।

हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने कार्यमा खटिएका छन्। २५० मिटर लामो सुरुङमध्ये हालसम्म करिब १०० मिटर भाग सफा गरिएको छ।

म्यानुअल रूपमा मात्र उद्धार कार्य अगाडि बढाउन कठिन भएपछि ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउने तयारीलाई उच्च प्राथमिकता दिइएको छ। एक्स्काभेटर पुर्‍याउन स्याफ्रुदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्नुपर्ने भएकाले शनिबारदेखि सडक निर्माणको काम अघि बढाइएको छ।

सुरुङमार्फत नै एक्स्काभेटर लैजाने विकल्पमा पनि काम भइरहेको छ। त्यसका लागि सुरुङको करिब १०० मिटर भागमा थुप्रिएको माटो हटाउने कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ।

ठूला हेलिकोप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउने प्रयास पनि भइरहेको छ।

भौगोलिक र प्राविधिक चुनौती कठिन भए पनि उद्धार प्रयास नरोकेको अधिकारीहरूले बताएका छन्। पहुँच सडक विस्तार, आवश्यक उपकरण परिचालन र सुरुङभित्रको भग्नावशेष हटाउने कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर अगाडि बढाइएको छ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ४ : ५८ बजे

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा