इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु « Khabarhub

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा ११ जनाको मृत्यु भएको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएको छ। यसअघि भएका छुट्टाछुट्टै आक्रमणमा थप सात जनाको मृत्यु भएको बताइएको छ।

लेबनानको आधिकारिक नेसनल न्युज एजेन्सी (एनएनए) का अनुसार नबातिह नजिकैको फार रुम्मानमा भएको हवाई आक्रमणमा तीनतले आवासीय भवन पूर्ण रूपमा ध्वस्त हुँदा नौ जनाको मृत्यु भएको हो। भग्नावशेषमा विद्यालयका किताब, फर्निचरलगायत सामग्री छरिएका थिए।

आक्रमणपछि उद्धार टोलीले भग्नावशेष हटाउँदै थप पीडितको खोजी गरिरहेका थिए। स्थानीय अधिकारीहरूका अनुसार द्वन्द्वका कारण विस्थापित भएका फार रुम्मानका बासिन्दा जुनमा भएको युद्धविरामपछि आफ्ना घर फर्किएका थिए।

स्थानीय बासिन्दा फुवाद चाकारोनले एएफपीलाई आफूहरू घर फर्किएदेखि नै डरको वातावरणमा बाँचिरहेको बताए। उनका अनुसार आक्रमणमा परेको भवनमा सर्वसाधारण र शान्तिपूर्ण मानिसहरू बस्दै आएका थिए।

एनएनएका अनुसार आक्रमणमा लक्षित एउटा गाडीमा रहेका दुई उद्धारकर्मीको समेत मृत्यु भएको छ। विस्फोटका कारण आसपासका अन्य भवनमा पनि क्षति पुगेको जनाइएको छ।

इजरायलले फार रुम्मानमा आक्रमण गर्नुअघि कुनै चेतावनी जारी नगरेको बताइएको छ। तर नजिकैको देइर जाहरानीमा भने आक्रमणअघि बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी दिइएको थियो। एनएनएका अनुसार चेतावनी जारी भएको करिब २२ मिनेटपछि देइर जाहरानीमा रहेको एउटा भवन ध्वस्त भएको थियो।

इजरायली सेनाले आफ्ना सैनिकलाई लक्षित गरी विस्फोटक पदार्थ बोकेको ड्रोन प्रहार गरिएको दाबी गरेको छ। सेनाका अनुसार हिजबुल्लाहको गतिविधिका कारण इजरायली रक्षा बल (आईडीएफ) ले त्यसविरुद्ध कारबाही गर्नुपरेको हो। उक्त घटनामा इजरायली सैनिक घाइते भए वा नभएकोबारे भने सेनाले जानकारी दिएको छैन।

इजरायलले बिहीबार हिजबुल्लाहको नियन्त्रणमा रहेको रणनीतिक महत्वको ‘अली अल–ताहेर’ पहाडी क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरेपछि दक्षिणी नबातिह क्षेत्रमा आक्रमण तीव्र पारेको हो। हिजबुल्लाहले भने उक्त दाबीबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।

इजरायलको विदेश मन्त्रालयले सोमबार हिजबुल्लाहले पटक–पटक ड्रोन आक्रमण गरेको तथा दक्षिणी लेबनानमा आफ्नो सैन्य क्षमता पुनःनिर्माण गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ। मन्त्रालयले यसलाई इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौताको उल्लङ्घन भनेको छ। उक्त सम्झौतामा हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने प्रावधानसमेत रहेको बताइएको छ।

गत मार्चमा हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनानमा पुनः द्वन्द्व चर्किएको थियो। जुनमा वासिङ्टन र तेहरानबीच भएको समझदारी तथा सोही महिनाको अन्त्यतिर इजरायल र लेबनानबीच भएको रूपरेखा सम्झौतापछि लडाइँ केही मत्थर भएको थियो। तर पछिल्ला दिनमा दक्षिणी लेबनानमा पुनः हिंसा बढेको छ।

आइतबार लेबनानका राष्ट्रपति जोसेफ आउनले इजरायली आक्रमण रोक्न सहयोग गर्न अमेरिका तथा अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका थिए।

लेबनानी अधिकारीहरूका अनुसार मार्चयता लेबनानमा भएका इजरायली हवाई तथा स्थल आक्रमणमा चार हजार तीन सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। इजरायली सेनाले सीमावर्ती क्षेत्रमा लेबनानभित्र करिब १० किलोमिटर फैलिएको आफ्नो स्वघोषित सुरक्षा क्षेत्रमा सैन्य कारबाही जारी राखेको छ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ५ : ५२ बजे

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी