शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती « Khabarhub

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

केही दिनभित्रै संस्थापनतिर जोडिने दाबी



काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो समय नेपाली कांग्रेसका सभापति गगन थापासँग नजिकिएका छन्।

गत साउन २९ देखि ३१ सम्म भएको देउवा पक्षको राष्ट्रिय भेलाले त्यस कुराको संकेत गरेको थियो । राष्ट्रिय भेलाको उद्घाटनमा सहभागी खड्का समापन समारोहबाट गयल भए । उनीसँगै अर्का नेता डा. शेखर कोइराला पनि समापनमा देखिएनन्।

यी दुवैजना नेताहरू अहिले सभापति थापासँग निरन्तर संवाद रहेका छन् । खड्कानिकट नेताहरूले उनी पार्टी फुटाउने पक्षमा नरहेको संकेत गरेका छन् । उता नेता कोइराला पनि आफ्नो मार्गचित्र गगनले मानेकाले एकताकै पक्षमा जानुपर्ने निचोडमा पुगेका छन् ।

२०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका पूर्णबहादुर गगनसँग नजिकिएपछि तत्कालीन सभापति देउवालाई समस्या भएको छ।

पूर्णबहादुर गगनसहित संस्थापनका नेताहरूसँग सम्पर्कमा रहेर नियमित भेटघाट गरिरहेको सूचना पाएपछि देउवाले आफूनिकट नेता डा. प्रकाशशरण महत, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. शशांक कोइरालालगायतसँग छलफल गरेका थिए। ती नेताहरूले पनि पूर्णबहादुरको भूमिकामा शंकास्पद देखिएकाले बोलाएर कुरा गर्न भनेका थिए ।

तर, अहिलेसम्म देउवा र खड्काबीच भेटघाट हुन सकेको छैन। दुई नेताबीच टेलिफोनमा संवाद भएको कुरा पनि पूर्णबहादुरको सचिवालयले पुष्टि गरेन। ‘नेताहरूसँग छलफल भइहाल्छ नि। पूर्वसभापति हो उहाँ, कुराकानी त भयो होला’, खड्काको सचिवालयका सदस्य भन्छन् ।

गत साउन २९ गते देउवा पक्षको राष्ट्रिय भेलामा पूर्णबहादुर र देउवाबीच लामो कुराकानी भएको थियो। त्यसको दुई–तीन दिनपछि भएको भेटबाहेक भदौ दोस्रो हप्तादेखि पूर्णबहादुर देउवाको सम्पर्कमा छैनन्।

अहिले पूर्णबहादुर खड्का तपाईंहरूको सम्पर्कमा हुनुहुन्न रे नि भन्ने प्रश्नमा कांग्रेस नेता डा. महत भन्छन्, ‘कांग्रेसका सबै नेताहरू पार्टी एक बनाउने तयारीमा हुनुहुन्छ। को कता सम्पर्कमा हुनुहुन्न भन्ने कुरै भएन नि। हामी सबै छलफलमै छौँ। कांग्रेसलाई कसरी एक बनाएर मिलाउने तयारीमै लागिरहेका छौँ। तर गगनजीहरू हामीबाट टाढिँदै हुनुहुन्छ।’

देउवालाई पूर्णबहादुर पूर्णरूपमा गगनसँग मिलिहाल्ने अवस्थाको सूचना पुगेको छैन। तर, गगन नेतृत्वको संस्थापन पक्ष भने केही दिनमै पूर्णबहादुरसहित शेखरसँग सहमति हुने बताउँछ।

‘कुराकानी गरिरहेका छौँ। केही दिनमै सहमति जुट्ला। त्यसपछि थाहा हुन्छ। अहिले कुरा भइरहेको छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘उहाँहरूसँगै थुप्रै नेता पार्टी एक बनाएर जान तयार हुनुभएको छ। केही दिनभित्रै नतिजा आउँछ।’

अहिले पूर्वसभापति देउवानिकट नेताहरूले गगनलाई सभापति स्वीकार्न सकेका छैनन्। गगन पनि पूर्वसभापति देउवानिकट नेताहरूसँग भेटेर कुराकानी गर्ने अवस्थामा छैनन्।

२०८२ फागुन १३ गते सिंगापुरतिर लागेका देउवा गत साउन २८ गते स्वदेश फर्किए । सिंगापुरबाट चैत गते हङकङ पुगेका उनी देशमा फर्किँदा पक्राउ पर्ने डरले साउन २७ सम्म त्यहीँ बसे । तर साउन २२ गते सर्वोच्च अदालतले गगनलाई सभापतिको मान्यता दिने निर्णयलाई पुनरावलोकनमा लैजाने निर्णय दिएपछि त्यसअघि पक्राउ गर्न तयार वालेन्द्र शाह नेतृत्वको सरकारले पनि देउवालाई रेड कार्पेट ओच्छयाएर स्वागत गर्‍यो।

पाँच महिनामा विदेशबाट देउवाले राष्ट्रिय भेला पनि आफ्नै नेतृत्वमा गरे । देउवाले राष्ट्रिय भेलामार्फत् १५औँ महाधिवेशन आफ्नै नेतृत्वमा हुनुपर्ने सन्देश पनि दिए । तर सभापति गगनले त्यो सर्त स्वीकारेन। बरू १५औँ महाधिवेशनको तयारी तीव्र बनाएको छ।

कांग्रेसको संस्थापन १५औँ महाधिवेशनमा जुटेपछि रोक्न देउवाले सर्वोच्च अदालतमा रिटसमेत दायर गरे। तर, अदालतले देउवाको रिटलाई न्याय दिएन। अदालतले १५औँ महाधिवेशनलाई निरन्तरता दिने बाटो खोलिदियो।

महाधिवेशनका गतिविधि रोक्न माग गर्दै पूर्णबहादुर पनि अदालत पुगेका थिए। तर, कांग्रेसलाई नै महाधिवेशनका गतिविधि बढाउन अनुमति दिएपछि उनी बाध्यात्मक अवस्थामा गगनसँग नजिकिएका हुन्।

पूर्णबहादुरसँग सम्पर्कमै हुनुहुन्छ भन्ने प्रश्नमा कांग्रेस महामन्त्री प्रदीप पौडेल भन्छन्, ‘हामी सबै नेताहरूसँग छलफलमै छौँ। पूर्णबहादुर दाइ मात्रै होइन, अरू नेताहरूसँग पनि छलफल चलिरहेको छ। सबै नेताहरू एकताको पक्षमा हुनुहुन्छ। तर, कतै-कतै केही कुरा मिलेको छैन। सानो उल्झन बाँकी रहेकाले १५औँ महाधिवेशनसम्म मिल्छ। नेताहरूले कांग्रेसको विधि, नीति र सिद्धान्तलाई माने त अहिले नै मिल्ने स्थिति छ। तर, उहाँहरूमा केही अलमल छ।’

शशांकलाई अगाडि सार्दा बिच्किए पूर्ण

बीपीपुत्र डा. शशांक कोइरालालाई देउवाले अगाडि सारेपछि पूर्णबहादुर बिच्किएका बताइन्छ। देउवा पक्षले अहिले सबै गतिविधि शशांकको नेतृत्वमा गर्दैछ । देउवाले चुनदेवीमा सभापतिको नेमप्लेट र बोर्ड टाँगे पनि बीपी पुत्र शशांकलाई संयोजक बनाइएको छ। देउवा चाहिँ अहिले निर्देशन दिने भूमिकामा छन् ।

देउवा नेपाल आउँदा पूर्णबहादुरले चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेर सभापतिकै हैसियतमा भित्र्याएको विषयमा पनि फरक मत राखेका थिए। तर, अरू नेताहरूले गगनलाई देखाउनका लागि यो गर्नैपर्छ भनेपछि उनी बाध्यात्मक अवस्थामा पुगेको बताइन्छ।

साउन २८ गते नेपाल आएका देउवालाई लिन पूर्णबहादुर पनि विमानस्थल पुगे। त्यसको भोलिपल्ट साउन २९ गतेको सभामा पनि उनी सम्बोधन गर्न पुगेका थिए। त्यसबेला गगनलाई सभापति मानेर अगाडि बढ्न तयार नभएको उनले बताएका थिए । तर, त्यसपछि देउवा समूहको अरू गतिविधिमा पूर्णबहादुर सामेल छैनन्। चुनदेवीबाट पनि गयल छन् ।

पछिल्लो समय देउवासँग टाढिनुभएको हो भनेर पूर्णबहादुरलाई खबरहबले सम्पर्क गरेको थियो। तर, उनले आफूले नचाहिने कुराको उत्तर दिन तयार नभएको बताए । ‘पूर्वसभापतिसँग पनि सम्पर्क हुने कुरा नहुने भन्ने हुन्छ र? यो त नचाहिने प्रश्न भयो’, उनले भने ।

यता देउवानिकट नेता रमेश लेखकलाई सोध्दा आफूलाई यसबारे जानकारी नभएको बताएका छन्। ‘मलाई त यसबारे जानकारी छैन। मेरो कुरा गर्नुहुन्छ भने म गगनजीहरूसँग संवादमा छैन। अरूको विषय मलाई थाहा भएन। म आमाको बारखीका कारण धेरै छलफल र संवादमा निस्किएको छैन।’

शेखर पनि गगनसँग नजिक

कांग्रेसमा यसअघि पनि कोइरालाको भूमिका यता न उताको थियो। आफ्नै पक्षका नेता गगन थापाले डोमिनेट गरेर हिँड्न थालेपछि शेखरले चित्त दुखाउँदै बीचमा बसेका थिए। तर, शेखरले न कांग्रेस मिलाउन सके, न गगनको मन जित्न नै सके, न त देउवालाई नै रिझाउन सके।

उनी अहिले गगनसँग बढी सम्पर्कमा छन्, शेरबहादुरसँग कमै मात्र। तर पनि उनको भूमिका यता न उताकै देखिन्छ। उनीनिकट नेताहरू पछिल्लो समय देउवाभन्दा गगनसँग बढी सम्पर्कमा रहेकाले गगनसँगै मिल्ने आकलन गर्छन्।

यसरी हामीले उनलाई सोध्दा कांग्रेस एकताको पक्षमा रहेको दाबी गर्छन्। अरू थप कुरा समयअनुसार देखिँदै जाने उनले जानकारी गराएका छन्।

गगन र शेखरबीच २१ भदौमा भेटवार्ता भयो। भेटवार्तामा शेखरले गगनलाई पार्टी एक बनाएर जाने विकल्पमा तयार रहन आग्रह गरेका थिए।

थापाले कांग्रेसको नीति र सिद्धान्तलाई टेकेर अगाडि बढ्दै आफूलाई नेतृत्व स्वीकारेको अवस्थामा कांग्रेस मिल्ने गगनलाई बताएका थिए। गगनले शेखरलाई विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार गर्दै १५औँ महाधिवेशनमा अगाडि बढे सबै कुरा मिल्ने बताए ।

कांग्रेस नियमित महाधिवेशनको तयारीमा लागेकाले अब जुनसुकै हालतमा आफ्नो दायित्व पूरा गरेर छोड्ने अडान गगनले शेखरसामु राखे । उता शेखरले गगनसँग मिल्न लागि विभिन्न ५ सर्त राखेका छन्।

स्रोतकाअनुसार अहिले शेखरका सर्तमा सकारात्मक रहेका गगनले छलफल गरिरहेका छन्। उता, पूर्णबहादुरले पठाएका सर्तमा कांग्रेस नेताहरू छलफलमा छन् ।

गगनले शेखरलाई आफूमा कुनै लोभ र पाप नरहेको बताउँदै कांग्रेस एक बनाएर अगाडि बढ्ने पक्षमा उभिन आग्रह गरेका थिए। ‘मलाई कुनै लोभ र पाप छैन। विधि र प्रक्रिया मानौँ, नियमित १५औँ महाधिवेशन गरौँ। कांग्रेसका शुभचिन्तकको माग पनि १५औँ महाधिवेशन हो। तल्लो तहसम्मका कार्यकर्ता पनि महाधिवेशनमा जुटिसक्नुभएको छ। तपाईंहरू सिनियर नेताले पार्टी एक बनाएर महाधिवेशन तयारीमा जुट्न आग्रह गरिदिनुहोला। तपाईंहरूले विधि र प्रक्रिया मानेर संवाद अगाडि बढाए मिलेर अगाडि बढ्न तयार हुन्छौँ।’

देउवालाई पनि अरूको कुरा नसुनी अभिभावक भएर पार्टी एकताको पक्षमा उभिन आग्रह गरिदिन गगनले शेखरलाई भनेका थिए। सिनियर नेताहरू अभिभावक बनेर अगाडि बढे पार्टी मिल्ने उनले बताए ।

‘सिनियर नेताहरूले पार्टी एक बनाउन भूमिका खेल्ने हो। पार्टी विभाजन र कार्यकर्ता भाँड्ने होइन। शेरबहादुर दाइलाई कुन हैसियतले सभापतिका रूपमा चुनदेवीमा राखियो, त्यो उहाँहरूको कुरा भयो। यसले उहाँहरूको स्तर देखाउँछ। हामी कस्तो राजनीतिक संस्कारबाट आएका हौँ भन्ने कुरा प्रस्ट भएको छ। कि उहाँहरूले पार्टी अर्को दर्ता गर्नुपर्‍यो? नत्र भने कांग्रेसलाई अहित हुने गतिविधि गर्नुभएन। यो मेरो कुरा होइन। आमकांग्रेस शुभचिन्तक र शुभेच्छुकको हो।’

शेखरले गगनसँग आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै शेरबहादुरसँग पनि कुरा गरिरहेको बताएका थिए। उनले गगनलाई पनि एकपटक देउवासँग भेटेर कुरा गर्न आग्रह गरेका थिए। तर, गगनले शेरबहादुर पक्षले नै उनीसँग कुरा गर्ने वातावरण नमिलाएको बताए ।

‘अहिले शेरबहादुर दाइनिकट केही नेताहरूले नै कुरा गर्ने वातावरण मिलाइदिनुभएको छैन। उपयुक्त समयमा पूर्वसभापतिसँग कुरा गर्न तयार छु। मैले कुरै गर्दिनँ भनेको छैन’, उनले भने।

शेखरले राखेका विभिन्न सर्तमा आफू छलफल गर्न तयार रहेको गगनले बताएका थिए । ती सर्तबारे पार्टीमा छलफल गरेर जानकारी गराउने बताएका छन्। थापाले पार्टी एक बनाउन शेखरलाई पनि अभिभावक भएर अगाडि बढ्न अनुरोध गरेका थिए।

शेखर पनि गगनका धेरै कुरामा सहमत छन्। तर, उनले केही कुरा सच्याउनुपर्ने माग राखेका छन्। नयाँ सदस्यता, चौधौँ महाधिवेशन प्रतिनिधिको नवीकरणलगायत शेखरका माग हुन् ।

यसबारे शेखर भन्छन्, ‘पार्टी एकताकै लागि भूमिका खेलिरहेको छु। तर, नेताहरू आफ्नै सुरमा लाग्दा केही समस्या देखिएका छन्। गगनजीहरूसँग संवाद भइरहेको छ। अर्कोतिर पनि संवाद भइरहेकै छ। मसँग कुनै स्वार्थ छैन। कांग्रेस विभाजन हुनबाट बचाउने पक्षमा छु। गगनजीहरू र हामी कहाँ टाढा थियौँ र ? छैनौँ नि ! हामी पार्टी एक बनाएर जुट्नुपर्ने अभियानमै छौँ।’

देउवानिकट नेताहरू शेखर आफूहरूसँग पनि सम्पर्कमा रहेको बताउँछन्। तर, देउवाले पार्टी विभाजन गरे उनी गगन नेतृत्वको आधिकारिक कांग्रेसतिर लाग्ने देउवा पक्षको पनि अनुमान छ।

‘शेखर र पूर्ण दाइ हाम्रोतिर भइदिनुभएको भए त अस्ति पार्टी विभाजनको धेरै प्रक्रिया अगाडि बढ्न सक्थ्यो । तर, उहाँहरूले पनि यसे हो भन्न सक्नुभएको छैन। पछिल्लो दिनमा उहाँहरू गगनजीसँग बढी सम्पर्कमा भएको कुरा आएको छ। इतरका नेताहरूसँग कम सम्पर्कमा रहेको जानकारी छ। यसबारे देउवा दाइसँग कुरा गरेका छौँ’, एक नेताले भने।

‘पार्टी एकताका लागि मैले धेरै भूमिका खेलेँ। तर, म थाकेर चुपचाप बसेको छु। मैले शेरबहादुर दाइलाई पनि म सक्दिनँ है भनेको छु। मैले विभिन्न कोणबाट छलफल गरेको हो। तर, दुवै पक्षको कुरा नमिलेपछि चुपचाप छु। पार्टी एकता गर्न धेरै गाह्रो छ’, ती नेता थप्छन् ।

दुवै पक्षलाई उचालेको दाबी

देउवा पक्षका नेता कान्छाराम तामाङ सभापति गगनलाई अरू नेताहरूले उचालेको मूल्याङ्कन गर्छन्। उनी गगन सोझो भएका कारण अरूको उक्साहटमा लागेको बताउँदै गगनले दुःख पाउने दाबी गर्छन् ।

‘गगन थापा अरूको उक्साइमा लागेका छन्। हेर्नुहोला, पछि दुःख पाउँछन्। कांग्रेसका धेरै नेताहरू शेरबहादुर दाइले पार्टी खोल्नुभयो भने त्यतातिर लाग्ने अवस्थामा छन्। तत्काललाई नभए पनि भविष्यमा शेरबहादुरको साथ लिन्छन्’, उनी भन्छन् ।

गगनले त एक सार्वजनिक कार्यक्रममा कांग्रेसका पूर्वसभापति देउवालाई सम्बोधन गर्दै ढाँटेको आरोप लगाएका थिए। देउवालाई उक्साएर अरूले ढाँटेको बताउँदै गगनले थपे, ‘आज तपाईंलाई सभापति नभनी हुँदैन भनेर भने। तर, तपाईं आउनुअघि कसैलाई पनि शेरबहादुर देउवाको बारेमा यो गर्नुपर्छ भनेर भन्न आएनन्। आज तपाईंलाई सभापति नभनी हुँदैन भनेर फेरि ढाँटे।’

गगनले भदौ १ गते केन्द्रीय कार्यसमितिको बैठकपछि सम्बोधन गर्दै देउवालाई यस्तो भनेका हुन्। खबरहबसँगको अन्तर्वार्तामा कांग्रेस उपसभापति पुष्पा भुसाल पनि देउवालाई अरू नेताहरूले एकताको पक्षमा उभिन नदिएको बताउँछिन्।

‘शेरबहादुर दाइ पार्टी एकताकै पक्षमा हुनुहुन्छ भन्ने हाम्रो बुझाइ हो। तर, अरू धेरैजना नेताहरूले उक्साइरहनुभएको छ। पार्टी विभाजनको पक्षमा लगिँदा शेरबहादुर दाइले हुन्न भनेर अभिभावक बनिदिनुपर्छ। उहाँलाई गलत रुपमा ट्रिट गरिराखिएको छ’, उनी भन्छिन् । देउवासँगै अरू नेताले पनि पार्टी एकताका लागि तयार हुनुपर्ने सुझाव भुसाल दिन्छिन्।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ६ : १४ बजे

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका

कुनै समय बालेनलाई भोट मागेका भिक्टर भन्छन्- ‘घण्टेहरू’ पनि ‘झोले’कै बाटोमा लागे

काठमाडौं- कुनै समय काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहका विश्वासपात्र