गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ सशस्त्र गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको थियो।
त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा १२ सैनिक मारिएको स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीय गाउँका काउन्सिलर अब्दुल्लाही मुसा मुतुन्जीले घटनामा १७ जनाको मृत्यु भएको पुष्टि गर्दै खानी मजदुरले गिरोहको धम्कीलाई बेवास्ता गरेको विषयलाई लिएर बदलास्वरूप आक्रमण गरिएको बताएका छन्।
आक्रमणमा आफ्ना छोरासमेत मारिएको लवान वानजामले एएफपीलाई बताएका छन्। उनका अनुसार स्थानीय गिरोहका एक नेताको योजनामा आक्रमण भएको थियो।
उत्तरपश्चिम तथा मध्य नाइजेरियाका ग्रामीण समुदाय वर्षौंदेखि सशस्त्र गिरोहको हिंसाबाट प्रभावित छन्। गिरोहले गाउँमा आक्रमण गर्ने, स्थानीय बासिन्दालाई अपहरण गर्ने तथा घर लुटपाटपछि आगजनी गर्ने गरेका छन्।
अनौपचारिक सुन खानी क्षेत्रमा कार्यरत मजदुरलाई पनि गिरोहले नियमित रूपमा निशाना बनाउने गरेका छन्। खानीस्थलमाथि नियन्त्रण कायम गर्ने र सुनबाट हिस्सा माग्ने उद्देश्यले उनीहरूले मजदुरमाथि आक्रमण गर्ने गरेको बताइएको छ।
घटनाबारे एएफपीले नाइजेरियाली सेनासँग प्रतिक्रिया मागे पनि तत्काल कुनै जवाफ प्राप्त नभएको जनाएको छ।














प्रतिक्रिया