काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन्।
महाधिवेशन निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार मंगलबार सम्पन्न उम्मेदवारी दर्ताका क्रममा पत्रकार पृष्ठभूमिका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका हुन्।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका पत्रकार अजयबाबु शिवाकोटीले सहमहामन्त्री (खुला) पदमा उम्मेदवारी दिएका छन्।
त्यस्तै, वरिष्ठ पत्रकार कविर राणाले केन्द्रीय सदस्य (खुला) तथा समिरजङ्ग शाह, शिव लम्साल र बाला अधिकारीले केन्द्रीय सदस्य (पेसागत)तर्फ उम्मेदवारी दिएका छन्। कमला हमालले केन्द्रीय सदस्य (युवा, महिला ३५ वर्षमुनि) पदमा उम्मेदवारी दिएकी छन्।
उम्मेदवारी दिने सबै जना कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनसँग आबद्ध छन्। राणा युनियनका केन्द्रीय सल्लाहकार हुन् भने शाह पूर्वअध्यक्ष, लम्साल वर्तमान अध्यक्ष, अधिकारी पूर्वअध्यक्ष र हमाल वर्तमान केन्द्रीय सदस्य हुन्।
यसअघि विशेष महाधिवेशनबाट अधिकारी कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते भएको थियो। नयाँ नेतृत्व चयनका लागि भोलि बिहान ७ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।














प्रतिक्रिया