काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध गराउने प्रयास भइरहेको छ ।
सभापतिमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि अब श्यामकृष्ण खड्गीलाई पनि उम्मेदवारी फिर्ता गराउने विषयमा थापा पक्षले संवाद अघि बढाएको बताइएको छ ।
१५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा थापा, खड्गी र राठौरले उम्मेदवारी दर्ता गरेका थिए। निर्वाचन समितिका अनुसार तीन जनाको उम्मेदवारी परेको थियो।
त्यसमध्ये राठौरले बुधबार सभापतिको उम्मेदवारी फिर्ता लिइसकेका छन् । राठौरले उम्मेदवारी फिर्ता लिएपछि सभापति पदमा थापा र खड्गी मात्र कायम छन् ।
अब खड्गीसँग पनि छलफल गरी उम्मेदवारी फिर्ता गराउने र थापालाई निर्विरोध सभापति बनाउने प्रयास भइरहेको कांग्रेसनिकट स्रोतको भनाइ छ ।
यसअघि १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् । दुवै पदमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।
कांग्रेसले यसै महाधिवेशनबाट वरिष्ठ उपसभापतिको नयाँ पद सिर्जना गरेको हो। उक्त पदमा शर्माको मात्रै उम्मेदवारी परेको थियो।
सभापति पदमा भने सुरुमा तीन जनाको उम्मेदवारी परेकाले निर्वाचन हुने अवस्था बनेको थियो । राठौरले उम्मेदवारी फिर्ता लिएपछि अब खड्गीलाई समेत सहमतिमा ल्याउने प्रयास भइरहेको हो ।














प्रतिक्रिया