किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त हमलामा कम्तीमा आठ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। हमलामा आवासीय भवनसहित नागरिक संरचनामा क्षति पुगेको छ भने कैयौँ घाइते भएका छन्।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही समयपछि बुधबार बिहान हमला भएको हो।
चेर्निहिभ क्षेत्रको प्रिलुकी सहरमा मिसाइल आवासीय भवनमा प्रहार हुँदा कम्तीमा चार जनाको मृत्यु भएको र तीन बालबालिकासहित २० जना घाइते भएको राज्य आपतकालीन सेवाले जनाएको छ।
राजधानी किएभमा ब्यालिस्टिक मिसाइलबाट भएको हमलामा दुई जनाको मृत्यु भएको नगर सैन्य प्रशासनले जनाएको छ। पोडिल्स्की जिल्लाको गैरआवासीय भवन र डार्नित्स्की जिल्लाको ग्यारेज परिसरमा आगलागी भएको तथा अन्य क्षेत्रमा भग्नावशेष खसेको प्रशासनले जनाएको छ।
किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर ताकाचेन्कोका अनुसार किएभ र आसपासका क्षेत्रमा ड्रोन तथा ब्यालिस्टिक मिसाइलबाट संयुक्त हमला भएको थियो। उनका अनुसार ओबुखिभ जिल्लाका तीन उत्पादन तथा भण्डारण सुविधामा क्षति पुगेको छ।
पोल्टाभा क्षेत्रको क्रेमेनचुकमा भएको हमलामा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ।
यसैबीच, रुसको रक्षा मन्त्रालयले युक्रेनभरि मिसाइल तथा ड्रोन उत्पादन र भण्डारणमा संलग्न औद्योगिक संरचनालाई लक्षित गरी रातभर ठूलो हमला गरिएको दाबी गरेको छ। मन्त्रालयका अनुसार किएभसहित चेर्निहिभ, किरोभोहराद, ड्निप्रोपेत्रोभ्स्क, पोल्टाभा, खार्किभ र ओडेसा क्षेत्रका विभिन्न संरचना पनि हमलाको निशानामा परेका छन्।
तर, रुसी रक्षा मन्त्रालयको उक्त दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको एसोसिएटेड प्रेसले जनाएको छ।














प्रतिक्रिया