काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य गरी एकताबद्ध हुन संस्थापन इतर समूहका नेताहरूलाई आह्वान गरेका छन् ।
बुधबार काठमाडौंको खुल्लामञ्चमा पार्टीको महाधिवेशन अन्तर्गत बन्द सत्रको अन्तिम दिन सम्बोधन गर्दै थापाले पुराना नेताहरूले पार्टी निर्माणमा दिएको लामो योगदानको स्मरण गर्दै पार्टीभित्रको विवाद अन्त्य गरी एकताबद्ध हुन संस्थापन इतर समूहका नेताहरूलाई आह्वान गरेका हुन् । उनले अब अदालत धाइराख्ने र समय बरबाद गर्ने काम छोडेर यो अध्यायलाई यहीँ अन्त्य गर्नुपर्ने उल्लेख गरे ।
उनले वैशाख ४ गतेको अदालतको फैसलापछि नै आफूले १५औँ महाधिवेशनतर्फ जाने र अदालत नधाउने स्पष्ट पारिसकेको स्मरण गराए ।
त्यस्तै थापाले पार्टीभित्र असहमति राख्न, प्रश्न गर्न र विरोध गर्न पाइने भए पनि अन्ततः पार्टीको नियम, पद्धति र अनुशासनभित्र सबै बाँधिनुपर्ने स्पष्ट पारे ।
अदालतको आदेशअनुसार तोकिएको समयमा नै अधिवेशन सम्पन्न गर्नुपर्ने दबाबका कारण केही जिल्ला वा क्षेत्रमा विवाद र कमजोरीहरू रहन गएको स्वीकार गर्दै थापाले अन्याय वा विवाद भएका विषयहरूलाई सच्चाउने प्रतिबद्धता जनाए । उनले बन्द सत्रको समाप्तिसँगै पार्टीभित्रको सबै गुटबन्दी समाप्त भएको बताए ।
महाधिवेशनको अन्त्यसँगै अव पार्टीलाई नयाँ विधि र पद्धतिबाट सञ्चालन गरिने उनको भनाइ छ । उनले पार्टीभित्र युवा र नयाँ नेताहरूलाई स्थान दिनका लागि पदाधिकारी लगायत सदस्यहरूको संख्या थप गरिएको बताए ।














प्रतिक्रिया