अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न « Khabarhub

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल थलोबाट विस्थापित भएर पश्चिमी सङ्ग्रहालयसम्म पुगे, त्यस क्रममा के-कस्ता सांस्कृतिक अर्थ हराए ? र ती सम्पदा फिर्ता गर्ने अधिकार कसको हो ? भन्ने विषयलाई कलामार्फत सशक्त रूपमा उठान गरेको अन्तरराष्ट्रिय कला प्रदर्शनी काठमाडौँमा सम्पन्न भएको छ ।

तारागाउँ नेक्स्टको आयोजना तथा सराफ फाउन्डेसनको सहयोगमा बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा आयोजित ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्ट: म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी सम्पन्न भएको हो ।

डा अर्शिया मन्सुर लोखण्डवालाले क्युरेट (संयोजन) गर्नुभएको उक्त प्रदर्शनीले दक्षिण एसियाका देवप्रतिमा, पाण्डुलिपि, मूर्तिकला तथा धार्मिक-अनुष्ठानिक वस्तुहरू आफ्नो जीवित सांस्कृतिक परिवेशबाट अलग भएर पश्चिमी सङ्ग्रहालय तथा निजी सङ्ग्रहमा पुगेपछि सिर्जना भएको सांस्कृतिक विच्छेदलाई कलात्मक दृष्टिकोणबाट प्रस्तुत गरेको थियो ।

धार्मिक आस्था, समुदाय र परम्परासँग प्रत्यक्ष सम्बन्ध राख्ने अमूल्य वस्तुहरू सङ्ग्रहालयमा पुगेपछि हेर्न र सङ्ग्रह गर्न मिल्ने ‘कलावस्तु’मा सीमित हुने अवस्थामाथि प्रदर्शनीले प्रश्न उठाइएको थियो । 

साथै, विस्थापित सम्पदाको स्वामित्व कसले निर्धारण गर्ने, त्यसको अर्थ कसले व्याख्या गर्ने र भविष्यबारे निर्णय गर्ने अधिकार कससँग रहने भन्ने समसामयिक बहसलाई समेत प्रदर्शनीले केन्द्रमा राखेको थियो ।

प्रदर्शनीमा नेपालका खाली भएका मन्दिर र त्यहाँबाट हराएका धार्मिक मूर्तिदेखि भारतबाट बाहिरिएका कास्य मूर्ति, पाकिस्तानको गान्धार क्षेत्रका मूर्तिकला तथा बङ्गलादेशको टेराकोटा सम्पदासम्मका सन्दर्भहरू समेटिएका थिए । 

यसले दक्षिण एसियाभर फैलिएको सांस्कृतिक सम्पदा विस्थापनको साझा पीडा र इतिहासलाई एकै थलोमा उजागर गरेको थियो ।

सम्पदा हराएको कथा मात्र नभई त्यस्तो विस्थापन सम्भव बनाउने औपनिवेशिक ज्ञान प्रणाली, अवैध कला तथा पुरातात्त्िवक वस्तुको बजार, संस्थागत भूमिका तथा सांस्कृतिक र आध्यात्मिक सम्बन्धभन्दा वस्तुको भौतिक स्वामित्वलाई प्राथमिकता दिने पश्चिमी सङ्ग्रहालयीय अभ्यासमाथि पनि प्रदर्शनी अवधिभर गहन विमर्श भएको थियो ।

प्रदर्शनीमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका ख्यातिप्राप्त कलाकारहरू तेम्सुयाङ्गर लोङकुमेर, रीतु सत्तार, शौर्य कुमार, राक्स मिडिया कलेक्टिभ, मिथु सेन, दिव्या मेहरा, मरियम घानी, एलएन तल्लुर, रोशन मिश्र, विशाल मानन्धर र जगत वीरसिङ्घेका विशिष्ट कलाकृतिहरू समावेश गरिएका थिए ।

सराफ फाउन्डेसनकी सहसंस्थापक नमिता सराफले सांस्कृतिक सम्पदा हराउने र पुन:फिर्ता ल्याउने विषय नेपालका लागि विशेष संवेदनशील र महत्त्वपूर्ण रहेको बताइन् ।

उनका अनुसार यस्ता प्रदर्शनीले दक्षिण एसियाली समाजलाई आफ्नो इतिहास आफ्नै दृष्टिकोणबाट हेर्ने र सांस्कृतिक सम्पदाको पुन:स्थापनाले भविष्यमा के अर्थ राख्छ भन्ने विषयमा विमर्श गर्ने बलियो आधार प्रदान गर्दछ ।

त्यस्तै, क्युरेटर डा लोखण्डवालाले विश्वभरका सङ्ग्रहालयहरूले आफ्ना सङ्ग्रहभित्र रहेको औपनिवेशिक इतिहासबारे पुनर्विचार गर्न थालेसँगै सांस्कृतिक सम्पदा फिर्ताको विषय वर्तमान समयको अनिवार्य सांस्कृतिक बहस बनेको उल्लेख गरिन्  । प्रदर्शनी अवधिमा कलाकार संवाद, कार्यशाला तथा अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरिएका थिए ।

सराफ फाउन्डेसनको सहयोगमा नेपालमा डा लोखण्डवालाले क्युरेट गर्नुभएको यो तेस्रो प्रदर्शनी हो । दक्षिण एसियाली सम्पदाको स्वामित्व, औपनिवेशिक इतिहास र सांस्कृतिक पुन:स्थापनाका विषयमा रुचि राख्ने विद्यार्थी, कलाकार, अनुसन्धानकर्ता तथा सम्पदाप्रेमीहरूको उल्लेखनीय सहभागिताका साथ प्रदर्शनी सम्पन्न भएको आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ११ : २२ बजे

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ–  कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्वका अवसरमा

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

काठमाडौँ– दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल

महिलामन्त्री बादी र मुख्यमन्त्री शाहीबीच भेट, के-के भए कुराकानी ?

सुर्खेत– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने, जथाभावी नफाल्न आग्रह

काठमाडौं– यही कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

ग्वाटेमाला सिटी- ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार गरिएको सशस्त्र