काठमाडौँ- सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले न्यायालयमा भ्रष्टाचार र बिचौलियाको प्रभाव बढ्नु चिन्ताजनक विषय भएको बताएका छन् ।
शनिबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले जनताले वास्तविक रूपमा न्याय पाएको अनुभूति गर्न अदालत र न्यायाधीशको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिए ।
अदालतमा भ्रष्टाचार र बिचौलियाको खेल हुनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै उनले सर्वोच्च अदालतसम्म पुग्दा यस्ता विकृति झन् ठूलो रूपमा देखिनु गम्भीर चिन्ताको विषय भएको बताए।
न्यायाधीशको आचरण, फैसला र आदेशहरू स्पष्ट तथा आम नागरिकले बुझ्ने खालका हुनुपर्ने उनको भनाइ थियो । न्याय सम्पादनमा कुनै पनि प्रकारको सम्झौता हुन नहुनेमा पनि उनले जोड दिए ।
न्याय क्षेत्रका हरेक तह र तप्कामा रहेका कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताउँदै डाँगीले आगामी दिनमा सर्वोच्च अदालतको भूमिका थप प्रभावकारी हुनुपर्ने धारणा राखे।
सुनुवाइका क्रममा उनले न्यायालय सुधारका लागि विभिन्न कार्ययोजना पनि प्रस्तुत गरे। न्यायाधीश आफैँले आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्ने, न्यायाधीशको कामकारबाहीमाथि प्रभावकारी निगरानी गर्नुपर्ने र न्यायिक प्रणालीमा देखिएका विकृति अन्त्य गर्नुपर्ने उनका प्रस्ताव छन् ।
न्यायालयप्रति जनविश्वास कायम राख्न न्याय सम्पादन पारदर्शी, निष्पक्ष र जवाफदेही हुनुपर्नेमा उनले जोड दिएका छन् ।














प्रतिक्रिया