काठमाडौं – औषधि व्यवस्था विभागले ललितपुरका फार्मेसीमा छड्के अनुगमन गर्दा १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रतिजैविक औषधिको बिक्रीवितरण गर्ने गरेको फेला परेको छ ।
विभागले ललितपुरका १६ वटा कम्युनिटी फार्मेसीको अनुगमन गरेको थियो । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले ललितपुरका १६ वटा कम्युनिटी फार्मेसीको अनुगमन गर्दा १३ वटामा एन्टिबायोटिक औषधीको बिक्रीवितरण गरेको पाइएको बताए ।
“ललिपतुरका १६ वटा फार्मेसीमा अनुगमन गर्दा प्रतिजैविक औषधिको दुरुपयोग हुने गरेको देखिन्छ”, उनले भने, “सोह्र वटा कम्युनिटी फार्मेसीमध्ये १३ वटा फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक ओभर द काउन्टर गरिरहेको पाइएको छ ।” यसरी बिनाप्रेस्क्रिप्सन एन्टिबायोटिक बिक्रीवितरण गर्ने फार्मेसीमा महालक्ष्मी–१ स्थित अन्विका फार्मेसी, भर्टेक्स फार्मेसी, इजी फार्मेसी रहेका छन् ।
यस्तै, ललितपुर महानगरपालिका–१५ स्थित विश्वास फार्मेसी, ललितपुर महानगरपालिका–२, ३, ४ र ७ मा रहेका केही फार्मेसी पनि रहेका छन् । महानिर्देशक भट्टराईले बिनाप्रेस्क्रिप्सन एन्टिबायोटिक बिक्रीवितरण गर्ने फार्मेसीलाई कानुनी कारबाही गरिने बताए ।














प्रतिक्रिया