कांग्रेस,एमाले र नेकपा भन्छन्: प्रतिनिधिसभामा गठबन्धन गरेर जाने छलफल भएको छैन « Khabarhub

कांग्रेस,एमाले र नेकपा भन्छन्: प्रतिनिधिसभामा गठबन्धन गरेर जाने छलफल भएको छैन

राष्ट्रिय सभाबारे भन्छन् : गणतन्त्र पक्षधर एक ठाउँमा उभिएका हौँ



काठमाडौं – गणतन्त्र पक्षधर दलले राष्ट्रिय सभामा भागबण्डा मिलाएर जाने भएका छन् । हालसम्मको सहमतिमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले सातसाथ सिट लिएर राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुँदैछन्। नेपाल कम्युनिस्ट पार्टी नेकपाले तीन सिट र जनता समाजवादी पार्टी जसपाले एक सिट लिएर राष्ट्रिय सभाको भागबण्डा मिलाइसकेको अवस्था छ। मङ्गलबार राति कुनै फेरबदल नभएको खण्डमा बुधबार बिहानसम्मको सहमति सबै गणतन्त्र पक्षधर मिलेर जाने सहमति भएको कांग्रेस नेता रमेश लेखक बताउँछन् । हुन त नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत पनि लेखकले भनेजस्तै कांग्रेसको पहलमा गणतन्त्र पक्षधर र एक भएर राष्ट्रिय सभाको निर्वाचनमा सन्देश दिएको बताउँछन्।

महतका अनुसार विशेष गरेर कांग्रेस सभापति शेरबहादुर देउवाको पहलमा सबै गणतन्त्र पक्षधर एक भएका हुन्। “विशेषत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सबै गणतन्त्र पक्षधर मिलेर राष्ट्रिय सभा निर्वाचनमा जाउँ एउटा गतिलो सन्देश पनि हुन्छ भनेर प्रस्ताव राख्नुभएको थियो”, महतले खबरहरबलाई भने,”यसमा नेकपाले सहमति नजनाएको भए एक भएर जाने अवस्था थिएन नेकपाका संयोजक प्रचण्डलाई पनि देउवाले सन्देश पठाइसकेपछि उहाँ सकारात्मक हुनुभयो त्यसपछाडि मात्र यही साता प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटघाट भएको हो ।”

राष्ट्रिय सभामा आगामी माघ ११ गते १८ जना सदस्यका लागि निर्वाचन हुँदैछ। त्यसका लागि ठूला दलहरू एकआपसमा मिलेका हुन्।

तीनवटै दलका नेताको दाबी : प्रतिनिधि सभामा मिल्ने निर्णयमा पुगिएको छैन
२०७९ को निर्वाचनमा चौथो ठूलो दल बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले यतिखेर वैकल्पिक दलहरूलाई आफ्नो पार्टीमा समायोजन गरिरहेको छ। भदौ २३ र २४ गते भएको नयाँ पुस्ताको जेनजी आन्दोलनबाट उदाएका राजनीतिक दल र नेताहरूलाई पनि रास्वपाले आफूमा समायोजन गरिरहेको छ। यसको असर अन्य दलहरूमा समेत देखिएको छ । जस्तो कि मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र जनता समाजवादी पार्टी जसपा पनि एक ठाउँमा आएका छन्। यता राजेन्द्र महत्त्व नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र अशोक राईको जसपा पनि एक ठाउँमा उभिएको छ। यसमा रेशम चौधरीलगायत नेताहरू पनि समेटिएका छन् ।

देशको पहिलो ठूलो पार्टी नेपाली कांग्रेस दोस्रो ठूलो पार्टी नेकपा एमालेले त यस अगाडि गठबन्धन गरेर सरकार नै सञ्चालन गरेका थिए। त्यही सरकारले डेलिभरी दिन नसकेको भनेर जेनजी आन्दोलनले उनीहरूको सरकार ढालेको थियो। अहिले जेनजीको नजरमा तत्कालीन सत्तापक्ष नेपाली कांग्रेस र नेकपा एमाले तारो बनेका छन्। नयाँ ठाउँमा आएका बेला उनीहरुलाई काउन्टर दिन एमाले र नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्छन् भन्ने गाईगुइ हल्ला फैलिन सुरु भएको छ । यति मात्र होइन दुई दिन अगाडि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीचको भेटघाटले कम्युनिष्ट पार्टीहरू पनि एक ठाउँमा आउँछन् कि भन्ने चर्चा हुन थालेको छ।

तर यी दुवै कम्युनिस्ट पार्टीको आज बसेको बैठकलाई नियाल्ने भने प्रतिनिधिसभा निर्वाचनमा यी दुई पार्टी एक भएर जाने अवस्था छैन। एमाले सचिव शेरधन राईका अनुसार आज भएको बैठकमा अध्यक्ष ओली र प्रचण्ड बीचको भेटघाटको विषयमा समेत कुराकानी भएको थियो। बैठकमा ओलीले प्रचण्डसँग बिल्कुल राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा र पछिल्लो राजनीतिक अवस्थाबारे मात्र कुराकानी भएको र प्रतिनिधिसभा निर्वाचनको विषयमा कुनै छलफल नभएको उल्लेख गरे। ” प्रतिनिधि सभा निर्वाचनमा एमाले एक्लै अगाडि बढ्छ । गठबन्धनको सम्भावना अहिलेसम्म देखिएको छैन। अहिले प्रतिनिधिसभा निर्वाचनको विषयमा चिन्ता गर्नुभन्दा पनि राष्ट्रिय सभा निर्वाचनलाई सफल बनाएर जाउँ भनेर अध्यक्ष ओलीले बैठकमा ब्रिफिङ गर्नुभयो”, राईले खबरहबसँग भने,”पार्टीहरूको परीक्षण जटिल अवस्थामा नै हुने हो। एमालेले सबैतिर आफ्नो संगठन बलियो बनाएको छ। बाहिर भाष्य जे भएपनि एमालेलाई निर्वाचन फेस गर्न गाह्रो छैन हामी एक्लै निर्वाचन लड्छौँ । उनले एमालेको सम्पूर्ण शक्ति अब निर्वाचन केन्द्रित भएको समेत दाबी गरेका छन्। हुन त यसअगाडि प्रतिनिधिसभा पुनर्स्थापनाको एजेण्डा बोकेको एमालेले आज भने सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको छ।

यस्तै सोमबार प्रचण्ड दिल्लीबाट फर्किएपछि नेकपाको परामर्श बैठक बसेको थियो। बैठकमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा छलफल भयो। बैठकमा संयोजक प्रचण्डले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचनमा गणतन्त्र पक्षधर एक भएर जाने सूचना गरेकाले त्यसमा आफ्नो धारणा राख्न नेताहरुलाई समय दिए । त्यसपछि सहसंयोजक माधव नेपाल नेता झलनाथ खनाल लगायतले पनि गठबन्धन गरेर जाने विषयमा दुई मत राखेनन् । तर उनीहरूले पार्टीको मतभारको हिसाबले सिट संख्या पाउनुपर्ने अडान राखेपछि नेकपाले चार सिट माग्यो। त्यसपछि राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन भएपछि प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन हुने कि नहुने भन्ने विषयमा कुरो उठेको थियो। कुरो उठेपछि प्रचण्ड र माधवले यस विषयमा पनि बोलेका थिए । उनीहरुले प्रतिनिधिसभा निर्वाचनमा नेकपालाई गठबन्धन गरेर जानुपर्ने अवस्था नरहेकाले एक्लै निर्वाचन लड्ने बताए । “

बैठकमा राष्ट्रिय सभा निर्वाचनलाई मात्र लिएर छलफल भएको छ किनभने राष्ट्रिय सभा निर्वाचनमा जनताले मत नगर्ने भएको हिसाबले यसमा गणतन्त्र पक्षधर मिलेर जाउँ भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव राखेर ओली पनि तयार भएपछि हाम्रो संयोजक कमरेडले पनि पार्टीमा छलफल गर्नुभएको हो । हामीले पनि सन्देश दिनका लागि ठिकै छ नि त मतभारका हिसाबले सिट संख्या पाउने भए समस्या भएन भनेको हो।” परामर्श बैठकमा उपस्थित नेकपा नेता राजेन्द्र पाण्डेले खबरहबलाई भने,” प्रतिनिधि सभा निर्वाचनमा नेकपाले कुनै पनि हिसाबमा गठबन्धन गर्ने कुरा भएको छैन र गरेको छैन। प्रचण्ड र ओलीबीच भेटवार्ता भएपनि हामीले एमाले अध्यक्ष ओलीलाई चिनिसकेका छौं उनीलाई आवश्यक परेको खण्डमा हामीलाई कनाउन आएका हुन् । नेकपाको संगठन यति व्यापक र ठूलो छ कि हामीलाई चुनावी गठबन्धन गर्नुपर्ने आवश्यकता छैन।”

हुन त नेकपा एमालेको एघारौँ महाधिवेशनमा पुगेर नेकपा नेता देव गुरुङले अहिले गणतन्त्र र संविधान नै खतरामा परेकाले बाम शक्ति एक हुनुपर्ने सन्देश दिएका थिए।

एमालेको महाधिवेशनमा पुगेर यहाँ अलि यस्ता कुरा गर्नुभएको आज के छलफल भयो पार्टीमा भन्ने प्रश्नमा गुरुङले भने,”राष्ट्रिय सभाको निर्वाचनमा त एक हुने भनेकै छ नि प्रतिनिधिसभाको निर्वाचनमा त अहिले छलफल गर्नु उपयुक्त होइन होला।”

नेकपा नेता पाण्डे र एमाले सचिव राईले भनेजस्तै नेकपा र एमालेले चुनावी गठबन्धन गर्दैनन् त भन्ने प्रश्नको जवाफ पाउनलाई केही समय भने कुर्नुपर्छ। तर खबरहबले प्राप्त गरेको जानकारी अनुसार पछिल्लो समय नयाँ पार्टीहरू मिलेर अगाडि बढेको खण्डमा विशेष विशेष ठाउँमा कांग्रेस एमाले र नेकपा मिलेर जाने संकेत भने देखिन्छ ।

“नयाँले पेल्दै गएको खण्डमा गणतन्त्र पक्षधरहरू एक हुने सम्भावना पनि हुनसक्छ”, एमालेका एक शीर्ष नेताले खबरहबलाई भने,”अध्यक्ष ओली कमरेडले नयाँ भुराहरू धेरै कराए भने ठाउँठाउँमा प्रतिनिधिसभामा पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ भन्ने सकेत गर्नुभएको छ।”

पार्टी विवादमै कांग्रेस, संस्थापन र इतरपक्षकै नेता भन्छन् गठबन्धन हुँदैन
पछिल्लो समय नेपाली कांग्रेसमा निर्वाचन अगाडि विशेष महाधिवेशन र निर्वाचनपछि नियमित महाधिवेश भन्ने विषयमा विभाजित भएको छ । कांग्रेस संस्थापन इतरपक्ष महामन्त्रीदय विश्वप्रकाश शर्मा गगन थापा र डा. शेखर कोइराला पक्ष विशेष महाधिवेशन को वकालत गरेर त्यसको तयारी गरिरहेका छन्। तर संस्थापन पक्ष शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने निर्वाचन केन्द्रित गतिविधि गर्नुपर्ने पक्षमा उभिरहेका छन्। जेनजी आन्दोलनपछि महाधिवेशनको विवादले निश्चित फर्ममा कांग्रेस आउन सकेको छैन। तर राष्ट्रिय सभामा गठबन्धन गरेर जाने विषयमा कांग्रेसमा दुईमत नभएको नेता लेखक बताउँछन्। लेखकसहितका नेताले बिहान एमाले र नेकपाका नेताहरूलाई भेटेर सिट बाँडफाँडको चाँजोपाँजो मिलाएका थिए । प्रतिनिधिसभामा पनि गठबन्धन हुन्छ भन्ने प्रश्नमा लेखकले भनेका छन्,” प्रतिनिधिसभामा गठबन्धन गर्ने विषयमा हामीबीच कुनै छलफल भएको छैन। चुनावमा प्रतिस्पर्धा गर्दा स्वभाविक रुपमा ठूलो दलले अन्य दलसँग गठबन्धन गरेर गर्नुपर्छ जस्तो लाग्दैन ।” लेखकले अगाडि भने,”हाम्रो पार्टीले पनि निश्चित फर्म समातेर निर्वाचन केन्द्रित गतिविधि गर्न सुरु गरिसकेको छ। त्यसकारण प्रतिनिधिसभामा गठबन्धन गरेर जानुपर्छ भन्ने मलाई लाग्दैन। यस विषयमा सभापतिले पनि कुनै संकेत गर्नुभएको छैन ।”

कतिपयले यहीँ अवस्थामा देउवाले अहिले चुनावी गठबन्धन हुन्छ भनेर संकेत गरेको अवस्थामा कांग्रेस अहिले नै फुट्न सक्ने आकलन पनि गर्छन्। २०७९ को निर्वाचनमा कांग्रेस नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संयुक्त गठबन्धनमा हुँदा रुखमा भोट लाउनुपर्ने मान्छेले हसिया हथौडा र कलम चुनाव चिन्हमा लाउनुपरेको भन्दै कांग्रेस शुभचिन्तकले गुनासो गरेका थिए । कतिपय नेताले त पार्टीमा विद्रोह नै गरेर छोडेका थिए।

यस्तै प्रश्न हामीले कार्यसम्पादन समितिका सहममन्त्री भिष्मराज आङ्दाम्बेलाई सोधेका थियौँ। उनले पनि अहिलेसम्मको पार्टी बैठकमा प्रतिनिधिसभामा गठबन्धन गरेर जाने विषयमा कुराकानी नभएको स्पष्ट पारे। उनले भने,”प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेर जाने कुनै पनि बाटो छैन। राष्ट्रिय सभामा गठबन्धन गर्ने भन्ने विषय त हाम्रो सभापतिले यस अगाडि नै राखिसक्नुभएको थियो ।”

यता संस्थापन इतर पक्षका नेता डाक्टर शेखर कोइराला पनि कांग्रेसले चुनावमा कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नभएको बताउँछन्। उनी पार्टीभित्रको विवाद मिलाएर गएको खण्डमा कांग्रेस अबको निर्वाचनमा पनि बहुमतसहितको पहिलो दल हुने कुरामा ढुक्क अवस्था रहेको बताउँछन् । उनले केही समय अगाडि खबरहबसँग भने,”कांग्रेसले निर्वाचन अगाडि नै महाधिवेशन गरेको खण्डमा कुनै पनि पार्टीसँग गठजोड गरेर प्रतिनिधिसभा निर्वाचनमा जानुपर्ने अवस्था आउँदैन। कांग्रेस पार्टीलाई थुप्रै शुभेच्छुक र जनताको साथ छ।”

संस्थापन इतर पक्षका नेता डा. शेखर कोइराला पनि कांग्रेसले चुनावमा कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नभएको बताउँछन्। उनी पार्टीभित्रको विवाद मिलाएर गएको खण्डमा कांग्रेस अबको निर्वाचनमा पनि बहुमतसहितको पहिलो दल हुने कुरामा ढुक्क अवस्था रहेको बताउँछन् । उनले केही समय अगाडि खबरहबसँग भने,” कांग्रेसले निर्वाचन अगाडि नै महाधिवेशन गरेको खण्डमा कुनै पनि पार्टीसँग गठजोड गरेर प्रतिनिधिसभा निर्वाचनमा जानुपर्ने अवस्था आउँदैन। कांग्रेस पार्टीलाई थुप्रै शुभेच्छुक र जनताको साथ छ।”

यता कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट व्यक्तिका अनुसार विशेष-विशेष ठाउँमा कांग्रेसले पनि गठबन्धन गरेर निर्वाचनमा जाने विषयमा भने गाईगुई छलफल सुरु गरेको छ।

नयाँ शक्तिको आक्रमक मिलापलाई पुरानाले पनि सिको गरेर कांग्रेस,एमाले र नेकपा पनि राष्ट्रिय सभामाको जस्तै प्रतिनिधि सभामा मिलेको खण्डमा विशेष परिस्थितिमा भएको निर्वाचन निकै रोचक र हेर्न लायक हुने देखिन्छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ९ : ५३ बजे

प्रतिनिधिसभा निर्वाचन : रोल्पाबाट उम्मेदवार सिफारिस भएपछि विप्लवले दिए धन्यवाद

काठमाडौं – नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रोल्पा

बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

बैतडी – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीको भर्ना खुल्यो

काठमाडौं – निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी – निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने