काठमाडौं – नेकपा (एमाले)ले तत्कालीन केपी ओली नेतृत्वको सरकारकै विरोध गर्ने व्यक्तिलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रिय सभामा खाली रहेको सिटमा एमालेले गण्डकी प्रदेशको तर्फबाट ओली नेतृत्वको सरकारलाई ‘नरसंहार’ गरेको भन्दै टिप्पणी गर्ने सम्झना देवकोटालाई उम्मेदवारमा सिफारिस गरेको हो ।
भदौ २३ गते तत्कालीन ओली नेतृत्वको सरकारले जेनजी आन्दोलनमाथि नरसंहार गरेको भन्दै देवकोटाले पार्टीले नयाँ रूप नलिएसम्म सो नरसंहारको भागिदार नलिने घोषणा सामाजिक सञ्जाल फेसबुकबाट गरेकी थिइन् ।
‘हिजोको घटना सरकारले पूरा जिम्मेवारी लिनुपर्छ । मैले आजबाट पार्टीले नयाँ रूप नलिएसम्म, म यो नरसंहारको भागिदार नलिने निर्णय लिएको छु । म पहिला म नेपाली …..’, देवकोटाले जेनजी आन्दोलन लगत्तै फेसबुकमा स्टाटस लेखेकी थिइन् ।
आगामी माघको ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलले मोर्चा बनाएर प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् । जसमा एमालेले ८ र कांग्रेसले नौ जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
राष्ट्रिय सभा निर्वाचन कार्यक्रम अनुसार पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन्।













प्रतिक्रिया