पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न राससको तालिम केन्द्र « Khabarhub

पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न राससको तालिम केन्द्र


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय समाचार समिति (रासस)ले पत्रकारिता क्षेत्रमा व्यावसायिक एवं दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता महसुस गरी चितवनको भरतपुरमा ‘तालिम केन्द्र भवन’ निर्माण गरेको छ । 

आमसञ्चारसँग सम्बन्धित सैद्धान्तिक, व्यावहारिक र प्राविधिक ज्ञान दिने उद्देश्यले सो तालिम केन्द्र भवन निर्माण गरेको हो । भरतपुर महानगरपालिका–१० मा राससको आफ्नै जमिनमा भूमिगत पार्किङसहित चार तलाको भवन तयार भएको छ ।

त्यसमाथि अझै दुई तला थप गर्नसकिने गरी भवन निर्माण तथा नक्सांकनको व्यवस्थासमेत गरिएको छ । भवनमा १३ वटा आवासीय कक्ष, स्टुडियो, प्रयोगशाला, तालिम कक्ष, चमेना गृह, कार्यालय कक्षलगायतका सुविधासम्पन्न पूर्वाधार निर्माण गरिएका छन् । सो भवनमा ३० जनालाई आवासीय सुविधासहितको तालिम दिन सकिने व्यवस्था छ ।
 
विसं २०८० जेठ ८ गते निर्माण सम्झौता भई काम सुरु गरिएको सो केन्द्रको नवनिर्मित भवन अहिले हस्तान्तरणको चरणमा पुगेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, भरतपुरले पाँच करोड ७६ लाख ७१ हजारमा भवन निर्माण गरेको छ । 

यसैगरी बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘एयरकण्डिसन’ जडानका लागि १७ लाख ५० हजार बजेट विनियोजन गरेको छ । त्यस्तै भरतपुर महानगरपालिकाले रु नौ लाख सहयोग गरेको छ ।
 
यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तालिम केन्द्रले व्यावसायिक पत्रकारिताको दायर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । सो भवनको निरीक्षण गर्दै सञ्चारमन्त्री खरेलले भने, ‘व्यावसायिक पत्रकारिताको कुरा गरिरहँदा त्यसका लागि क्षमता विकास, तालिम, अनुभव साटासाट तथा कार्यशाला आवश्यक पर्छ । यस्ता कार्यक्रम सञ्चालन गर्न उपयुक्त स्थानको अभाव थियो, यस्तो अवस्थामा बनेको राससको तालिम केन्द्र अतिउपयोगी हुनेछ ।’
 
उनले राज्यद्वारा सञ्चालित सञ्चार माध्यमका पत्रकार मात्र होइन, निजीक्षेत्रका सञ्चार माध्यमका पत्रकारहरूका लागि पनि तालिम आयोजना गर्दा विभिन्न होटलमा जानुपर्ने बाध्यात्मक अवस्थामा आधुनिक स्टुडियोसहितको तालिम केन्द्र सञ्चालनमा आएपछि मुलुकका आमसञ्चारमाध्यम र सञ्चारकर्मी लाभान्वित हुने विश्वास व्यक्त गरे।  
 
सञ्चारमन्त्री खरेलले सो तालिम केन्द्रका लागि आवश्यक सामग्री खरिदका क्रममा सहजीकरण एवं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। आवागमनका हिसाबले उपयुक्त स्थानमा तालिम केन्द्र निर्माण भएकाले यसबाट समग्र पत्रकारहरू लाभान्वित हुने विश्वास व्यक्त गर्दै उनले व्यवस्थित ढङ्गबाट तालिम केन्द्र सञ्चालन गरी यसलाई उपलब्धिमूलक बनाउन रासस व्यवस्थापनको ध्यानाकर्षण गरे।  
 
महानगर प्रमुख रेनु दाहालले पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि महानगरपालिकाले सक्दो सहयोग गरिरहेको बताउँदै आधिकारिक समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका रहेको राससको भरतपुरस्थित तालिम केन्द्र निर्माणमा ‘टोकन मनि’का रुपमा सहयोग गरेको र आगामी दिनमा पनि सहयोग जारी रहने स्पष्ट पारे। 

उनले भने, ‘देशभरका पत्रकारको क्षमता अभिवृद्धिका लागि भरतपुरमा तालिम केन्द्र बन्नु हाम्रा लागि गौरवका विषय हो, सहयोग र सहकार्यका अवधारणाबमोजिम राससलाई सहयोग गर्न महानगरपालिका तयार छ ।’
 
यसैगरी जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले राससको नवनिर्मित भवन आकर्षक, बलियो, राम्रो र बहुउपयोगी रहेको बताए। उनले तालिम केन्द्रमा पत्रकारिताका  साथै अन्य क्षेत्रका तालिम गोष्ठीसमेत आयोजना गरी बहुउपयोगी बनाउन सुझाव दिए ।
 
नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुलीले देशकै मध्यभागमा अवस्थित चितवनको भरतपुरमा निर्माणाधीन रासस तालिम केन्द्र सञ्चालनमा आएपछि आमसञ्चार क्षेत्रमात्र नभई समग्र क्षेत्र लाभान्वित हुनुपर्नेमा जोड दिए।
 
राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आमसञ्चार क्षेत्रको विद्यार्थी, क्रियाशील आमसञ्चारकर्मी र सक्रिय प्रशिक्षकका रुपमा आफूले प्राप्त गरेको ज्ञान र अनुभवका आधारमा नियमित अध्ययन, तालिम तथा क्षमता अभिवृद्धिजस्ता कार्यक्रमको अभावमा पत्रकारितासहित कुनै पनि पेसा, व्यवसाय सफल नहुने निष्कर्षमा आफू पुगेको स्पष्ट गर्दै भरतपुरमा तालिम केन्द्रको भवन निर्माण हुनु समग्र आमसञ्चार क्षेत्रका लागि गौरवका विषय हो भने ।  
 
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत रहेका झाले भने, ‘कार्यकारी अध्यक्ष पदमा नियुक्त भएपछि राससको बृहत्तर हितमा गर्न सकिने र गर्नुपर्ने कामका विषयमा चरणबद्ध रुपमा छलफल गर्दा विभिन्न सुझाव प्राप्त भए । त्यसक्रममा गुणस्तरीय समाचार सामग्रीमा जोड दिँदै श्रव्यदृष्य सेवाको विस्तरसहित राससको पहुँच वृद्धि गर्ने र प्रशिक्षण तथा तालिम कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने विषयलाई प्राथमिकतामा राखेँ । सोहीबमोजिम देशकै मध्यभागस्थित भरतपुरमा रासस तालिम केन्द्र स्थापना गर्ने योजना कार्यान्वयन गरी लक्ष्य पूरा गर्ने निष्कर्षसहित तत्कालीन सहरी विकाससचिव डा रमेश सिंहज्यूसँग गरिएको अनुरोधपछि बजेट व्यवस्था भई सुविधासम्पन्न भवन बन्न सम्भव भएको हो ।’  
 
कार्यकारी अध्यक्ष झाले भने, ‘आमसञ्चार तथा सूचनाको हकसम्बन्धी विषयमा तालिम दिनेक्रममा मुलुकका सबैजसो जिल्ला पुगेको छु । पालिका तथा जिल्ला तहमा पत्रकारको सङ्ख्या बढे पनि अपेक्षा गरिए जति जिम्मेवार तथा व्यावसायिक पत्रकारिता हुन नसकेको भन्ने आमगुनासो सुनिन्थ्यो । सूचना तथा प्रविधिको क्षेत्रमा भित्रिएको नयाँ प्रविधि एवं मूल्यमान्यतालाई आत्मसात् गर्न र आमपाठक, स्रोता तथा दर्शकको विश्वास जित्न तालिम तथा प्रशिक्षण आवश्यक छ । यसै परिवेशमा निर्माण भई सञ्चालनमा आउन लागेको रासस तालिम केन्द्र आमसञ्चारकर्मीका लागि कोसेढुङ्गा सावित हुने विश्वास लिएको छु ।’   
 
सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा तालिम केन्द्र भवन निर्माण गरिएको स्पष्ट गर्दै उनले अब यो सञ्चालनमा आएपछि राससकर्मीसहित देशभरका सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रमले निरन्तरता पाउने र त्यसबाट मुलुकको समग्र आमसञ्चार क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गरे।
 
यसैगरी राससका महाप्रबन्धक सन्दीप राईले अधिकांश तालिम केन्द्र सुविधासम्पन्न ठूला होटल तथा काठमाडौँमा केन्द्रित रहेको सन्र्दभमा देशको मध्यभागमा पर्ने भरतपुरस्थित रासस तालिम केन्द्र सञ्चालनमा आएपछि मुलुकको आमसञ्चार क्षेत्रलाई उल्लेख्य राहत पुग्ने धारणा व्यक्त गरे।
 
सङ्घीय सरकारअन्तर्गत सहरी विकास तथा भवन निर्माण आयोजना भरतपुरको सुपरीवेक्षणमा तयार हुनलागेको सो भवन निर्माणमा ‘ऋषि शक्ति विल्डर्स एण्ड इन्जीनियर्स प्रालि’ संलग्न छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  २ : ३२ बजे

निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनको समयमा

रास्वपाद्वारा उम्मेदवार आकांक्षीका लागि आचारसंहिता जारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का

चितवन पुगेर रविले भने : रास्वपा कसैसँग गठबन्धन गर्दैन, एक्लै सबै सिट जितेर देखाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते

विशेष अधिवेशन पक्षधर युवाहरुको आक्रोश- ‘पार्टी फुटाउने होइन, कुर्सी हल्लाउने हो’

काठमाडौं- लोकतान्त्रिक अभ्यासमा आफूलाई अब्बल मान्दै आएको नेपाली कांग्रेस यतिबेला

प्रधानमन्त्रीले भनिन्- पृथ्वीनारायणलाई सच्चा नेपालीले श्रद्धा र सम्मान गर्नुपर्छ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको