कुलमानलाई प्रश्न गर्दा माइक खोसिएका इन्जिनियर भन्छन् : ‘देवत्वकरण’ गरिएकाहरू आलोचना सुन्नै नसक्दा रहेछन् « Khabarhub

कुलमानलाई प्रश्न गर्दा माइक खोसिएका इन्जिनियर भन्छन् : ‘देवत्वकरण’ गरिएकाहरू आलोचना सुन्नै नसक्दा रहेछन्


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित थिए ऊर्जामन्त्री कुलमान घिसिङ । उक्त कार्यक्रममा अधिकांश इन्जिनियर र इन्जिनियरिङ पढिरहेका विद्यार्थीहरू सहगभाी थिए ।

उक्त कार्यक्रम भएको हलको पछाडितर्फ सहभागीका रुपमा उपस्थित थिए एकजना सिभिल इन्जिनियर अन्तिम प्रसिद्ध धिताल । इन्जिनियरहरूसहित समाजका विभिन्न वर्गका सदस्यहरू सहभागी भएको उक्त कार्यक्रमका लागि एउटा अनौठो नियम बनाएका थिए आयोजकले- प्रमुख अतिथिलाई राजनीतिक प्रश्न गर्न नपाइने ।

तर, कार्यक्रममा उपस्थित भएका उनै इन्जिनियर धितालले सुरूमा उज्यालो नेपाल पार्टी खोलेर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति पदमा पुगेका कुलमानलाई कार्यक्रमको अन्तिमतिर प्रश्न गर्ने मौका पाए ।

‘तपाईं नागरिक जगमा बनेको सरकारको मन्त्री हो वा रास्वपाको मन्त्री हो ? प्रश्न एक यो छ’, तर उनी बोल्दा बोल्दै उद्घोषकले हस्तक्षेप गर्दै भन्छन्, ‘यहाँ राजनीतिक प्रश्न गर्न नपाउने नियम छ, त्यस्तो प्रश्न नसोध्नु होला ।’

उद्घोषकले हस्तक्षेप गरे पनि धिताल रोकिँदैनन् । त्यससँगै उनी सोध्छन्, ‘तपाईं यदि नागरिक जगमा बनेको सरकारको मन्त्री हो भने रास्वपाको नेता कसरी ? रास्वपाको नेता हो भने नागरिक जगमा बनेको सरकारको मन्त्री कसरी ?’ त्यसपछि उद्घोषक केही रिसाएका सुनिन्छन् । हस्तक्षेप गर्दै भन्छन्, ‘भयो, भयो, भयो राजनीतिक प्रश्न नराख्नु होला है साथीहरू….’ उनले त्यसो भन्दै गर्दा एकजना युवक पुगेर धितालको हातबाट माइक पनि खोसिदिन्छन् ।

प्रश्न गरिनसक्दै माइक खोसिएपछि ती युवक धिताल असमञ्जसमा परेको भिडियोमा देख्न सकिन्छ । उनको उक्त प्रश्नको जवाफ दिने औपचारिकता पनि कुलमानले पूरा गर्छन् । ‘म आजका दिनसम्म कुनै पनि पार्टीको सदस्य छैन, त्यति मात्रै भन्छु’, उनले जवाफको औपचारिकता पूरा गर्दै भने ।

प्रश्न गर्दा आयोजकले बोल्नै नदिने गरेको कोसिसप्रति धिताले चित्त दुखाएका छन् । उनले उक्त प्रश्न आफूले कसैप्रति लक्षित गरेर नगरेको पनि बताएका छन् ।

‘म एक सिभिल इन्जिनियरको नाताले त्यहाँ सहभागी भएको थिएँ । अलिक ढिलो पुगेकाले सम्भवतः अन्तिमतिर मात्रै आफ्नो प्रश्न राख्ने अवसर पाएँ’, उनले भने, ‘मेरो प्रश्न कुनै व्यक्तिप्रति लक्षित थिएन । देश नै समस्याग्रस्त भएको अवस्थामा इन्जिनियरिङ पेशा कसरी अछुतो रहन सक्छ ?’

उनले देशमा प्रश्न उठाएर, नैतिकताको पाठ पढाएर मन्त्री बन्नेहरू नै अहिले नैतिकवान हुन छाडेको टिप्पणी पनि गरेका छन् । ‘देशमा प्रश्न उठाएर राजनीति गर्नेहरू, नैतिकताको पाठ पढाएर मन्त्री बन्नेहरू, आन्दोलनको जगमा बनेको सरकारका प्रतिनिधिहरू स्वयम् नैतिक हुन नपर्ने ?’, उनको प्रश्न छ, ‘कुनै न कुनै पार्टीको झण्डामुनि उभिएर ‘नैतिकता’ देखाउने यो कस्तो प्रदर्शन हो ?’

उनले नागरिक जगमा बनेको सरकारका मन्त्रीलाई प्रश्न गर्नै नपाइने अवस्था सिर्जना गरिएकोमा चित्त दुखएका छन् ।

‘यति मात्रै भन्न खोजेको थिएँ । तर दुर्भाग्यवश त्यहाँ प्रश्न गर्न रोक लगाइयो । माइक खोसियो, थर्काइयो’, उनले पीडा पोख्दै भनेका छन्, ‘प्रश्न सुन्नै नचाहने, जवाफ दिनु नपर्ने मानसिकता देखियो । अझ दुःख लाग्दो कुरा जनताले आशा गरेर ‘देवत्वकरण’ गरिएका पात्रहरू नै अलिक बढी मात्तिएका, अलिक बढी अहंकारी र आलोचना सहन नसक्ने देखिए ।’

उनले प्रश्न गर्न नपाइने अवस्थाबाट गुज्रिएर देश नबन्ने पनि टिप्पणी गरेका छन् । ‘प्रश्न गर्न नपाइने, असहज सत्य सुन्न नचाहने, जवाफदेही हुनु नपर्ने संस्कारबाट देश कसरी बन्छ ? मेरो चिन्ता यति मात्रै हो’, उनले भनेका छन् ।

कुलमानको अटेरी

यी इन्जिनियर युवाको प्रश्नले बिचलित देखिएका ऊर्जमन्त्री घिसिङले त्यही कार्यक्रममा अन्तरिम सरकारबाट राजीनामा नदिने अडान राखे ।

कुनै पार्टीको सदस्य नभएको झूटो स्पष्टीकरण दिँदै उनले सरकारबाट नबाहिरिने बताए । यसरी झूटो जवाफ दिएका कुलमानले आफ्नै पहलमा उज्यालो नेपाल पार्टी दर्ता गरेका थिए । उनले उक्त पार्टीको अध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई बनाएका थिए ।

उनी उज्यालो नेपालको संगठन विस्तारका लागि देशका विभिन्न भागमा पुगे । तर अचानक उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा उज्यालो नेपाललाई विलय गराए । रविको पार्टीबाट बिलय हुँदा गरिएको सहमतिपत्रमै कुलमान उपसभापति हुने उल्लेख छ ।

उनी रास्वपामा सभापति लामिछानेपछिको दोस्रो वरीयता लिएर उपसभापतिको हैसियतमा छन् । उनले आफ्नोतर्फबाट १८ जनालाई समानुपातिक सूचीमा पनि राखेका छन् ।

गत पुस १० मा काठमाडौंको त्रिपुरेश्वरमा उज्यालो नेपालको कार्यालय उद्घाटन हुँदा आफैं पुगेका थिए । यस्तै कुलमानले केन्द्रदेखि प्रदेशसम्म उज्यालो नेपालको कार्यक्रममा भाग लिए ।

कुलमानको यस्तो किसिमको सक्रियताबीच सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दलीय राजनीतिमा लागेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइन् ।

प्रधानमन्त्रीको उक्त निर्देशनलाई बेवास्ता गर्दै कुलमानले आफू कुनै दलको सदस्य नभएको भनेर राजीनामा दिन मानेनन् । उता युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि रास्वपामा सक्रिय छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पनि ललितपुरबाट रास्वपाको टिकट लिएर उठ्ने तयारीमा छन् ।

कुलमान रास्वपाको उपसभापति बन्ने लिखित समझदारी भएको अवस्थामा रास्वपामा प्रवेश गरेको कुरा अस्वीकार गरेका हुन् ।

मन्त्रीहरू दलीय राजनीतिमा होमिन थालेपछि नागरिक सरकारकी प्रधानमन्त्री कार्कीमाथि हटाउनुपर्ने दबाब बढेको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : ५४ बजे

ठेक्का तोड्नमै चार महिना बिताएका कुलमानले दिएनन् निकासको बाटो

काठमाडौं- हिउँदयाम, विकासे कामका लागि उपयुक्त समय हो । हिउँदमा

प्रदेशमा विकास निर्माण तथा योजनाको कार्य ठेक्का प्रक्रियाबाट हुने : मुख्यमन्त्री यादव

जनकपुरधाम–  मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशमा सुशासन कायम

पहिले केरायुद्ध, अहिले तेलयुद्ध !

काठमाडौं- ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको हस्तक्षेपकारी नीति नौलो विषय

‘श्रीमतिले गायन त्यागेर मलाई नायक बनाइन्’

काठमाडौं – नायक दयाहाङ राई स्टारर फिल्म ‘मिरमिर’मा समावेश एक