काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा एमाले र नेपाली कांग्रेस सधैँ मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।
तर, यसपटक वैकल्पिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यी स्थापित दुई दललाई कडा टक्कर दिने देखिएको छ। रास्वपाका उम्मेदवार उमेरले कान्छा भए पनि राष्ट्रिय राजनीतिमा अब्बल भूमिका निभाउनसक्ने क्षमताका प्रतीत हुन्छन् ।
छिमेकी चितवनमा रास्वपाको पकड निकै राम्रो छ । चितवन रास्वपाका लागि अरु दलको जरो हल्लाउने इपिसेन्टर नै भएको छ।
चितवनसँगैको नवलपुर यसपटक परिवर्तनको पक्षमा खडा भएमा पुराना दलहरूलाई चुनौती थपिने देखिएको छ । तर, संगठनको हिसाबले एमाले र कांग्रेसको तुलनामा रास्वपा कमजोर छ । गत निर्वाचनमा केही मत काट्न सफल रास्वपाले यसपटक कतिको चुनौती देला फागुन २१ नै कुर्नुपर्ने भएको छ ।
नवलपुर-२ एमालेको राम्रो पकड भएको ठाउँ हो । २०४८ सालको निर्वाचनमा एमालेका उम्मेदवार मोजीलाल थनेत थारू विजयी भएका थिए । २०५१ को मध्यावधिमा एमालेकै चन्द्रमणि खरालले जित निकाले । त्यसपछि २०५६ को आमनिर्वाचनमा एमालेका तर्फबाट मोजीलाल थनेत थारू फेरि निर्वाचित भए ।
२०६४ को पहिलो संविधानसभा सदस्यको निर्वाचनमा देशभर एमाले तेस्रो शक्ति बन्यो । तर यो क्षेत्रबाट एमालेकै उम्मेदवार कृष्णप्रसाद पौडेल निर्वाचित भए । २०७० को निर्वाचनमा एमालेकै जीवन श्रेष्ठले बाजी मारे । २०७४ मा पनि एमालेकै तिलकबहादुर महत क्षेत्री निर्वाचित भए ।
एमालेको तीन दशकभन्दा लामो विरासत भत्काएर २०७९ को निर्वाचनमा यहाँबाट कांग्रेसका विष्णुकुमार कार्कीले बाजी मारे । कार्कीले एमालेका तिलकबहादुर महत क्षेत्रीलाई पराजित गरेका हुन् ।
माओवादी केन्द्रसँग गठबन्धन गरेको कांग्रेसले ०७९ मा ३६ हजार १३२ मत प्राप्त गरेको थियो । त्यसैगरी, एमालेले ३४ हजार ११० मत प्राप्त गरेको थियो । रास्वपाले ६ हजार ४४९ र राप्रपाले ३ हजार २४६ मत प्राप्त गरेका थिए ।
समानुपातिकमा कांग्रेसले २६ हजार २५, एमालेले २० हजार ९४, माओवादी केन्द्रले ३ हजार ५१९, रास्वपाले १२ हजार ९१६ र राप्रपाले ४ हजार २६ मत प्राप्त गरे ।
अहिले नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता छन् । पुरुष एक लाख २९ हजार ५४, महिला एक लाख ३९ हजार ४६८ तथा यौनिक अल्पसंख्य चार जना छन् । २०७९ को निर्वाचनमा यहाँ दुई लाख ६० हजार ४६१ मतदाता थिए । तत्कालीन समयभन्दा अहिले ८ हजार ६५ मतदाता थपिएका छन् ।
यहाँबाट यसपटक कांग्रेसले ओम घर्ती मगर, एमालेले तिलक महतो र रास्वापले मनिष खनाललाई मैदानमा उतारेको छ । चितवनको प्रभाव यहाँ पनि पर्ने देखिँदा यस पटकको चुनावमा त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना बलियो छ।
के भन्छन् उम्मेदवार ?
गण्डकीकै नमूना जिल्ला बनाउँछु : तिलक महत

एमाले नेता तिलक महतोले आफ्ना अधुरा योजना सफल कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् । उनले खबरहबससँग कुरा गर्दै भने, ‘गणतन्त्रमा एमालेको पहलले यस क्षेत्रलाई नयाँ जिल्ला बनाएको हो । अघिल्लो कार्यकालमा भौतिक पूर्वाधारका काम सुरू गरेर केही सकिए । केही बाँकी रहे । अब बाँकी र नयाँ काम गर्न मेरो उम्मेदवारी हो । नवलपुरलाई गण्डकीको नमुना जिल्लाका रुपमा स्थापित गर्छु ।’
‘यस क्षेत्रमा ४० वर्षदेखि निरन्तर जनताको सेवामा समर्पित छु । मतदाताले हामीप्रतिको विश्वास डगमगाउन दिनुभएको छैन । जनताले हामीलाई छोड्नुभएको छैन । गत निर्वाचनमा गठबन्धनले गर्दा पराजित भएको हुँ । विभिन्न दलले गठबन्धन गर्दा पनि एमाले झिनो मतले पराजित भएको थिए’, उनी थप भन्छन्, ‘जनताको माया, आस्था एमालेप्रतिको घटेको छैन । तिलक अर्थात् एमालेलाई मत हाल्नेबारे कुरा गर्दा नेपालीको बलिदानीपूर्ण संघर्षबाट प्राप्त २०७२ को संविधान बचाउनका लागि हो ।’
त्यसैगरी नयाँ वैकल्पिक पार्टीबारे महतोले नयाँहरूले प्रचारमात्रै गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘यो देशमा ध्वंश मच्चाउनेहरूले जवाफ दिन सक्ने स्थिति छैन । गणतन्त्र र संविधान बचाउने एमाले हो, जनताको अधिकार सुनिश्चित गर्ने पनि एमाले हो । नयाँको प्रचार बढी छ । हामीले चुनाव जितेपछि अर्थात् सरकार बनाएपछि, ऐन संशोधन गर्छौँ। र, बाँकी रहेका ठाउँमा लालापुर्जा वितरण गर्छौँ ।’
‘जग्गाको पूर्जा केही वितरण गरिसक्यौँ । जहाँ ऐन बनाउनुपर्ने थियो । हामी सरकारमा हुँदा अध्यादेश बनायौँ । तर राष्ट्रिय सभाले पास गर्न सकेन । मध्यवर्ती क्षेत्रका बासिन्दा छन् । बनजंलगलको नजिक छन् । पुरानो ठाउँमा बसेका छन् । वनभित्र रुख नभए पनि नक्सामा वन छ । त्यस्ता ठाउँहरूमा ऐन संशोधन गरेर मात्रै दिन सजिलो हुन्छ’, महतोले भने ।
‘रास्वपा तेस्रो हुन्छ’

कांग्रेस उम्मेदवार ओम घर्तीमगरले आफ्नो क्षेत्रमा रास्वपा तेस्रो स्थानमा आउने बताएका छन् । खबरहबसँगको कुराकानीमा उनले भने, ‘म अहिले घरदैलो कार्यक्रममै छु । मतदाताको धारणा बुझ्दैछु । कांग्रेस केन्द्रदेखि नै परिवर्तित भएर आएको छ । यसले आमजनतामा आशा छर्ने काम गरेको छ । यो कांग्रेस नयाँ कांग्रेस हो । अब पुस्तान्तरणसहित आएको हाम्रो पार्टीले देशको नेतृत्व लिन सक्षम छ ।’
‘मेरो प्रतिस्पर्धा भनेको एमालेसँग मात्रै हो । यस क्षेत्रमा लामो समयदेखि कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुँदै आएको छ । नयाँ अर्थात्, रास्वपासँग प्रतिस्पर्धा हुँदैन । त्यसले हरेक पार्टीबाट केही मत काट्ने मात्रै हो । रास्वपा तेस्रो दल बन्छ’, उनी थप्छन्, ‘विद्यार्थीदेखि राजनीति गर्दै आएको हो । यस क्षेत्रका समस्यासँग जनाकार छु । स्थानीय विकासको लागि मेरो उम्मेदवारी हो । यसका साथै, राष्ट्रिय नीति कार्यान्वयनको लागि सक्षम व्यक्ति हुँ ।’
त्यसैगरी उनले नवलपुरका कांग्रेसका मतदाता राष्ट्रिय राजनीतिमाभन्दा स्थानीय तहको आफ्ना समस्याबारे चिन्तित रहेको बताए । भन्छन्, ‘उनीहरूलाई यहीको भुइँ समस्या बुझेको नेताको खाँचो छ । त्यसकारण पनि दल फेर्ने मनस्थिति देखेको छैन । सिचाइँका लागि कुलो, खानेपानी, स्वास्थ्य र शिक्षा सर्वशुलभ होस् भन्ने जनताको माग छ ।’
‘पुरानाले सुकुम्बासीलाई दिएको आश्वासन पूरा गर्छु’

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष खनालले पुराना दलहरूले दिएको आश्वास पूरा गर्न आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘हामी जन्मेदेखि यहाँका सुकुम्बासी जनतालाई लालपूर्जाको लोभ देखाएर मत मागेका छन् । तर चुनाव जितेर गएपछि लालपूर्जा त परै जाओस् नेता फर्केर बस्ती छिरेका छैनन् । पुराना दलहरूले दिएको आश्वासन पूरा गर्छु ।’
उनले यस निर्वाचन क्षेत्रमा लामो समयदेखिको भूमिसम्बन्धी समस्या ऐन बनाएर समाधान गर्ने बताएका छन्।
‘यस क्षेत्रको लामो समयदेखिको भूमिसम्बन्धी समस्या ऐन बनाएरै समाधान गर्ने प्रतिबद्धता गर्छु’, खनाल भन्छन्, ‘अधिकांश ठाउँमा बाटाघाटो छ, तर पहाडी भेगका कृषकलाई बजारसँग जोड्न सकेको छैन । यहाँ फलाम खानी छ । त्यसबाट जनताले कसरी अत्यधिक लाभ लिन सक्छन् भन्नेमा ध्यानाकर्षण छैन । ती सबै काम उचित रुपमा गर्न म योग्य हुँ ।’
नवलपुरमा अत्यधिक सम्भावना हुँदाँहुँदै पनि पुराना दलका नेताहरूले काम गर्न नसकेको उनले टिप्पणी गरे । ‘म उमेरका हिसाबले सानो भए पनि कानुन बुझेको छु। सांसद्को सचिवालयमा बसेर काम गरेको अनुभव भएकाले कानुन निमार्ण प्रक्रिया पनि थाहा छ’, उनले भने ।













प्रतिक्रिया