चन्द्र उडानपछि फर्किँदै आर्टेमिस टोली « Khabarhub

चन्द्र उडानपछि फर्किँदै आर्टेमिस टोली


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

ह्युस्टन– इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यहरूको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकांक्षी उडान सम्पन्न गर्दै पृथ्वीतर्फ फर्किने यात्रा सुरु गरेको छ ।

करिब सात घण्टासम्म अन्तरिक्षयानको झ्यालमा आँखा गाडेर बसेका चार सदस्यीय टोलीले मानव इतिहासमै फरक र अभूतपूर्व खगोलीय अनुभव सङ्कलन गरेका छन् ।

चन्द्रमाको कम चिनिएका क्रेटरहरूदेखि सूर्य ग्रहणसम्मका दृश्य अवलोकन गरेका अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षबाट देखिएका दृश्यलाई शब्दमा व्यक्त गर्नै कठिन भएको बताएका छन् । अन्तरिक्ष यात्री भिक्टर ग्लोभरले आफूहरूले देखेका दृश्य मानव कल्पनाभन्दा पर रहेको उल्लेख गर्दै त्यसलाई ‘अविश्वसनीय’ अनुभवका रूपमा वर्णन गरे ।

उडानका क्रममा टोलीले चन्द्र सतहका सूक्ष्म संरचनाहरूलाई नजिकबाट नियालेका थिए भने चन्द्रमाले सूर्यलाई ढाक्दा देखिने सूर्य ग्रहणको दृश्य पनि प्रत्यक्ष देखेका थिए । 

त्यस्तै, चन्द्र सतहमा देखिएका उज्याला चमकहरू उल्का प्रहारका सङ्केत भएको उनीहरूले बताएका छन् । आर्टेमिस द्वितीयका प्रमुख वैज्ञानिक केल्सी यङले यस अभियानबाट प्राप्त वैज्ञानिक जानकारी अत्यन्तै मूल्यवान् रहेको बताउँदै अन्तरिक्ष यात्रीहरूको योगदानको प्रशंसा गरे ।

ऐतिहासिक दूरी पार गर्दै टोलीले सन् १९७० को अपोलो १३ अभियानले कायम गरेको कीर्तिमानसमेत तोडेको छ । उनीहरू पृथ्वीबाट करिब दुई लाख ५२ हजार ७६० माइल (चार लाख छ हजार ७७८ किलोमिटर) टाढा पुगेका थिए, जुन अघिल्लो रेकर्डभन्दा चार हजार १०५ माइल बढी हो । अन्तरिक्ष यात्री जेरेमी ह्यानसेनले यो उपलब्धिले भावी पुस्तालाई अझ अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

यात्राका क्रममा उनीहरूले करिब ४० मिनेटसम्म पृथ्वीसँग सम्पर्क गुमाउनुपरेको थियो, जुन अन्तरिक्षयान चन्द्रमाको पछाडि पुग्दा स्वाभाविक रूपमा हुने ‘ब्ल्याकआउट’ हो । यो क्षण ५० वर्षभन्दा बढीपछि पहिलोपटक मानवले पृथ्वीसँग सम्पर्कविहीन भएको घटना बनेको छ । पुनः सम्पर्क स्थापित भएपछि अन्तरिक्ष यात्री क्रिस्टिना कोचले पृथ्वीको आवाज फेरि सुन्न पाउँदा निकै सन्तोष मिलेको बताइन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूसँग फोनमार्फत संवाद गर्दै उनीहरूलाई ‘आधुनिक समयका अग्रगामी’ भन्दै प्रशंसा गरे । उनले यस्तो साहसिक अभियानले विश्वलाई प्रेरित गरेको उल्लेख गर्दै अन्तरिक्ष अन्वेषणमा अमेरिका अग्रपङ्क्तिमा रहने धारणा व्यक्त गरे । संवादका क्रममा केही समय सङ्केत अवरोधसमेत देखिएको थियो, जसलाई उनले दूरीको कारण भएको टिप्पणी गरे  ।

ओरियन क्याप्सुलमार्फत फर्किँदै गरेको टोली अब स्वतः पृथ्वी फर्किने बाटो (फ्री–रिटर्न प्रक्षेपवक्र) मार्गमा पृथ्वी आइपुग्न करिब चार दिन लाग्नेछ । रिड वाइसम्यानको नेतृत्वमा रहेको यस मिसनमा विविध ऐतिहासिक उपलब्धि पनि समावेश छन् । ग्लोभर चन्द्रमाको वरिपरि पुग्ने पहिलो अश्वेत अन्तरिक्ष यात्री बनेका छन् भने कोच पहिलो महिला र ह्यानसेन पहिलो गैर–अमेरिकीका रूपमा इतिहासमा दर्ज हुने तयारीमा छन् ।

मिसनका क्रममा टोलीले दुई नयाँ चन्द्र क्रेटरको नाम प्रस्ताव गर्ने निर्णय गर्दा एउटा भावनात्मक क्षण पनि देखा पर्‍यो । पहिलोलाई अन्तरिक्षयानको उपनाम ‘इन्टिग्रिटी’ बाट नामकरण गर्न प्रस्ताव गरिएको छ भने दोस्रो ‘क्यारोल’ नाम रिड वाइसम्यानकी स्वर्गीय पत्नीको सम्झनामा राख्न सुझाव दिइएको छ, जसको क्यान्सरका कारण निधन भएको थियो । उक्त क्षणमा टोली भावुक बनेको थियो र ह्युस्टनस्थित मिसन कन्ट्रोलले पनि मौन धारण गरेको थियो ।

नासाका अनुसार यी नामहरू औपचारिक स्वीकृतिका लागि अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनसमक्ष पेश गरिनेछन्, जुन खगोलीय संरचनाहरूको नामकरण गर्ने आधिकारिक निकाय हो । रासस

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १२ : १२ बजे

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी

फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले