प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ? « Khabarhub

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक तथा मिडिया विशेषज्ञ शुन झान नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी सदस्यका रुपमा नेपाल आएकी हुन् ।

मिडिया, अन्तर्राष्ट्रिय सञ्चार र अन्तर–सांस्कृतिक अध्ययनमा दख्खल राख्ने झानले ‘चाइना न्युज अवार्ड’लगायतका प्रतिष्ठित मिडिया सम्मानहरूमा निर्णायकको जिम्मेवारी निर्वाह गरेकी छन् ।

झान मिडिया इकोलोजी र भिजुअल स्टोरीटेलिङमा आफ्नो विश्लेषणात्मक दृष्टिकोणका लागि चिनिन्छिन् ।

निफमा अन्तर्गतको सिजाङ पानारोमा पाँच फिल्म प्रदर्शन भएका थिए । चीनमा फिल्मको बजार, झानका अनुभव र निफमा सहभागिताबारे केन्द्रित रहेर खबरहबका लागि संगम ढकालले गरेको कुराकानीको संक्षिप्त अंश :

फिल्म निर्माणमा तपाईंको यात्रा कस्तो भइरहेको छ ?

साँच्चै भन्नुपर्दा कठिन नै छ । हालका वर्षहरूमा मैले अन्तर–सांस्कृतिक सञ्चारसम्बन्धी धेरै अनुसन्धान गरेको छु । त्यसैका आधारमा हामीले हाम्रो अनुसन्धान क्षेत्र विस्तार गरेका छौँ ।

हामी भर्चुअल सञ्चार, संगठनात्मक सञ्चार र सामाजिक सञ्जाल सञ्चारमा पनि काम गरिरहेका छौँ । मानिसहरूले अनलाइनमा कसरी सूचना पोस्ट गर्छन् भन्ने विषय पनि हाम्रो अध्ययनको हिस्सा हो ।

डकुमेन्ट्री फिल्मका लागि यस्ता अध्ययनहरू निकै महत्वपूर्ण हुन्छन् । डकुमेन्ट्री भनेको इतिहासलाई सुरक्षित राख्ने माध्यम जस्तै हो। पछिल्लो पुस्ताले आज हामीले के भोगिरहेका छौँ भन्ने कुरा बुझ्न पाउँछन्।

मानव इतिहास शब्द, कलम र क्यामेराबाट लेखिन्छ- त्यसैले यो अत्यन्त महत्वपूर्ण छ ।

हालका वर्षहरूमा मैले डकुमेन्ट्री फिल्म निर्माणसम्बन्धी विभिन्न कार्यक्रममा सहभागिता जनाएको छु ।

सिजाङ पानोरामाका लागि नेपाल किन रोज्नुभयो ?

सिजाङ अत्यन्त सुन्दर छ र प्राकृतिक स्रोतहरूले पनि धनी छ । उच्च हिमाली भू-भाग भएकाले यो अझ सुन्दर छ । सिजाङको छिमेकी नेपाल हो । त्यसले पनि यो प्राथमिकतामा परेको हो ।

यो कार्यक्रम सीमापार सञ्चारको उदाहरण हो । इतिहासदेखि नै नेपाल र सिजाङबीच धार्मिक, सांस्कृतिक र भाषिक सम्बन्ध रहँदै आएको छ।

हामी नेपाललाई छिमेकी मात्रै होइन, पारिवारिक सम्बन्ध भएको देश मान्छौँ । सबै देशहरू साना-ठूला वा विकसित-विकासशील भए पनि समान हुन्छन् भन्ने हाम्रो विश्वास हो । यही कारण हामीले निफ रोज्यौँ ।

निफमा कस्ता चिनियाँ फिल्महरू देखाइए ?

यसपटक हामीले डकुमेन्ट्री र फिक्सन दुवै प्रकारका फिल्महरू ल्याएका थियौं ।

विशेषगरी इतिहाससँग सम्बन्धित ‘गेसार राजा’को कथा समेटिएका फिल्महरू छन् । यसका साथै विभिन्न डकुमेन्ट्री फिल्महरू पनि समावेश छन् । चीन र हाम्रो संस्कृति बुझ्न सहयोग पुग्ने फिल्म नै प्रदर्शनमा आएका छन् ।

चिनियाँ फिल्मको बजारबारे भन्नुस् न । यसको हलिउड फिल्मबीच प्रतिस्पर्धा कस्तो छ ?

दुवै बजार फरक छन् । अमेरिकी बजार धेरै ठूलो छ र दर्शकको संख्या पनि ठूलो छ ।

चीनमा पनि धेरै सिनेमा हल छन्, तर अहिले अनलाइन मिडिया अत्यन्त लोकप्रिय भएको छ । मानिसहरू फिल्म र सिरिज मोबाइलमै हेर्ने गर्छन्।

यसले फिल्म उद्योगको संरचना नै परिवर्तन गरेको छ । पछिल्ला वर्षहरूमा बजार वृद्धि पनि खासै भएको छैन । किनभने अनलाइन प्लेटफर्मका प्रयोगकर्ता बढिरहेका छन् ।

विभिन्न देशका महोत्सवमा जान तपाईंहरूलाई कसले लगानी गर्छ ?

यो कार्यक्रम सरकारबाट प्रत्यक्ष लगानी भएको होइन ।

हाम्रो विश्वविद्यालयसँग आफ्नै अनुसन्धान कोष र उच्च–प्रविधि कम्पनीहरू छन् । ती कम्पनीहरूले स्टक मार्केटबाट आम्दानी गर्छन् र त्यही स्रोतबाट कार्यक्रम सञ्चालन हुन्छ ।

चीन प्रविधिमा निकै अगाडि भए पनि चिनियाँ फिल्महरू हलिउडजस्तै विश्वभर फैलिन नसक्नुको कारण के होला ? प्राविधिक कारण बाधक नभएपछि त विश्वभर फैलिन सहज हुनुपर्ने नि ?

चिनियाँ फिल्म बजारले प्रविधिको क्षेत्रमा ठूलो फड्को मारिसकेको छ । जस्तै- एनिमेटेड फिल्म ‘ने झा’ले विश्व बजारमा चर्चा पाएको थियो । तर, हलिउडको बजार र हलिउड फिल्मको दर्शक धेरै छन् । बजारमा पकड राम्रो छ ।

अर्कोतर्फ, चीनमा अनलाइन मिडिया र स्मार्टफोनको प्रयोग यति धेरै छ कि मानिसहरू घरमै बसेर ओटीटीमा फिल्म हेर्न रुचाउँछन् । यसले गर्दा हलको बजार केही हदसम्म प्रभावित भएको छ ।

चिनियाँ सरकार सेन्सरमा कतिको उदार छ ?

उदार छ । सेन्सरसिपको कुरा गर्दा, हामी जातीय वा धार्मिक द्वन्द्व बढाउने संवेदनशील विषयहरूमा सतर्क रहन्छौँ, किनकि हामी समानता र स्थिरता चाहन्छौँ । केही मानिसहरू अझै पनि विगतकै धारणामा बाँचिरहेका हुन सक्छन् ।

तर, हामी चाहन्छौँ कि मानिसहरू आफैँ सिजाङ भ्रमण गरुन्, त्यहाँको विकास र वास्तविक जीवनस्तर देखुन् । हामी कसैको विचार नियन्त्रण गर्न सक्दैनौँ, तर फिल्मको माध्यमबाट सत्य देखाउने प्रयास जारी राख्छौँ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ३ : २१ बजे

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम – इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी

कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय

होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्रबासमा बस्न इच्छुक

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानका अव्यवस्थित बसोबासबाट स्थानान्तरण गरी

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने