उपन्यासको नाम ‘तोरकीन’ले नै मेरो पुस्तकप्रति आकर्षण बढेको थियो । त्योभन्दा ठूलो कुरा लेखकको नाम क्षितिज समर्पणले पनि मलाई त्यसप्रति तानेको थियो । तसर्थ, उपन्यास बजारमा आएको केही समयपछि गत दशैंमा नै मेरो हातमा परेको भए पनि समयको व्यस्तताका कारण त्यसलाई अध्ययन गर्न सकेको थिएन । यद्यपि स्नातक तह सातौं सत्रको परीक्षापश्चात् त्यो जिज्ञासालाई मेटाउने अवसर प्राप्त भयो ।
क्षितिज समर्पण कर्णाली प्रदेशको जाजरकोट जिल्लामा जन्मिएका हुन् । उनी नेपाली साहित्यकार, गीतकार र पत्रकार हुन् । प्रारम्भमा विशेषगरी गीत, गजलमा देखिएता पनि तोरकीन उपन्यासमार्फत आफूलाई आख्यानकारका रूपममा उभ्याएका छन् । उनका ‘आगोका फुलहरू’ (२०६७) एकल गजल संग्रह र ‘कैफियत’ (२०७०) संयुक्त गजल सङ्गह पनि प्रकाशित छन् । एकदशक लामो समयदेखि पत्रकारितामा सक्रिय समर्पणले रेडियो र सडक नाटक हुँदै म्युजिक भिडियोमा पनि अभिनय गरिसकेका छन् ।
बुकहिल पब्लिकेसन प्रालि काठमाडौंबाट २०८२ भदौमा प्रकाशनमा आएको ‘तोरकीन’ हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो भेगमा रहेको चराङ गाउँको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक अवस्थितिलाई मूल परिवेश बनाएर लेखिएको एक आञ्चलिक उपन्यास हो ।
सामान्य परिवारमा जन्मिएको युवाको जीवनमा आउने आरोह अवरोह तथा सपना र सम्बन्धहरूलाई उपन्यासमार्फत प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । माथिल्लो मुस्ताङको जनजीवन, संस्कृति, परम्परा र मानव सभ्यताको इतिहासमा आधारित उपन्यास हो ‘तोरकीन’ । स्थानीय भाषाको प्रयोगले उपन्यासलाई थप सशक्त र जीवन्त बनाउन मद्दत गरेको देखिन्छ । मैले उपन्यासको समीक्षा औपन्यासिक तत्वको आधारमा गर्ने प्रयत्न गरेको छु ।
कथावस्तु
‘तोरकीन’ उपन्यासको कथावस्तु माथिल्लो मुस्ताङको चराङ गाउँको सेरोफेरोमा केन्द्रित छ । उपन्यासमा चराङ, कोप्तार र फेरि चराङ गरी तीन उपशीर्षकमा कथावस्तु प्रस्तुत गरिएको छ । त्यसैका आधारमा तोरकीन उपन्यासको कथावस्तुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
चराङ
उपन्यासको प्रारम्भ नामग्याल र छेवाङको स्थानीय भाषाबाट गरिएको संवादबाट भएको छ । जसले प्रारम्भमा नै पाठकलाई चाख उत्पन्न गराउन सफल भएको छ । चराङमा बदलिरहने मौसमको खुलेर प्रसंशासमेत गरिएको छ । नामग्याल जिम्बु व्यापारका लागि पोखरा गएको समयमा यता छुक्कीलाई प्रसव पीडाले सताउन थाल्छ । बडो पीडाका बाबजुद छोरालाई जन्म दिन्छे ।
छोरा जन्मिसकेपछि नामग्याल घर आइपुग्छ । ऊ आएपछि संस्कारगत परम्पराअनुसार पाँच दिनमा लामालाई बोलाई छोराको न्वारन र नामाकरण गरिन्छ । छोराको नाम छेवाङ सम्डुङ गुरुङ राखिन्छ । जसमा माथिल्लो मुस्ताङको जन्म संस्कारलाई रोचक रूपमा चर्चा गरिएको छ ।
नामग्याल आफू पढ्न नपाए पनि छोरालाई धेरै पढाउने अभिलाषा हुँदाहुँदै पनि आर्थिक स्थिति र विद्यालयको अभावका कारण ६ कक्षासम्म मात्र पढाउँछ । नामग्यालले आफ्नो प्रेम प्रसङ्गलाई स्मृतिमार्फत रोचक शैलीमा प्रस्तुत गरेको छ ।
उपल्लो मुस्ताङमा रहेको विवाह संस्कारको अनौठो परम्परा जेठो दाजुले विवाह गरेकी केटीलाई अन्य भाइहरूले समेत श्रीमतीका रूपमा स्वीकार्न सक्ने चलन जसलाई ‘भाक्टा बस्ने’ भनिन्छ । यस प्रसङ्गले उपन्यास पढ्न थप उत्सुकता बढाइरहेको थियो ।
यही क्रममा गाउँमा मुखिया चुन्ने चलन र मुखियाले गर्ने न्याय निसापलाई पनि चर्चा गरिएको छ । चराङको मुख्य आर्थिक गतिविधि भोटबाट नुन ल्याएर आउने र बेनी हुँदै पोखरासम्म बेच्न जाने, च्याङ्ग्रा र घोडापालन, यार्सा टिप्नेजस्ता कुरालाई पनि देखाइएको छ ।
छेवाङको बाल्यावस्थादेखिको साथी पेम्बा र छेवाङबीचको आत्मीयता र मित्रता उत्तरार्धसम्म पनि कायम रहेको छ । लोमान्थाङमा हरेक वर्ष वैशाख र जेठमा मनाइने तिजी पर्वको ऐतिहासिक प्रसङ्गलाई चर्चा गरिएको छ । त्यही तिजी पर्वमा गएको बेला छेवाङको कुन्साङ नामकी युवतीसँग चिनजान हुन्छ र फाग्नीको मेलामा भेट्ने वाचामुताबिक फाग्नीको मेलामा भेटेर विवाह गर्ने पक्कापक्की गर्दछन् ।
सहायक रूपमा पेम्बा र कर्चुङको प्रेम प्रसङ्गलाई पनि प्रस्तुत गरिएको छ । चराङमा हुने विवाह परम्परालाई पनि रोचकहरूमा प्रस्तुत गरिएको छ । विवाहको क्रममा ससुरालीमा बेहुला नगई जन्ती मात्रै जाने, कान्छा भाइहरू भाग्टामा बस्ने र बेहुलीले श्रीमान स्वीकार्नु पर्ने, माइती पक्षका पाहुनालाई गर्ने सम्मानले “अतिथि देवो भवः” को भावलाई पूर्णता दिएको देखिन्छ ।
छेवाङ जेठो छोरा भएकाले घरपरिवार सम्हाल्नु उसको जिम्मेवारी थियो । तसर्थ, आर्थिक जोहोका लागि भारतको बेनियाबाग, सारनाथ, बनारसजस्ता ठाउँमा परिवारसहित गएर कपडाको व्यापारसमेत गर्छ । उ सारनाथमा रहेको बुद्धको महिमा देखेर लालायित समेत हुन्छ । त्यसपछि धोर्जेदेन गुम्बाको पूजाका लागि चराङ फर्किन्छ । जुन पूजा १० दिनसम्म चल्छ ।
यसक्रममा चराङ दरबारको ऐतिहासिक प्रसङ्गलाई पनि रोचक रूपमा प्रस्तुत गरिएको छ । मुस्ताङको पहिलो राजा आमेपालले आफ्नो राज्यका विभिन्न ठाउँमा दरबार बनाउने क्रममा तिब्बतको ङोरका गुरु रिम्पोचे ङोर्छेन कुङ्गा साङ्बोलाई मुस्ताङ बोलाएर धोर्जेदेन गुम्बा पनि बनाए ।
यस्तै दरबार अन्यन्त्र नबनोस् भन्ने अभिलाषाले मिस्त्रीको हात काटेर हातलाई चराङ दरबारमा जस्ताको त्यस्तै राखिएको कुरालाई समेत उल्लेख गरिएको छ । यस ऐतिहासिक प्रसङ्गलाई मैले कहीँ कतै सामान्य रूपमा सुनेको मात्र थिए तर यसले थप स्पष्ट बनाइदियो ।
यता पेम्बाको पनि विवाह हुन्छ । पेम्बा र छेवाङको मित्रता थप मजबुत बन्दै जान्छ । उनीहरू मिलेर व्यापारका लागि बेनी, जोमसोम, पोखरासम्म जाने, गाउँमा नै इट्टा बनाउने व्यवसाय सञ्चालनसम्मका आर्थिक जोहोका उपायहरू खोज्दछन् । यही क्रममा छेवाङको जेठो छोरो जन्मिन्छ तर दुर्भाग्यवश दुई वर्ष नपुग्दै मृत्यु हुन्छ ।
यस अप्रत्यासित घटनाबाट पूरै परिवार शोकमा डुब्छन् । गाउँमा नै आर्थिक जोहोका विभिन्न गतिविधिहरू गर्दा पनि घरपरिवार चल्न नसक्दा उनीहरू विकल्पको रूपमा विदेशतर्फ मोहित हुन्छन् । जसले वर्तमान नेपाली समाजको विदेश पलायनको यथार्थलाई चित्रित गरेको देखिन्छ ।
कोम्तार
गाउँमा जति सङ्घर्ष गर्दा पनि घरपरिवार चलाउन गाह्रो भएपछि अन्ततः छेवाङ विदेशिन बाध्य हुन्छ । छेवाङभन्दा पहिले पेम्बा पनि मलेसिया पुगिसकेको थियो । काठमाडौं पुगेको डेढ महिनापछि नेपालको भूमि र आकाश दुबै छाडेर छेवाङ सात समुन्द्रपारिको देश मलेसिया पुग्छ ।
छेवाङलाई धन कमाउने सपनाले मलेसियाको कोम्तार पुर्याएको थियो तर कोम्तारमा पुगेपछि सपनाको बाटो साँघुरो बन्दै जान्छ । बिरानो देश, बिरानो परिवेश, बिराना मान्छे । न भाषा बुझ्यो न कामको टुङ्गो भयो । विदेशमा सोचेजस्तो नभएपछि केही समयपछि पुनः नेपाल फर्किने निचोडमा पुग्छ । जसले लाखौं नेपाली युवाहरूको वास्तविकतालाई चित्रित गरेको छ ।
फेरि चराङ
छेवाङ चराङ आएको केही समयपछि नामग्याल बिरामी पर्छ । उसको परम्परागत प्राकृतिक उपचार विधिबारे थाहा पाएको व्यक्ति आम्चीद्वारा उपचार गरिन्छ । त्यसको केही प्रभाव नपरेपछि नामग्यालले छोरा छेवाङको काखमा अन्तिम सास फेर्छ । नामग्यालले छोरा छेवाङलाई जीवनको अन्तिम क्षणमा दिएको उपदेशलाई उसले पालना गर्ने प्रण गर्छ ।
लामाले जोखना हेरी नामग्यालको मृत्यु संस्कार गर्न थालिन्छ । माथिल्लो मुस्ताङमा रहेको परम्परागत अनौठो मृत्यु संस्कारलाई चर्चा गरिएको छ । मृत्युपछि लामाले जोखाना हेरेर लास जलाउने, गाड्ने वा काटेर गिद्धलाई खुवाउने भनी निर्धारण गरिन्छ । जसमध्ये काटेर गिद्धलाई खुवाउनुलाई उत्तम मानिन्छ ।
नामग्यालको पनि उत्तम खालको मृत्यु संस्कार गरिन्छ । ४९ औं दिनमा लामाद्वारा विधिवत पूजा गरि चोख्याउने काम सम्पन्न हुन्छ । त्यस बेलासम्म परिवारका सदस्यहरूले कपडा पनि फेर्न नपाउने र नुहाउन पनि नपाउने चलन रहेछ ।
नामग्यालको देहावसानपछि घरव्यवहार सञ्चालनको सम्पूर्ण जिम्मेवारी छेवाङको काखमा आउँछ । त्यस क्रममा छेवाङ र पेम्बालाई एकअर्काका परिपूरकका रूपमा देखाउदै मित्रताको उच्चतम तहलाई चित्रण गरिएको छ ।
यस खण्डमा बेरोजगारीको समस्या, नक्कली शरणार्थी बनेर अमेरिका पलायन हुने, सपना– गाउँहरू उजाड र रित्तिँदै जाने, विदेश पलायनको कहालीलाग्दो चित्रणले सिङ्गो देशको ऐना प्रस्तुत गरेको ।
उसकी श्रीमती कुन्साङ पनि नक्कली विवाह दर्ता बनाएर सहमतिमा छिमेकी रिन्जिनसँग अमेरिका जान्छे । केही समयपछि छोरो केसाङ पनि अमेरिका पलायन हुन्छ । यता आमा छुक्कीको समेत मृत्यु हुन्छ ।
छेवाङ र पेम्बाको बाल्यावस्थादेखिको आत्मीयता र मित्रतालाई उच्च स्थानमा राख्न सकिन्छ । उनीहरूको मित्रता जीवनको उत्तरार्धसम्म पनि कायम रहन्छ । छेवाङ पेम्बाको ट्याक्टर चालक हुँदै काकासँग मिलेर जिप किनेर चलाउन थाल्छ ।
एकदिन काठमाडौंबाट पोखरा आउने क्रममा कसैले पठाएको स्याउको पेटीमा विदेशी डलर भेटिएपछि ऊ प्रहरीको हिरासतमा पुग्छ । धरौटी समेत तिर्न नसकेपछि ऊ केही समय जेलमा समेत बस्छ । पेम्बाले उसलाई थुनामुक्त गर्न धेरै प्रयास गर्छ । धरौटीको रकमका लागि गाउँले सबैले सहयोग उठाउँ छन् र ऊ थुनामुक्त हुन्छ ।
उता अमेरिकामा रहेकी श्रीमती कुसाङले छेवाङलाई चराङ छाडेर अमेरिका आउन आग्रह गरेता पनि छेवाङले जन्मथलो छाडेर कतै जान नसक्ने बताएपछि उनीहरू एकअर्काबाट सदाका लागि अलग हुन्छन् । पेम्बा पनि सहपरिवार काठमाडौंमा बस्न थाल्छ । यतिबेलासम्म पूरै चराङ खाली भइसकेको हुम्छ ।
अब छेवाङ वृद्ध र कमजोरसमेत हुँदै जान्छ । रित्तिँदै गएका बस्ती, पग्लिदै गएका हिमाल, चिसिदै गएका सम्बन्ध र हराउदै गएका संस्कार र परम्पराप्रति छेवाङ विक्षिप्त बन्न पुग्छ । छेवाङको मनलाई दोसाँधले घेरिबन्दी गर्छ । ऊ चराङ दरबार जस्तै एक्लो हुन्छ । ‘म अब कहाँ जाऊँ, घर जाऊँ कि घाट ?’ यही परिबन्दकाबीच उपन्यासको कथावस्तु अन्त्य हुन्छ ।
पात्र चरित्र
‘तोरकीन’ उपन्यासमा बहुल पात्रको प्रयोग गरिएको छ । उपन्यासमा नामग्याल, छेवाङ र फुन्साङ गरि तीन पुस्ताका पात्रको जीवन भोगाइ र सङ्घर्षलाई चित्रण गरिएको छ । उपन्यासमा प्रमुख, सहायक र गौण गरि तीन प्रकारका पात्रहरूको प्रयोग गरिएको पाइन्छ । उपन्यासमा नामग्याल, छेवाङ, फुन्साङ, पेम्बा, कुन्साङ, छुक्की आदि पात्रहरू आएका छन् ।
उपन्यासको प्रमुख पात्र तथा नायकका रूपमा छेवाङ गुरुङ देखापरेको छ । उसको जीवनमा आएका आरोह अवरोह, जीवन सङ्घर्षका अनेकौं पाटा, सपना र सम्बन्धहरूलाई केन्द्रमा राखेर उपन्यासको कथावस्तु तयार पारिएको छ ।
उपन्यासमा सामान्य परिवारमा जन्मिएको छेवाङको पारिवारिक पृष्ठभूमि, बाल्यावस्था, जीवन सङ्घर्ष, पारिवारिक बिछोड जस्ता विविध आयामहरू समावेश गरिएका छन् । छेवाङ आफ्नो जन्मभूमि चराङ र त्यहाँको परम्परागत संस्कार र चालचलनलाई बिर्सन नसक्ने गतिहीन पात्रका रूपमा देखापरेको छ ।
जीवनको उत्तरार्धमा पुग्दा बाआमा स्वर्गारहण भए, श्रीमती र छोरा अमेरिका पलायन भए, पेम्बा जस्तो साथी सहर पस्यो, गाउँ रित्तो भयो अनि छेवाङ एक्लो भयो तथापि उसले आफ्नोपनलाई बिर्सन सकेन । आफ्नै माटोमा अन्तिम सास फेर्ने अठोट राख्यो । जसबाट “जननी जन्मभूमिश्च स्वर्गादपि” को भाव झल्किन्छ ।
परिवेश
उपन्यासले उपल्लो मुस्ताङमा रहेको चराङगाउँलाई मूल परिवेश बनाएको छ । माथिल्लो मुस्ताङमा रहेको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक अवस्थितिलाई परिवेश बनाएको ‘तोरकीन’ आञ्चलिक उपन्यास मान्न सकिन्छ । त्यसैगरी सहायक परिवेशका रूपमा बेनी, जोमसोम, ल्होमान्थाङ, पोखरा, काठमाडौंलाई लिन सकिन्छ ।
छेवाङ र पेम्बा वैदेशिक रोजगारीका लागि सात समुन्द्रपारिको देश मलेसिया पुगेकाले मलेसिया साथै छेवाङका श्रीमती, छोरा र भाइबहिनीहरू अमेरिका पलायन भएकाले अमेरिकासम्मको भूभागलाई बाह्य परिवेशकारूपमा लिन सकिन्छ ।
आन्तरिक परिवेशका रूपमा माथिल्लो मुस्ताङको सामाजिक तथा सांस्कृतिक परम्परा, छेवाङ र पेम्बाका माध्यमबाट मित्रता र साथित्वको उच्च तहलाई लिन सकिन्छ । यसैगरी पारिवारिक सम्बन्ध र बेमेललाई पनि आन्तरिक परिवेशका रूपमा लिन सकिन्छ । समयका हिसाबले उपन्यासमा नामग्याल, छेवाङ र फुन्साङका माध्यमबाट तीन पुस्तालाई समावेश गरेको पाउन सकिन्छ ।
भाषाशैली
‘तोरकीन’ उपन्यासको भाषाशैली कालीगण्डकी जस्तै सरल रूपमा बगेको देखिन्छ । विशेषतः माथिल्लो मुस्ताङमा प्रचलित स्थानीय भाषाको उचित प्रयोगले उपन्यासलाई अझ आकर्षक र जीवन्त बनाएको छ । उपन्यासमा पात्रानुकूल भाषाशैली साथै पात्रहरूको बिचमा उचित संवादको प्रयोगले पाठकलाई स्वयम् त्यही परिवेशमा पुगेको आभास गराउन सफल भएको छ ।
बढी मात्रामा स्थानीय भाषा भएकाले सबै पाठकले बुझ्न नसक्ने भएता पनि त्यसको सरलताका लागि कठिन शब्दलाई मानक नेपालीमा अनुवाद र अन्तिममा शब्दार्थ समेत राखिएकाले उपन्यासको भाषाशैली उपयुक्त रहेको मान्न सकिन्छ ।
मूल भाव
माथिल्लो मुस्ताङमा रहेको सामाजिक, सांस्कृतिक एवम् प्राकृतिक सौन्दर्यलाई केन्द्रमा राखी लेखिएको उपन्यासको मूल उद्देश्य उपल्लो मुस्ताङमा प्रचलित परम्परागत संस्कार, सामाजिक संरचना र सांस्कृतिक पक्षका यावत् पाटाहरू जन्म, विवाह, मृत्यु संस्कार, रहनसहन, चालचलन, बसाइँसराइ, गुम्बाको सांस्कृतिक पक्षलाई प्रस्तुत गर्नु रहेको मान्न सकिन्छ । अर्कोतर्फ माथिल्लो मुस्ताङको सामान्य परिवारमा जन्मिएको युवाको जीवनमा आउने उतारचढाव, आरोह अवरोह, सपना र सम्बन्ध तथा पारिवारिक अवस्थाका विविध पक्षको प्रस्तुति दिनु पनि उद्देश्य रहेको पाउन सकिन्छ ।
‘तोरकीन’ उपन्यासले वर्तमान नेपाली समाजको जल्दोबल्दो विषय वैदेशिक पलायनलाई पनि मार्मिक रूपमा चित्रित गरेको छ । देशभित्र जति सङ्घर्ष गरेपनि सबै सम्भावनाका ढोकाहरू बन्द भएपछि विकल्पका रूपमा विदेश पलायन हुनुपर्ने बाध्यताले देशको चित्रलाई ऐनाजस्तै छर्लङ्ग पारेको छ । माथिल्लो मुस्ताङका नागरिकहरू अझै पनि राज्यको मूल प्रवाहमा आउन नसकेको प्रसङ्गलाई देखाउँदै यसबाट वर्तमान राजनीतिक व्यवस्थाको शासन प्रणालीलाई समेत प्रश्न तेर्याएको पाउन सकिन्छ ।
त्यसैगरी रित्तिँदै गएका बस्ती, टुट्दै गएका पारिवारिक सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिप्रति सचेत गराउँदै पाठकलाई मानव सभ्यताको जरामा पुर्याउने प्रयत्न गरिएको छ । वर्तमान समयका मानिसले भौतिक प्रगतिलाई मात्र प्राथमिकता दिने, आफ्नो संकार र संस्कृतिप्रति बेवास्ता गर्ने भौतिकवादी प्रवृत्तिलाई समेत चित्रण गर्नु उपन्यासको उद्देश्य मान्न सकिन्छ ।
शीर्षक सार्थकता
‘तोरकीन’को शाब्दिक अर्थ हराउनु वा लोप हुनु भन्ने हुन्छ । उपन्यासको कथावस्तु र मूल भावसँग उपन्यासको शीर्षक परिपूरक पाउन सकिन्छ । उपन्यासमा रित्तिँदै गएका बस्ती, टुट्दै गएका पारिवारिक सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिप्रति लेखक संवेदनशील भएकाले प्रस्तुत उपन्यासको शीर्षक ‘तोरकीन’ सार्थक र उपयुक्त रहेको छ । तोरकीन शीर्षकले सिङ्गो कथावस्तु र भावलाई आत्मसात गरेको पाइन्छ ।












प्रतिक्रिया