लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह « Khabarhub

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लोकतन्त्रको ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न आफूहरूले अग्रगामी मोर्चा गठन गरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै साहले पछिल्लो समय मुलुकलाई थप संकटतर्फ धकेल्ने प्रयास भइरहेको दाबी गरे। उनले देशलाई अग्रगामी निकास दिन मोर्चा गठन गरिएको बताए।

साहले नेपालमा अहिले लोकतन्त्रको सुदृढीकरण नभई लोकतन्त्रकै अधिकार र मर्म कमजोर पार्ने काम भइरहेको आरोप लगाए। उनले आफूहरू अहंकार र एकाधिकारमा आधारित राजनीति नभई सहअस्तित्व, सहकार्य र सर्वस्वीकार्य शासन व्यवस्थाको पक्षमा रहेको बताए।

‘उनीहरू अहंकारयुक्त नेपाल चाहन्छन्, तर हामी अहंकारमुक्त नेपाल बनाउन चाहन्छौं। उनीहरू एकांकी र एकाधिकारपूर्ण राजनीति रुचाउँछन्, तर हामी सहअस्तित्वमा आधारित सहकार्य चाहन्छौं,’ साहले भने, ‘हामी सर्वसत्तावाद होइन, सर्वस्वीकार्य शासन चाहन्छौं। अहिले लोकतन्त्रको सबलीकरण होइन, सर्वस्वहरण भएको छ। त्यसैले हामी वास्तविक लोकतन्त्र स्थापित गर्न चाहन्छौं।’

उनले अहिले ‘फेक फेस’ मार्फत ‘फेक शासन’ लाद्ने प्रयास भइरहेको दाबी गर्दै आफूहरू ‘रियल फेस’ मार्फत वास्तविक शासन अर्थात् असल शासनको पक्षमा रहेको बताए। साहले वर्तमान राजनीतिक संघर्षलाई राष्ट्रिय स्वाधीनता र बाह्य प्रभावबीचको संघर्षका रूपमा चित्रण गर्दै मोर्चाले अराजकता र तानाशाही प्रवृत्तिबाट देशलाई बचाउने दाबी गरे।

‘यो मोर्चाले प्रतिगमनको प्रतिकार गर्ने विश्वास दिलाउँछु,’ उनले भने।

साहले देश निर्माणको शक्तिको स्रोत जनता भए पनि छद्मभेषी र नक्कली शासकका कारण नेपाली जनता पटक–पटक ठगिँदै र लुटिँदै आएको बताए। नेपालमा भएका विभिन्न क्रान्ति तथा आन्दोलनहरू समेत ‘हाइज्याक’ भएको दाबी गर्दै उनले विगतका राजनीतिक घटनाक्रमको निर्मम समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

उनले मोर्चामा आबद्ध सबै राजनीतिक शक्तिलाई व्यापक दृष्टिकोणसहित एकताबद्ध हुन आह्वान गरे। आफ्नो पद वा पार्टीगत स्वार्थभन्दा माथि उठेर सहअस्तित्व स्वीकार गर्दै राष्ट्रिय एकताको आधार निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

‘टुटफुट र विभाजन होइन, एकता र ध्रुवीकरणको राजनीति गरिनुपर्छ। घृणा र विध्वंसको राजनीतिलाई प्रेम, सद्भाव र निर्माणको राजनीतिमा परिणत गर्नुपर्छ,’ साहले भने।

विगतमा गठबन्धनको राजनीति असफल हुनुका कारण नेतृत्वमा इमानदारिताको अभाव, वैचारिक अस्पष्टता, संकीर्णता र व्यक्तिवादी प्रवृत्ति रहेको साहले बताए। उनले एकले अर्कालाई प्रयोग गर्ने प्रवृत्ति त्यागेर एकअर्कालाई जोड्ने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा जोड दिए।

देशमा जारी संकटको अन्त्य गर्न मोर्चा गठन गरिएको दाबी गर्दै साहले सरकार परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताए।

‘आज देश छोड्ने क्रम रोकिएको छैन, सेवा लिनेको लाइन लागेकै छ। व्यापारी–व्यवसायी पलायन हुँदैछन्। किसान निराश छन्। मूल्यवृद्धि बढेको बढ्यै छ। देशको अस्तित्व नै संकटमा छ,’ उनले भने, ‘अब यो संकटको समाधान भनेको यही मोर्चा हो।’

कार्यक्रममा साहले भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको कविताको अंश ‘छोटे मन से कोई बड़ा नहीं होता, टूटे मन से कोई खड़ा नहीं होता’ समेत उद्धृत गरे। आफूहरू नियतवश नमिलेको नभई देशको परिस्थितिले एक ठाउँमा आउन बाध्य बनाएको उनको भनाइ थियो।

साहले मोर्चाको एकता कुनै पद, सत्ता साझेदारी वा भागबण्डाका लागि नभएको स्पष्ट पारे। मुख्यमन्त्री, मन्त्री, प्रधानमन्त्री वा पार्टी सभापतिको पद बाँडफाँटका लागि नभई देशको संकट समाधान र राष्ट्र निर्माणका लागि मोर्चा गठन गरिएको उनले बताए।

“यो सरकार बनाउन र गिराउनका लागि बनेको होइन। न त कुनै भागबण्डाका लागि नै हो। यो देश बनाउन पवित्र मनबाट गरिएको प्रयास हो,” उनले भने।

मोर्चाले हिमालको हित, पहाडको प्रगति र मधेशको मान बढाउने साहले दाबी गरे। उनले मोर्चा समग्र देशको हित र माया गर्ने राजनीतिक शक्तिहरूको साझा प्रयास भएको उल्लेख गर्दै आगामी दिनमा मोर्चाले चाल्ने कदमको प्रतीक्षा गर्न आग्रह गरे।

मोर्चामा आबद्ध नेताहरू लामो राजनीतिक संघर्ष र इतिहास बोकेर आएको दाबी गर्दै साहले आफूहरू कुनै लहड वा राजनीतिक लहरका कारण अचानक एक ठाउँमा नआएको बताए।

‘हामी यातनाको लामो यात्रा तय गरेका राजनीतिक यात्री हौं। झुक्याएर, लुकेर वा षड्यन्त्र गरेर यहाँसम्म आएका होइनौं। देश बदलावका लागि शंखनादसहित लडेर यहाँसम्म आएका हौं,’ उनले भने।

साहले अग्रगामी मोर्चा विगतका राजनीतिक गठबन्धनको निरन्तरता नभई ‘क्रमभंग’ भएको दाबी गरे। मोर्चा विचार, संकल्प, एजेण्डा र कार्यशैलीका हिसाबले नयाँ भएकाले यसको यात्रा लामो हुने उनको भनाइ थियो।

‘यो पुरानोको निरन्तरता होइन, यो क्रमभंग हो। यो मोर्चा होश र जोशसहितको मोर्चा हो। यसको लक्ष्य अर्गानिक छ, त्यसैले यसको आयु पनि लामो छ। मोर्चा लामो नै जान्छ,’ साहले भने।

उनले नेपाललाई ‘देवभूमि’ भन्दै सर्वकल्याणको भावना नेपाली समाजको पहिचान भएको बताए। आफूहरू समानता र न्यायका लागि लडिरहेको उल्लेख गर्दै साहले देश र जनतामाथि विभेद तथा अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ३ : ५२ बजे

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण